संखुवासभा, ३ असोज । मनराम प्रतिष्ठान र संखुवासभा काठमाडौं जर्नालिष्ट एशोसिएशन (एसकाज)ले संयुक्तरुपमा स्थापना गरेको ‘मनराम–एसकास पत्रकारिता पुरस्कार’ पत्रकार ईन्द्र गिरीलाई प्रदान गरिएको छ । संखुवासभा जिल्लामा रही निरन्तर पत्रकारिता जगतबाट योगदान पु¥याए बापत गिरीलाई उक्त सम्मान गरिएको हो ।
एसकाजले खाँदवारीमा सोमबार कार्यक्रम आयोजना गरी संखुवासभा जिल्ला समन्वय समितिका प्रमुख सुमन शाक्य, मनराम प्रतिष्ठानकी संरक्षक मनमाया श्रेष्ठ, मनराम प्रतिष्ठानका अध्यक्ष सुजन श्रेष्ठले गिरीलाई २५ हजार रुपैया नगदसहित ताम्रपत्रबाट संयुक्तरुपमा सम्मान प्रदान गरेका छन् ।
नेपाल पत्रकार महासंघ संखुवासभा शाखाका अध्यक्ष समेत रहेका गिरीलाई निरन्तर रुपमा पत्रकारीता क्षेत्रमा रहि जिल्लाको विकास मिर्माण, सामाजिक, पर्यटन लगायतका क्षेत्रमा महत्वपुर्ण योगदानको कदर गदै उक्त पुरस्कारले सम्मान गरिएको एसकाजका सल्लाहकार जीवनाथ खनालले जानकारी दिए ।
संखुवासभा जिल्लाबाट २०५७ साल बाट निरन्तर रुपमा जिल्ला र राष्ट्रिय स्तरका सञ्चार माध्यममा काम गदै आएका गिरी इमेज च्यानल टेलिभिजनका स्थानीय सम्वादातासमेत हुन् ।
मनराम–एसकाज पत्रकारिता पुरस्कारबाट सम्मानित गिरीले पत्रकारीता क्षेत्रमा सहयोग र पत्रकारको उत्साह जगाउन वार्षिक रुपमा प्रदान गरिने पुरस्कारले जिल्लाका सञ्चारकर्मीमा थप उत्साह र हौसला जगाएको बताए ।
कार्यक्रमका प्रमुख अतिथी एवं संखुवासभा जिल्ला समन्वय समितिका प्रमुख सुमन शाक्यले शैक्षिक क्षेत्रमा मनराम प्रतिष्ठानले पु¥याएको योगदानको चर्चा गर्दै पत्रकारको सम्मानले जिल्लामा थप उचाई बढाएको बताए । पुरस्कार वितरण कार्यक्रममा खाँदवारी नगरपालिका प्रमुख मुरारी खतिवडाले सञ्चार क्षेत्रको विकासका लागि नगरपालिकाले पत्रकार महासंघसंग समन्वय गरि अगाडि बढ्ने बताए ।
कार्यक्रममा मनराम प्रतिष्ठानका अध्यक्ष सुजन श्रेष्ठले वार्षिक रुपमा संखुवासभा जिल्लाबाट पत्रकारिता क्षेत्रमा उल्लेख्य योगदान पु¥याउने पत्रकारलाई एसकाजसँगको सम्झौता अनुसार सम्मान गर्दै जाने बताए ।
पुरस्कार वितरण कार्यक्रममा प्रमुख जिल्ला अधिकारी शिवराज जोशी, मनराम प्रतिष्ठानकी संरक्षक मनमाया श्रेष्ठ, राजनैतिक दलका प्रमुख , सुरक्षा निकायका प्रमुख, सरकारी तथा गैरसरकारी संघ सस्थाका प्रमुख, सञ्चारकर्मी लगायतको उपस्थिति रहेको थियो ।
पहिलो मनराम एसकाज पत्रकारिता पुरस्कार गत बर्ष संखुवासभाका पत्रकार गंगा विष्टलाई प्रदान गरिएको थियो । संखुवासभामा जन्मिएर काठमाडौंमा कर्मथलो बनाएका संचारकर्मीहरुको साझा संस्था एसकाजले संखुवासभा जोड्ने विभिन्न कार्यक्रमहरु गर्दै आएको छ । पुरस्कार वितरण कार्यक्रम एसकाजका अध्यक्ष हेमन्त गौतमको अध्यक्षतामा भएको थियो ।












प्रतिक्रिया