– सीताराम चौधरी
चन्द्रौटा(कपिलवस्तु), ३० साउन । नवनिर्वाचित जनप्रतिनिधिहरु दीर्घकालिन विकास योजनाका साथ अगाडि बढ्नुपर्ने थारु कल्याणकारिणी सभाका केन्द्रिय सल्लाहकार एवं सांसद विश्रामप्रसाद थारुले सुझाव दिनुभएको छ ।
थारु कल्याणकारिणी सभा जिल्ला कार्यसमिति कपिलवस्तुद्वारा सोमबार गोरुसिङ्गेमा आयोजित जनप्रतिनिधिहरुलाई सम्मान कार्यक्रममा प्रमुख अतिथिको आसनबाट सम्बोधन गर्दै सासंद थारुले यस्तो सुझाउनुभएको हो । स्थानीय स्तरमा उपलब्ध स्रोत र साधनको प्रयोग गरी आयमूलक तथा रोजगार सृजना गर्ने किसिमका योजना जनप्रतिनिधिले ल्याउनु पर्ने सांसद थारुले जोड दिनुभयो । सिंहदरबारको अधिकार स्थानीय तहमा आएको बताउँदै यसको सही सदुपयोग गर्नुपर्ने उहाँले जिकिर गर्नुभयो । साथै आदिवासी जनजाति थारु समुदायको उत्थानको निम्ति शिक्षा, स्वास्थ्यसँगै जातीय पहिचानको संरक्षण गर्न नवनिर्वाचित जनप्रतिनिधिहरु संगठित भई अगाडि बढ्न आवश्यक रहेको उहाँले तर्क राख्नुभयो ।
कार्यक्रममा बाणगंगाका नगरपालिकाका नगरप्रमुख मंगलप्रसाद थारुले थारु जातिको भेषभुषा, संस्कृति, भाषा र पहिचानको संरक्षणमा आफू प्राथमिकताका साथ लाग्ने उद्घोष गर्नुभयो । थारु जातिको हक अधिकार स्थापित गर्न थारु कल्याणकारिणी सभासँग समन्वय र सहकार्य गरी अगाडि बढ्ने समेत नगरप्रमुख थारुले प्रतिबद्धता व्यक्त गर्नुभयो । उहाँले आफू आफ्नो पदभन्दा माथि उठेर जनताको सेवामा लाग्ने बताउनुभयो ।
कार्यक्रममा शिवराज नगरपालिकाकी उपप्रमुख शिवकुमारी थारु, बुद्धभूमि नगरपालिकाकी उपप्रमुख मीरा थारु, विजयनगर गाउपालिकाकी उपाध्यक्ष लक्ष्मी थारु लगायतले बोल्दै आफुहरु सधंै थारु जातिको जातीय पहिचान र हकहितको निम्ति काम गर्ने प्रतिबद्धता जाहेर गर्नुभएको थियो ।
यसैगरी कार्यक्रममा थारु कल्याणकारिणी सभाका केन्द्रिय सदस्य भोजराज थारु, आदिवासी जनजाति महासंघ जिल्ला समन्वय परिषद कपिलवस्तुका अध्यक्ष विमल सारु, नेपाल तामाङ घेतुङ संघका जिल्ला अध्यक्ष कर्ण लामा, नेपाल नेवार संघका जिल्ला अध्यक्ष निलकुमार श्रेष्ठ, थारु कल्याणकारिणी सभाका केन्द्रिय पार्षद नागेन्द्र रौतार लगायतले धारणा राखेका थिए ।
कार्यक्रममा जिल्लामा निर्वाचित भएका सबै थारु जनप्रतिनिधिहरुलाई कदर–पत्रले सम्मान गरिएको थियो । कार्यक्रम थारु कल्याणकारिणी सभाका जिल्ला अध्यक्ष जन्जीरप्रसाद थारुको अध्यक्षता, सुमित्रा थारुको स्वागत र उमाशंकर चौधरीको संचालनमा सम्पन्न भएको थियो ।













प्रतिक्रिया