१० मंसिर २०८३, बिहिबार

धनराज गुरुङले संसदमा भने- सरकार काले, काले मिलेर खाँऊ भाले भनेजस्तै भयो

126
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १८ साउन । नेपाली कांग्रेसका सांसद धनराज गुरुङले वर्तमान सरकार र राज्यलाई माफियाले चलाइरहेको बताएका छन् ।

आफ्नै पार्टीका सभापति शेरबहादुर देउवाले सरकारको कमाण्ड सम्हालिरहेका बेला बुधबार व्यवस्थापिका–संसद्को आजको बैठकको विशेष समयमा सांसद बोल्दै गुरुङले देश माफियाको चंगुलमा फसेको भन्दै संसदको ध्यानाकर्षण गराए ।
नक्कली भ्याट बिलका बारेमा उच्चस्तरीय छानबिन नभएकामा चिन्ता व्यक्त गर्दै उनले आयल निगमको जग्गा खरिदसम्बन्धी छानबिन गर्न किन सरकार चुप लागेर बसेको भन्ने प्रश्न गरे ।

‘तैँ चुप मै चुप । काले, काले मिलेर खाँऊ भाले भने जस्तै सरकार, उच्च प्रशासक र व्यापारी भएका छन् । यस्तो अवस्थामा संसद् टुलुटुलु हेरेर बस्नु हुँदैन’ उनले भने ।

संसदमा के के भने धनराजले ?

रगत चुस्ने किराको प्रसंग निकाल्दै उनले नेपालका नेता, कमर्चारी र व्यापारीहरु परजिवीजस्तै देखिन्छन् भने ।

भ्रष्टाचार ठूला ठूला काण्ठ बाहिर आएपनि छानविन नभएकोमा चिन्ता व्यक्त गर्र्दै उनले नक्कली भ्याट बिल बनाएर नेपाली जनताको अरबौं रुपैयाँ ठग्ने उद्योगपति व्यापारीलाई कारवाही गर्नैपर्नेमा जोड दिए ।

तर, उक्त नक्कली भ्याट बिलको छानविन गर्नुको सट्टा राज्यद्धारा ढाकछोप गरिएको भन्दै यो राज्य अपराध भएको बताए । देश चलाउने नेतालाई लाज लाग्नुपर्ने हो कि हैन भन्दै उनले प्रश्न गरे ।

पनामा पेपर्स काण्डमा मुछिएका पाकिस्तानी प्रधानमन्त्री नवाज शरिफ एकहप्ता अघिमात्रै प्रधानमन्त्री पदबाट पदत्युत भए । तर, त्यही पनामा पेपर्स काण्डमा मुछिएका १३ जना उद्योगपति व्यापारीहरुको बारेमा कुनै छानविन हुँदैन् ।

नेपालीहरु अब दुनियाँको अगाडि मुख देखाउन पनि लज्जित हुने अवस्था आउन लागेकोमा उनले चिन्ता व्यक्त गरे ।

आयल निगमको जग्गा खरिदमा करोडौं भ्रष्टाचार भएको तथ्य बाहिर आउदा पनि छानविन गर्ने अधिकार प्राप्त निकायहरु कानमा तेल हालेर, आँखामा पट्टी बाधेर बसिरहेको उनको आरोप छ ।

उनले भने– ‘यो भन्दा विडम्वना अरु के हुनसक्छ । के नेपाली जनता भ्रष्टाचारको दलदलमा, भ्रष्टाचारी चुसेर ख्याउटे अनुहार देखाएर बस्नुपर्ने हो ? के सिंगो नेपाल देशलाई ख्याटिएको र च्यारिएको बनाउन खोजेको हो ?’

यति ठूलो जालझेल र कमिसनको खेल हुँदा पनि न त सत्तापक्ष न त प्रतिपक्ष बोल्छ । तै चुप, मै चुप किन भइरहेको छ ? तै चुप मै चुप सबै चुप किन हो ? काले काले मिलेर खाउ भाले भएकै हो कि क्या हो ? के नेपालका नेता, कर्मचारी, व्यापारी जनताको रगत चुस्ने परजिवी भइसकेका हुन त ? यो मुलुक माफियाहरुले चलाएको छ । नेताहरु त बाहिर देखिने पात्र मात्रै हुन् । माफियाको चंगुलबाट देशलाई मुक्त नपारेसम्म देश समृद्ध बन्न सक्दैन् ।

सिंगो देश भ्रष्टाचारले थलो परेको बेलामा यो संसद तमासे बनेर बस्न सक्दैन् । तसर्थ यस्ता भ्रष्टाचारमा संलग्नलाई छानविन गरी कारवाहीको दायरामा ल्याउन संसदले नै पहल गर्नुपर्छ ।