काठमाडौं, १८ साउन । भरतपुर महानगरपालिको मेयर पदका आफ्ना उम्मेदवार देवी ज्ञवालीका छोरा निरभ ज्ञवालीलाई चुनावको मुखैमा पक्राउ गरेकोमा नेकपा एमालेले आपत्ति जनाएको छ ।
एमाले स्थायी समिति सदस्य शंकर पोखरेलले देवी ज्ञवालीका छोराको गिरफ्तारीलाई नियोजित षडयन्त्रको संज्ञा दिएका छन् । ‘भरतको १९ नम्बर वडामा २० गते फेरि चुनाव हुँदैछ । चुनावकै मुखमा उम्मेदवारका छोरा पक्राउ गर्नु भनेको षडयन्त्र हो,’ पोखरेलले भने ।
उजुरीको दुई महिनासम्म रमिते बनेको सरकारले चुनावको मुखमा अनुसन्धानका नाममा देवी ज्ञवाली पुत्रलाई गिरफ्तार गर्नु सुनियोजित कदम भएको उनको आरोप छ ।
मतपत्र च्यातेर षडयन्त्र रचिएको भरतपुरमा एमालेमाथि अर्काे षडयन्त्र हुन लागेको भन्दै उनले खबरदारी गर्न कार्यकर्ता र जनतामा अपिल समेत गरेका छन् ।
भरतपुर महानगरमा कांग्रेस माओवादी गठबन्धनकी उम्मेदवार रेणु दाहाललाई सामाजिक सञ्जाल फेसबुकमार्फत गाली गरेको भन्दै महानगरीय प्रहरी अपराध महाशाखाले बुधबार दिउँसो एमाले उम्मेदवारका छोरा निरभलाई पक्राउ गरेको थियो ।
जबकी रेणुका पतिले दुई महिना अघि नै प्रहरीमा उजुरी दिएका थिए । उजुरीपछि निरभले माफी समेत मागिसकेका छन् । तर, अहिले आएर चुनावको मुखमा गृहप्रशासनको आडमा उनलाई पक्राउ गरियो ।












प्रतिक्रिया