१५ कार्तिक २०८३, आइतबार

एनआरएनको चुनाव महँगियो, पत्नीलाई जिताउन घलेलाई चुनौती

1.1k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २८ असोज । कम्तीमा १० करोड रुपैयाँ खर्च हुने अनुमान गरिएको गैरआवासीय नेपाली संघ (एनआरएनए) अध्यक्षका उम्मेदवारको खर्च यसपालि निकै बढी हुने आकलन गरिएको छ ।

दुई धनाढ्य गैरआवासीय नेपाली जमुना गुरुङ र भवन भट्ट अध्यक्षका प्रतिस्पर्धी भएकाले यसपालि खर्च अकासिने भएको हो । अन्नपूर्ण पोष्ट दैनिकले समाचार छापेको छ ।

चुनाव दुई उम्मेदवारको मात्र नभई तिनको समर्थनमा रहेका पूर्वअध्यक्षहरूको जुँगाको लडाइ ठानिएकाले पैसाको खोला बगिरहेको सहभागी बताउँछन् ।

गुरुङ एनआरएनएका अध्यक्ष शेष घलेकी पत्नी हुन्। अस्ट्रेलियाका धनाढ्यको सूचीमा शेष १०१ औं स्थानमा र पत्नी जमुना त्यसपछिको नम्बरमा छिन् । जापानमा सफल नेपाली व्यवसायी भट्टको त्यहाँ २९० वटा स्तरीय रेस्टुरेन्टको चेन छ ।

उनको वार्षिक कारोबार ३० अर्ब रुपैयाँ बराबर छ । पत्नी चुनावी मैदानमा रहेकाले घलेका लागि चुनाव प्रतिष्ठाको विषय हुने नै भयो, भट्टको समर्थनमा उभिएका संस्थापक अध्यक्ष उपेन्द्र महतो र पूर्वअध्यक्ष जिवा लामिछानेको पनि जुँगाको लडाइ भएको छ । ‘चुनाव जमुना विरुद्ध भवनभन्दा पनि महतो-लामिछाने विरुद्ध घलेजस्तो देखिँदै छ’, सम्मेलनका लागि बेलायतबाट आएका शरण केसी टिप्पणी गर्छन् ।

देशमा हुने अन्य चुनावजस्तै भोजभतेर, भोट किन्न आदिमा हुने उम्मेदवारको खर्च एनआरएनएको चुनावमा पनि हुन्छ नै, मतदाताको रजिस्ट्रेसन शुल्क र मतदातालाई टिकट काटेर विदेशबाट ल्याउनसम्म खर्च गर्नपर्ने अवस्था भएकाले एनआरएनए चुनाव उम्मेदवारका लागि खर्चिलो हुँदै गएको हो । रजिस्ट्रेसनका लागि उम्मेदवारको मुख ताक्ने मतदाता टन्नै छन् ।

यसपालि रजिस्ट्रेसन शुल्क यसअघिको भन्दा दोब्बर बनाएर खाडी, अफ्रिका, मलेसिया, दक्षिण कोरियाका लागि प्रतिसहभागी एक सय डलर र यसबाहेकका देशबाट आउनेका लागि दुई सय डलर पारिएको छ ।

खाडी मुलुकबाट आउने सहभागीमात्र हैन, युरोपबाट आउने पनि कतिपय सहभागीले रजिस्ट्रेसन शुल्क उम्मेदवारलाई तिराउँछन् । एनआरएनएमा पहिलो हजार जनासम्म सदस्य भए प्रति १० जना बराबर १ प्रतिनिधि (मतदाता) हुन्छन् । त्योभन्दा बढी प्रत्येक हजार मतदातामा क्रमशः प्रतिनिधि संख्याका अनुपात घट्दै जान्छ ।