१५ कार्तिक २०८३, आइतबार

नयाँ पार्टी प्रवेश गर्ने नेताहरूलाई बाटो बन्द, निर्वाचनमा उम्मेदवार नबनाउने सहमति

9.8k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २९ असोज । राष्ट्रिय जनता पार्टी (राजपा) नेपाल र सङ्घीय समाजवादी फोरम (ससफो) नेपालले पार्टी फेरबदल गरेका नेतालाई प्रदेशसभा तथा प्रतिनिधिसभाको चुनावमा उम्मेदवार नबनाउने सहमति गरेका छन् ।

चुनावी तालमेलका लागि गठन गरेको कार्यदलले स्थानीय तहको चुनाव सम्पन्नपछि राजपा नेपालबाट ससफो नेपाल र ससफोबाट राजपा नेपालमा गएका नेताहरूलाई प्रदेश तथा प्रतिनिधिसभाको चुनावमा उम्मेदवार नबनाउने सहमति भएको कार्यदलका सदस्य एवं राजपा नेपालका महासचिव मनीष सुमनले जानकारी गराउनुभयो । गोरखापत्र दैनिकले समाचार छापेको छ ।

साथै अब आउने दिनमा पनि एक दलले अर्को दलका नेतालाई आ–आफ्नो पार्टीमा प्रवेश नगराउने पनि सहमति दुवै दलले गरेका छन् । एउटा दलबाट टिकट नपाएपछि अर्को दलमा गएर टिकट लिने परम्परा बढ्दै गएकाले यो समझदारी बनाइएको महासचिव सुमनले बताउनुभयो ।

यी दुई दलबीच चुनावी तालमेल गर्ने सहमति असोज २० गते भएको थियो । त्यही तालमेललाई पूर्णता दिन अध्ययनका लागि तीन–तीन जना गरी छ जनाको कार्यदल बनाइएको छ । कार्यदलले चार दिनदेखि लगातार छलफल गर्दैछ । कुन दलको जनाधार कस्तो छ, त्यसबारे कार्यदलमा छलफल भइरहेको अर्का सदस्य एवं फोरम नेपालका उपाध्यक्ष रामसहाय यादवले बताउनुभयो ।

चुनावी तालमेलका लागि स्थानीय तहको चुनाव तथा दोस्रो संविधानसभा चुनावलाई आधार मान्ने पनि सहमति भएको बताइएको छ । तेस्रो चरणमा स्थानीय तहको चुनावमा मात्र भाग लिएको राजपा नेपालले मापदण्ड बनाउनका लागि संविधानसभा चुनावलाई पनि आधार मान्न प्रस्ताव गरेको छ । राजपा नेपालले प्रदेश–२ मा मात्र भाग लिएको छ तर फोरम नेपालले त्यसअघि भएका स्थानीय तहको दुवै चरणमा भाग लिएको थियो ।

ससफो नेपालले सातवटै प्रदेशमा भएको स्थानीय तहको चुनावबाट ३२ सिट जितेको छ भने राजपा नेपालले प्रदेश–२ बाट मात्र २५ सिट ल्याएको छ । राजपा नेपाल छवटा दल मिलेर बनेका कारण २५ सिट भएको छ भने फोरम नेपालले पनि अशोक राईको पार्टी सङ्घीय समाजवादी पार्टीसँग एकीकरण गरेपछि १५ सांसद पुगेको थियो ।