१५ कार्तिक २०८३, आइतबार

वामगठबन्धन र एकीकरणको पहल एमालेले होइन मैले गरेको हुँ : प्रचण्ड

308
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २२ असोज । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एमालेसँग तालमेलसहित एकीकरणसम्मको निर्णय लिँदा अत्यन्तै तनाव र दबाब झेलेको बताएका छन् ।

शनिबार माओवादी पोलिटब्युरो बैठकलाई सम्बोधन गर्ने क्रममा उनले यस्तो बताएका हुन् । नयाँ पत्रिका दैनिकले समाचार छापेको छ ।

‘अहिलेको परिस्थितिमा अपर्झट तालमेलसहित एकता संयोजन समिति गठन गर्ने सानो कुरा होइन । यस्तो निर्णयले चारैतिर तरंग पैदा भएको छ । यस्ता ठूलो निर्णय गर्दा पार्टीबाट संस्थागत निर्णय, बहस, छलफल नगरीकन नेतृत्वले आकस्मिक रूपमा गर्ने निर्णयले धेरै नेतालाई चिन्तित पनि बनायो,’ प्रचण्डले भने ।

त्यसअघि केही पोलिट्ब्युरो सदस्यले त्यस्तो निर्णय गर्दा पार्टीको कुनै तहको बैठकबाट किन निर्णय गराइएन भनी राखिएको जिज्ञासा राखेका थिए । जवाफमा उनले जिज्ञासा जायज भए पनि कहिले काँही त्यस्तो निर्णय गर्न पर्याप्त समय नमिल्ने भन्दै नेतृत्वले जोखिम उठाउने अवस्था आउने भन्दै नेताहरूलाई आश्वस्त पार्न खोजेका थिए ।

पार्टी एकीकरणको पहल एमालेले गरेको होइन
अहिलेको एकीकरण पहल एमालेले नगरेको प्रचण्डले दाबी गरे । ‘जनयुद्धमा हुँदा पनि वामदेव गौतमसँग मेरो कुरा भइरहन्थ्यो । उहाँसँग एक किसिमले भावनात्मक सम्बन्ध जोडिएको छ । स्थानीय तह निर्वाचनमा पनि तालमेल गर्नुपर्छ भन्नुभएको थियो, तर हुन सकेन ।

अहिले प्रदेश र संघको निर्वाचनमा पनि तालमेलको कुरा वामदेवजीबाटै आएको हो । तर, मैले तालमेलले मात्र हुँदै पार्टी एकीकरण नै गरौँ भनेँ । त्यसपछि एमाले नेतृत्वसँग गम्भीर छलफलहरु भए र चुनावी तालमेलसँगै पार्टी एकता गर्ने सहमति जुट्यो,’ प्रचण्डले भने ।

जनयुद्धजस्तै शान्ति प्रक्रियामा अर्को जोखिम लिएँ
जनयुद्धजस्तै शान्ति प्रक्रियाको अर्को जोखिम मोलेको प्रचण्डले बताए । ‘हामीले जनयुद्धमा अनेक दुःख, कष्ट गरेर जोखिम मोल्यौँ । जनयुद्धबाट शान्ति प्रक्रियामा आउँदा पनि जोखिम नै मोलेका हौँ, बीचमा पार्टी फुट विभाजन झेल्यौँ, अहिले सबै कम्युनिस्ट एकीकरण र धु्रवीकरण हुँदै थियौँ । एमालेसँग तालमेलसहित एकीकरण गर्ने निर्णय पनि जनयुद्ध जत्तिकै जोखिमपूर्ण हो,’ उनले भने ।

एकीकरणसँगै समाजवादको ठूलो घान हालेका छौँ
एकीकरणसँगै समाजवादको ठूलो घान हालेको प्रचण्डले दाबी गरे । ‘यो बहस र छलफलको अन्त्य होइन, सुरुवात हो । सानो स्केलमा भित्र आफैँभित्रको बहस छलफलले समाजवादसम्म पुग्न सम्भव छैन । सम्भव हँुदैन पनि । एउटा मात्र धाराले मात्र पुग्दैन, शक्तिशाली लिडरसिपको विकास गर्न बृहत् वाम एकता हुनुपर्छ,’ उनले भने ।

एमाले माओवादी कोही पनि विलय हुने होइन
एमाले र माओवादी केन्द्र एकआपसमा विलय नहुने प्रचण्डले बताए । दुई पार्टीबीचको एकताले एउटा नयाँ खालको पार्टी निर्माण गर्ने उनको भनाइ थियो । ‘यदि कसैले एकले अर्कोलाई खाने भन्ने सोचेको छ भने कोही कतै पुग्न सक्दैन,’ उनले भने, ‘हामी शान्ति प्रक्रियामा आएपछि पहिलो संविधानसभा निर्वाचनमा ठूलो दल भयाैँ । पहिलो शक्ति भएपछि एमालेलाई सजिलै पचाउन सकिन्छ भन्ने भयो । तर, दोस्रो संविधानसभा निर्वाचनमा त्यसको ठीक उल्टो एमालेले माओवादीलाई पचाउने अवस्थामा आयो । यस्तो भएपछि एमालेमा अहंकार पलायो । माओवादी विभाजन भयो, धेरै राष्ट्रघाती काम पनि भए । जनताबाट बदनाम पनि भयो माओवादी सकियो भन्ने एमालेलाई पर्यो ।’

प्रदेश नम्बर २ को निर्वाचनपछि माओवादी शक्ति हो, यसलाई पचाउन सकिँदैन भन्ने निष्कर्षमा एमाले पुगेको प्रचण्डले दाबी गरे । माओवादीले चाह्यो भने एमालेलाई १० वर्ष सत्ताबाहिर राख्न सक्ने बुझेरै तालमेलसहित एकीकरणसम्मको वातावरण बनेको प्रचण्डले बताए ।

सहमतिअनुसार निर्वाचनसम्म सरकारलाई साथ दिन्छाैँ
माओवादी कांग्रेस सहमतिअनुसार आगामी निर्वाचनसम्म साथ दिने प्रचण्डले बताए । ‘हामी र कांग्रेसबीच सरकारलाई निर्वाचनसम्म साथ दिने सहमति भएको थियो । सोहीअनुसार निर्वाचनसम्म सरकारलाई साथ दिन्छौँ,’ उनले भने ।

एमालेसँगको तालमेल कसैका विरुद्ध होइन
प्रचण्डले वाम तालमेल र एकता कसैका विरुद्ध नभई देश र जनताका लागि भएको दाबी गरे । ‘एमालेसँग एकीकरण गर्ने विषयलाई कांग्रेसले अतिरञ्जित रूपमा लिएको छ,’ उनले भने, ‘शान्तिपूर्ण लोकतान्त्रिक ढंगले वामपन्थी गठबन्धन जान्छ । कुनै क्रान्तिका लागि वामपन्थी गठबन्धन बनाएको होइन ।’ अर्को गठबन्धन बनाई निर्वाचनमा स्वस्थ प्रतिस्पर्धा गर्न कांग्रेसलाई प्रचण्डले आग्रह गरे ।

बैठकमा कुन नेताले के भने ?
सावित्रीकुमार काफ्ले 
संयोजक प्रदेश नम्बर १ 
यस प्रदेशमा स्थानीय निर्वाचनमा माओवादीको उपस्थित सोचेजस्तो राम्रो हुन सकेन । एमाले माओवादी एकतासम्म जाने निर्णय भएपछि कार्यकर्तामा अन्योल छ । एकतामा गए कतै एमालेले माओवादीलाई खोने त होइन भन्ने डर पैदा भएको छ ।

मातृका यादव
इन्चार्ज प्रदेश नम्बर २
यस प्रदेशको स्थानीय निर्वाचनमा उम्मेदवार जिताउने मामिलामा नेताहरू मिल्न सकेनौँ । वस्तुगत आधारमा यस प्रदेशमा पहिलो हुने अवस्था भए पनि हाम्रा उम्मेदवारलाई हाम्रैले हराए । एमालेसँग एकता गर्ने विषयलाई सकारात्मक रूपमा लिनुपर्छ । तर, माओवादी एमालेकरण हुने होइन, माओवादी एमालेकरण हँुदा समाजवादी क्रान्ति हुँदैन । त्यसैले, एमालेलाई माओवादीकरण बनाउँदै समाजवादी क्रान्ति गर्नुपर्छ ।

हितमान शाक्य 
इन्चार्ज प्रदेश नम्बर ३
यस प्रदेशमा स्थानीय निर्वाचनमा राम्रो नतिजा ल्याउन सकेनौँ । संगठानिक रूपमा कमजोर हुँदा राम्रो नतिजा नआएको हो । एमालेसँग एकतासम्म गर्ने भनेपछि ठूलो तरंग गएको छ । कार्यकर्ताबाट फोन आइरहेका छन् । पार्टीले के गर्न खोजेको हो भन्ने जस्तो अन्योल छ ।

देव गुरुङ
इन्चार्ज प्रदेश नम्बर ४
यस प्रदेशमा माओवादी कमजोर भएको स्वीकार गर्नुपर्छ । एमाले काग्रेससँग तालमेल गर्ने भनियो । पछि कुनै दलसँग पनि तालमेल हुन सकेन । जसले गर्दा स्थानीय निर्वाचनमा राम्रो नतिजा आएन । एमालेसँगको एकता सकारात्मक छ । पार्टी नेतृत्वले विश्वासका साथ कदम चालेको छ । एकतालाई सफल पार्नुपर्छ ।

वर्षमान पुन 
इन्चार्ज प्रदेश नम्बर ५
माओवादीको यस प्रदेशमा स्थानीय निर्वाचनमा सन्तोषजनक नतिजा आयो । पहिलो चरणको निर्वाचनमा एमालेको प्रभावले दोस्रो चरणमा प्रभाव परेपछि कम नतिजा आयो । एमाले माओवादी एकता गर्ने भनेपछि तरंग भएको छ । एकता गर्ने भनेपछि कार्यकर्तामा ठूलो जिज्ञासा छ ।

मायाप्रसाद शर्मा 
संयोजक प्रदेश नम्बर ६
यस प्रदेशमा ७९ स्थानीय तहमध्ये २७ एमाले, कांग्रेस र माओवादीले २५÷२५ तह जितेका छन् । पार्टी एकता गर्दा नेतृत्व, विचार र सिद्धान्तको हिसाबमा सोच्नुपर्छ भन्ने छ । सोलोडोलो मिल्ने कुराले माओवादी जनयुद्धले प्राप्त गरेका उपलब्धिसहित मृत्यु, बेपत्ता, घाइतेको विषयमा अर्कै ठाउँमा जान्छ कि भन्नेछ ।

लेखराज भट
इन्चार्ज प्रदेश नम्बर ७
माओवादी एमालेमा विलय भएको भन्ने खालका अभिव्यक्ति आएका छन् । सैद्धान्तिक र वैचारिक रूपमा यस्ता विषय तलसम्म पु¥याउन आवश्यक छ । समग्रमा एमाले–माओवादी तालमेलले कार्यकर्तामा उत्साह देखिएको छ ।