१५ कार्तिक २०८३, आइतबार

होटलमा खान घरबाटै भाँडा लिएर जान्छन् डोम

140
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

वीरगञ्ज, २८ असोज । ‘घरमा आएका पाहुनालाई होटलमा चिया-नास्ता खुवाउन लैजाँदा घरबाटै गिलास लिएर जानुपर्दा पाहुनासामु लाजले शिर उठाउन सकिँदैन ।

यस्तो व्यवहारले अरू बेला पनि दुखित तुल्याउँछ’, डोम समुदायलाई दलित भनेर होटलमा गरिने विभेद सुनाउँदै पर्सा जगरनाथपुर-२ जानकी टोलका लक्ष्मी राउत डोमले भने, ‘चिया/नास्ता खान जाँदा घरबाटै गिलास लिएर जानुपर्छ । होटलभित्र पस्न दिँदैनन् । नास्ता पनि कागजमा पोको पारेर दिन्छन् ।  अन्नपूर्ण पोष्ट दैनिकले समाचार छापेको छ ।

पर्सा जगरनापुर गाउँपालिका-१ जानकी टोल दशौंतामा डोम समुदायको करिब १५ घरधुरी एकै ठाउँमा छ । डोम बस्तीको छेउमा बजारको मुख्य चोक छ । चोकमा चिया, नास्ता र मिठाईका आधा दर्जन स-साना होटल छन् । होटलमा चिया, नास्ता खान जाँदा साहु र कामदारले डोम जातिका मानिसलाई होटलभित्र पस्न दिँदैनन् ।

‘हामीप्रति गरिने यो विभेद त जसोतसो सहँदै आएका छौं । तर, जब हाम्रा घरमा पाहुना आउँछन् त्यसबेला भने मनमा असह्य पीडा हुन्छ’, डोम बस्तीका युवा राजेश राउत डोमले भने, ‘पाहुनाकै अगाडि होटलमा कागजमा पोको पारेर नास्ता दिँदा निकै लज्जित हुन्छौं ।’

‘हामी पनि त मान्छे नौ हौं, अरूजस्तै हाम्रा पनि हातखुट्टा, नाकमुख सद्धे नै छन्’, डोम बस्तीकी माया देवीले प्रश्न गर्दै भनिन्, ‘जब सबै चिज उस्तै छ भने हामीमाथि मात्रै यो छुवाछुत र विभेद किन ? हामीलाई डोम भनेर घृणा गरिन्छ ।’

डोम जातिमाथि गरिने विभेदबारे सोध्दा होटल सञ्चालकले सहजै स्विकारे । सञ्चालकमध्येका एक जनाले भने, ‘५/७ जना डोम जातिका ग्राहकका लागि अन्य जातिका ६०-७० जना ग्राहक गुमाउन चाहँदैनौँ ।’

‘डोमलाई होटलकै ग्लास र प्लेटमा चिया, नास्ता दिए अन्य जातिका मानिस पसलमै नआउने भन्छन्, होटलका साहुहरू,’ डोमबस्तीका लक्ष्मी राउत डोमले भने, ‘५/७ जना डोमका कारण आफ्नो होटल बन्द गर्नु छैन भनेर उनीहरूले हामीलाई गिलास र प्लेटमा नास्ता दिने गर्छन् ।’

होटलमा डोम जातिका ग्राहकलाई स्टिलका भाँडाकुँडामा चिया, नास्ता दिँदा गैरदलित ग्राहक पसलमै आउन छाडेपछि बाध्य भएर कागजामा नास्ता दिने गरेको जानकी टोल बजारस्थित होटलका एक सञ्चालकले भने, ‘के गर्ने हजुर यहाँको चलन नै यस्तै छ, डोमलाई होटलभित्र बसाएर चिया, नास्ता खुवायो भने अरू जातिका ग्राहक होटलमा आउँदैनन्, ५/७ जनाका लागि होटल नै बन्द गर्ने कुरा पनि आएन ।’