सिरहा, १७ साउन । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अन्तर्गत जिल्ला कृषि बिकास कार्यालय सिरहाको अनुदान सहयोगमा आर्थिक वर्ष २०७३/७४ मा ९५ हेक्टर जमिनमा जलाशययुक्त माछा पोखरी निर्माण गरिएको छ ।
जिल्ला कृषि बिकास कार्यालय सिरहाका अनुसार ९० हेक्टर जमिनमा १ सय एक जना कृषकहरुले २ सय ८१ वटा माछा पालन गर्ने पोखरी निर्माण गरेका छन् । त्यसैगरी ५ हेक्टर जमिनमा ५ वटा माछाका भुर्रा उत्पादन गर्ने नर्सरी पोखरी निर्माण भएको छ । माछा पालक कृषकहरुको उत्साह बढाउन जिल्ला कृषि विकास कार्यालयवाट आवश्यक उपकरणहरु पनि प्रदान गरिएको छ ।
नव निर्मित जलाशययुक्त पोखरीहरुमा माछा पालन गर्दा प्रत्येक ६ महिनामा ४ सय ५ मेट्रिक टन माछा थप उत्पादन हुने र यसवाट कृषकहरुलाई प्रति हेक्टरमा प्रत्येक ६ महिनामा ९ लाख रुपैया आम्दानी हुनेछ । त्यसैगरी सिरहा जिल्ला माछामा आत्म निर्भर भई देशको अन्य शहर तथा भारतीय बजारमा समेत माछा निर्यात गर्न सक्षम हुने आशा लिईएको छ ।
पोखरी निर्माण गर्न कृषकहरुलाई प्रति हेक्टर ३ लाख रुपैयाँ सरकारी अनुदान प्रदान गरिएको छ । आर्थिक बर्ष ०७३/०७४ मा १ सय १ कृषकले करिब अढाइ करोड रुपैयाँ जिल्ला कृषि विकास कार्यालयबाट अनुदान पाएका छन् । अनुदान पाएर पोखरी निर्माण गरी माछा पालन गर्न पाउँदा माछा पालकहरु खुसी भएका छन् । उनीहरुले राज्यले दिएको अनुदानको सहिसदुपयोग गरी माछा उत्पान बढाएर देशलाई आत्मनिर्भर बनाएर बर्षेनी करौडौं रुपैया भारत जान नदिने बताउँछन् ।
जिल्ला कृषि बिकास कार्यालय सिरहाले जिल्लाको दुर्गापुर, बलही, फूलकाहाकट्टी, लहान र ब्रहमान गोर्छारीलाई माछा ब्लक गाउँको रुपमा घोषणा गरेको छ । माछा पालक कृषकहरु पनि निकै उत्साहित भएका छन् । माछा पालन फस्टाएपछि बेरोजगार सयौं यूवा रोजगारी समेत पाएका छन् ।
कम लगानीमा माछा उत्पादन गर्ने सोच
माछा पालक कृषक दिनेश यादबले थोरै लगानीमा बढी माछा उत्पादन गर्ने नयाँ योजना बनाएको बताएका छन् । उनले साढे ५ हेक्टर जग्गामा माछा पोखरी निर्माण गरेका छन् ।
सो पोखरीमै कम लागतमा माछा उत्पादन गर्न सके करिब ७ देखि ९ करोडसम्म आम्दानी हुने उनको विश्वास छ । उनी भन्छन्– कम लागतमा माछा उत्पादन गर्न हाँस, राँगा, गाई पालन पनि गर्ने र सो गाइबस्तुको गोबर माछाको दानाको रुपमा प्रयोग गर्छौ । जसका कारण माछाको दाना खरिद गर्नुपर्दैन र कम लगानीमा बढी माछा उत्पादन गर्न सक्छौं ।
















प्रतिक्रिया