चन्द्रपुर(रौतहट), २५ भदौ । नेपाली काँग्रेसका नेता तथा स्थानीय तह निर्वाचन २०७४ पार्टी प्रचारप्रसार समन्वय उपसमितिका संयोजक रमेश लेखकले मधेशी जनतालाई पटकपटक अपमान गर्ने राजनीतिक शक्तिलाई मधेशी जनताले सवक सिकाउनुपर्ने बताउनुभएको छ ।
नेपाल प्रेस युनियनले रौतहटको चन्द्रपुरमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै लेखकले मधेशी जनतालाई शंकाको दृष्टिले मात्र हेर्ने र चुनावको बेला उपयोग मात्र गर्ने पार्टीलाई मधेशी जनताले सवक सिकाउनुपर्ने बताउनुभएको हो ।
तराई मधेशवासीविरोधी संकीर्ण पार्टीको रुपमा एमाले आएको उल्लेख गर्दै लेखकले संविधान संशोधन हुननदिने एमालेको कदम तराई मधेशमाथिको अपमानको रुपमा परिभाषित गर्नुभयो । लेखकले भन्नुभयो, ‘तराई मधेशको मात्र नभइ देशका अन्य भूगोल, समुदायले चाहेको विषयलाई समेत समेटेर हुनलागेको संविधान संशोधन हुननदिएर एमालेले मधेशीलगायतका जनतामाथि अपमान गरेको छ ।’
नेता लेखकले एमालेले मधेशी भावना नबोक्ने र मधेशी दलले मधेशी मुद्दा बोक्ने प्रयास गरेपनि निष्कर्षमा पुर्याउन नसक्ने भएकाले मधेशका मुद्दा निष्कर्षमा पुर्याउन काँग्रेस बलियो हुनुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो, ‘काँग्रेसले बाहेक मधेशको मुद्दालाई कसैलेपनि निष्कर्षमा पुर्याउन सक्दैन् । बलियो जनमतप्राप्त काँग्रेसले नै तराई मधेशलाई बलियो बनाउँछ । यहाँका मुद्धालाई स्थापित गराउँछ ।’
नेता लेखकले आफ्ना मुद्दा स्थापित गराउनपनि तराई मधेशले काँग्रेसलाई जिताउने विश्वास व्यक्त गर्नुभयो ।
एमालेजस्तो मधेशविरोधी पार्टी र मधेशका नाममा गठन भएपनि विभाजित र कमजोर पार्टीहरुले मधेशको हित गर्ननसक्ने उल्लेख गर्दै भन्नुभयो, ‘मधेशका मुद्धा सम्बोधन काँग्रेसले मात्र गर्नसक्ने भएकाले तराईमधेशले काँग्रेसकै पक्षमा मत प्रदान गर्ने मेरो विश्वास छ ।’
प्रदेश नम्वर २ को स्थानिय तहको निर्वाचन तराईमधेशको पक्ष र विपक्षमा रहेका शक्तिहरुबीचको जनमतसंग्रह भएको नेता लेखकले बताउनुभयो । मधेशका विपक्षमा रहेकाहरु फेरि जनतालाई भ्रम छर्दै मत माग्न लागिरहेका उल्लेख गर्दै नेता लेखकले तराई मधेशले त्यस्ता प्रवृति र शक्तिलाई निरुत्साहित गर्दै पाखा लगाउनुपर्ने बताउनुभयो ।
नेता लेखकले भन्नुभयो, ‘काँग्रेस बलियो नभएसम्म मधेश बलियो हुनसक्दैन । भ्रम छर्नेको विश्वास गर्नुहुँदैन ।’
नेता लेखकले तराईमधेशबाटै हुर्किएको काँग्रेसलेबाहेक तराईमधेशको समस्या अरुले बुझ्न नसक्ने र हलपनि दिननसक्ने दावी गर्नुभयो ।
तराईमधेशमा प्रत्येक बर्ष हुनेबाढी र डुवानको समस्यालाई दीर्घकालिन हल खोज्न काँग्रेस लागिरहेको बताउदै पूर्वमन्त्री लेखकले भन्नुभयो, ‘प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमणताका समेत नेपाल भारतको साझा समस्या रहेको डुवानको दीर्घकालिन हल खोज्ने प्रयासका लागि द्धिदेशिय कार्यदलले काम थाल्न सहमति भएअनुसार काम शुरु हुन थालेको छ ।’
तराई मधेशको ८ सय किलोमिटर हुलाकी मार्ग बनाउने कामले तिव्रता पाइरहेको र यो काँग्रेसकै सोचबाट अगाडी बढिरहेको नेता लेखकले बताउनुभयो । तेस्रो चरणको चुनावमा नेपाली काँग्रेस तराईमधेशकै सबैभन्दा ठूलो पार्टी हुने र यसले समग्रमा नेपाली काँग्रेसलाई ठूलो पार्टी बनाउने विश्वास नेता लेखकले व्यक्त गर्नुभयो ।
प्रदेश नम्वर २ का ८ वटै जिल्ला भ्रमणमा रहनुभएका लेखक रौतहटको पार्टी कार्यक्रममा सहभागी भएर सर्लाही जानुभएको छ ।













प्रतिक्रिया