काठमाडौं, २२ साउन । राष्ट्रिय जनता पार्टी नेपालका अध्यक्ष महन्थ ठाकुरले बिगतदेखि अहिलेसम्म राज्यपक्षसँग भएका सबै सहमति कार्यान्वयनको माग गर्नुभएको छ ।
काठमाडौंमा आइतबारदेखि सुरु भएको केन्द्रीय कार्यसमितिको बैठकमा सम्बोधन गर्दै अध्यक्ष ठाकुरले सरकार गठनका बेला भएको तीन बुँदे सहमति पूरा गर्न आग्रह गर्नुभयो ।
‘बिगतमा राज्यपक्षसँग भएको ८ बुँदेदेखि सरकार गठनका बेला भएका तीन बुँदे सहमति कार्यान्वयन गर्नुपर्छ’, उहाँले भन्नुभयो, ‘सहमति कार्यान्वयन नहुँदाको अवस्थामा उत्पन्न हुने परिस्थितिको सरकार जिम्मेवार बन्नु पर्छ ।’
अध्यक्ष ठाकुरले संविधान संशोधन आफूहरूको बटमलाइन रहेको भन्दै यथाअवस्थामा चुनावमा जान नसकिने बताउनुभयो । ‘संविधान संशोधन नहुँदासम्म हामी चुनावमा जाँदैनौँ’, उहाँको भनाइ थियो ।
राजपा नेपालका सहअध्यक्ष हृदयश त्रिपाठीले २ नं. प्रदेशमा चुनाव जित्न सकिन्छ भने निर्वाचनमा जाने वा बहिष्कार के गर्ने भनेर गहिराईमा पुगेर निर्णय लिनुपर्ने बताउनुभयो । ‘५ नं. प्रदेशमा चुनाव हुने बेला राजपा नेपाल निर्वाचन आयोगमा दर्ता नै भएको थिएन’, उहाँले भन्नुभयो, ‘त्यस कारणले हामी निर्वाचन गर्न बाध्यात्मक परिस्थितिमा थियौँ । अहिले त्यस्तो अवस्था छैन ।’ नेता त्रिपाठीले निर्वाचनका बेला दल दर्ता गराउन नसक्नुको जिम्मेवारी अध्यक्षमण्डलले लिनुपर्ने बताउनुभयो ।
अध्यक्षमण्डल निकम्मा रहेको बताउनुभएका नेता त्रिपाठीले भन्नुभयो, ‘अहिलेको विधानले पार्टी कुनै पनि हालतमा चल्न सक्दैन । विधान खारेज गरेर नयाँ ढंगले बनाइनुपर्छ ।’
नेता त्रिपाठीले अध्यक्षमण्डलका कारण मधेस आन्दोलनलाई दिशाबिहीन बनाएको आरोप समेत लगाउनुभएको थियो ।
राजपा नेपालका संसदीय दलका नेता समेत रहनुभएका सहअध्यक्ष शर्वेन्द्रनाथ शुक्लाले कार्यक्षमताका आधारमा नेताहरूलाई जिम्मेवारी दिनुपर्ने बताउनुभयो । ‘अध्यक्षमण्डलभित्र अध्यक्ष बनाएर ठूलो गल्ती भएको छ’, उहाँले भन्नुभयो, ‘पाँच जना अध्यक्षको भरमा पार्टी चलाउने कुरा कुनै पनि हालतमा मिल्दैन ।’
हृदयश त्रिपाठी, शर्वेन्द्रनाथ शुक्लासहितका नेताहरूले असन्तुष्टि जनाउँदै केन्द्रीय कार्यसमितिको बैठक बोलाउन माग गरेपछि राजपाको बैठक आजदेखि सुरु भएको हो । असन्तुष्ट पक्षका नेताद्वय त्रिपाठी र शुक्ला मञ्चमा नबसेर केन्द्रीय सदस्यहरू बसेको सिटमा बस्नु भएको थियो ।
बैठकमा ३० वटा समूह बनाएर अध्यक्ष महन्थ ठाकुरको राजनीतिक प्रतिवेदन, विधान, नियमावली र घोषणा–पत्रमाथि छलफल गरिनेछ । समूहको टोली नेताले बैठकमा रायसुझाव दिने महासचिव केशव झाले जानकारी दिनुभयो ।
बैठकको सहजीकरण गर्नुभएका राजेन्द्र महतोले केन्द्रीय सदस्यहरूलाई ताली बजाउन प्रतिवन्ध लगाएको एक केन्द्रीय सदस्यले बताए । ‘हृदयश त्रिपाठी र शर्वेन्द्रनाथ शुक्लाजीले बोलिरहँदा ताली बजेपछि राजेन्द्र महतोजीले केन्द्रीय सदस्यहरूलाई ताली बनाउन प्रतिबन्ध लगाउनु भएको छ’, एक केन्द्रीय सदस्यले भने ।














प्रतिक्रिया