२ कार्तिक २०८३, सोमबार

प्रतिस्पर्धाबाट भाग्नु हुँदैन, निर्वाचनमा भाग लिने उपेन्द्रजीको निर्णय ठीक थियो

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

संघीय समाजवादी फोरम नेपालको केन्द्रीय कार्यसमितिको बैठक भरखरै सम्पन्न भएको छ । झण्ड दुई वर्षसम्म चलेको मधेस आन्दोलनको नेतृत्व गरेको संघीय समाजवादी अहिले एक्लै छ । त्यति बेलाका सहपाठी दल र ती दलका नेताहरू राजपा नेपाल गठन गरेर बसेका छन् । उपेन्द्र यादवले एकाएक निर्णय गरेर स्थानीय तहको निर्वाचनामा सहभागी भए । तर, राजपा नेपाल सहभागी भएन । संघीय समाजवादी फोरम नेपालले समय र परिवेश अनुसार निर्णय गर्ने गरेको छ । केन्द्रीय कार्यसमितिको बैठकले गरेका निर्णय र सो पार्टीको भावी रणनीतिका विषयमा हाम्रा सहकर्मी विमल योगीले उपमहासचिव अभिषेक प्रताप शाहसँग गर्नुभएको कुराकानी :

तपाईहरूको पार्टीको बैठक किन यति ढिला बस्यो ?

हाम्रो पार्टी आन्दोलनमा थियो । आन्दोलनमा भएका कारण सबै नेताहरू आफ्नो जिल्लामा हुनुहन्थ्यो । छ महिनामा केन्द्रीय कार्यसमिति बैठक बस्ने परम्परा छ । यस पटक पनि तोकिएको समयमा बैठक बसेको छ । कुनै ढिलाई भएको छैन ।

बैठकले के–के निर्णय गर्‍यो ?

दुई चरणमा भएको चुनावको समीक्षा भयो । कुन व्यक्तिले कुन ठाउँमा हामीलाई धोका दिए । अब उनीहरूमाथि पार्टी अनुशासनको कारबाही गर्ने । स्पष्टीकरण सोध्ने भनेर निर्णय भएको छ । २ नं. प्रदेशको चुनावलाई मध्यनजर गर्दै पार्टीले आन्तरिक रणनीति तय गरेको छ । २ नं. प्रदेश भनेको हाम्रो आधार क्षेत्र हो । त्यो आधार क्षेत्रमा हाम्रो सबैभन्दा राम्रो प्रदर्शन र उपस्थिति हुनुपर्छ । त्यहाँबाट सबैभन्दा धेरै सिट जित्नु पर्ने पार्टीको चाहना हो । यी विषयलाई लिएर निर्णयहरू भएका छन् । केही राजनीतिक र सांगठनिक निर्णयहरू पनि भएका छन् ।
सरिता गिरी नेतृत्वको नेपाल सदभावना पार्टी, संघीय लिम्बुवान पार्टी, तराई मधेस समता पार्टी, सुकुम्वासी पार्टी हाम्रो पार्टीसँग मिलेका छन् । ती पार्टीका अध्यक्षहरूलाई पार्टीमा उपयुक्त स्थान दिइएको छ । कतिपयलाई राजनीतिक समितिमा ल्याइएको छ ।

तपाईहरूको पार्टीको कार्यदिशा के हो ?

हाम्रो कार्यदिशा भनेको नेपालमा समाजवाद उन्मुख समाज सृजना गर्ने हो । राजनीतिबाट साधारण जनतालाई पनि लाभा होस् भन्ने चाहन्छौँ । समाजवादको ट्याग त लगाइन्छ तर, व्यक्तिगत लाभ मात्रै गर्ने कुराले देश अगाडि बढ्दैन । नेपालका जनता विश्वव्यापी भइसके । तर, नेताको सोँच अझै पनि सय वर्ष पुरानो छ । त्यो सोँचाइले अब मुलुक चल्दैन । हरेक जातजाति र तहतप्कालाई मिलाएर सहकार्य गरेर देशलाई अगाडि बढाउनु पर्छ ।

नयाँ शक्ति पार्टीसँगको पार्टी एकताको कुरा कता पुग्यो ?

नयाँ शक्तिसँगको पार्टी एकीकरणले मूर्त रुप लिन सकिरहेको छैन । कुराकानी भइरहेको छ । पार्टी एकीकरणको कुरा हामीबाट समस्या छैन ।

नयाँ शक्तिसँग पार्टी एकता सम्भव छ ?

संघीय फोरम र नयाँ शक्ति पार्टीबीच वार्ता समाप्त भइसकेको छैन । हाम्रो वार्ता अहिले पनि जारी छ । हाम्रा केन्द्रीय नेताहरू अहिले पनि सम्पर्कमा हुनुहुन्छ । बाबुरामजीको पार्टीभित्र आन्तरिक विवादको कारणले उहाँहरूले निर्णय लिन कठिनाइ भइरहेको छ । यो वार्ताको प्रसंग अझै पनि जारी छ । यसमा अहिले तत्काल केही भन्नु अपरिपक्कता जस्तो लाग्छ । अध्यक्ष उपेन्द्र यादवज्यू पार्टी एकीकरणका लागि सकारात्मक हुनुहुन्छ । पार्टी पनि सकारात्मक छ ।

भारत नजिक मानिने बाबुराम भट्टराई र चीनसँग नजिक रहेका उपेन्द्र यादवलाई कसले मिलाउन खोजेको हो ?

कुन नेता कोसँग नजिक छ त्यो त मलाई थाहा छैन । मैले बाबुरामजीसँग भेट्दा उहाँको सारतत्व समाजवादमा थियो । बाबुरामजीको अल्टर लेफ्ट वीङ्गको विषय थिएन । त्यो कारणले बाबुरामजीले समाजवाद उन्मुख पार्टी बनोस् भन्ने चाहेको मैले पाएँ । सबैलाई मिलाएर कसरी पार्टी बनाउने भन्ने सोँचाइ उहाँको थियो । हाम्रो पार्टीसँग उहाँको कतिपय कुरा मेल गर्‍यो त्यसपछि सहकार्य गरेर चुनावमा पनि गयौँ । हाम्रो चुनाव चिन्ह बाबुरामजीले प्रयोग पनि गर्नुभयो ।

तपाईहरूको पार्टीले चीन र भारतलाई हेर्ने दृष्टीकोण कस्तो छ ?

हाम्रो भूमिबाट दुईवटै छिमेकी भारत र चीनलाई कुनै पनि अहित नहोस् भन्ने नै हाम्रो पार्टीको दृष्टीकोण हो । उहाँहरूको भूमिबाट पनि हाम्रो देशप्रति कुनैपनि किसिमको अहित नगरुन् भन्ने संघीय समाजवादी फोरम नेपालको बटम लाइन हो । चीन र भारत विश्वका उदाउँदै गरेका अर्थतन्त्र हुन् । उनीहरूसँग ब्यालेन्स रिलेशनसिप राख्नु पर्छ । नेपालमा हरेक पार्टीको सोँचा पनि यही हो जस्तो लाग्छ ।

कुनै बेला मधेसको राजनीति उपेन्द्र यादव र संघीय समाजवादी फोरम नेपालले गरेको थियो ? यो आन्दोलनबाट लाभ र हानी के भयो ?

पहिलो कुरा त संघीय समाजवादी फोरम नेपाल बलियो संगठनका रुपमा देखिएको छ । संगठन बनाउँदै लगेका छौँ ।
०६२ को जनआन्दोलन पछाडि हाम्रो पार्टीले शक्ति प्रदर्शन गर्‍यो । त्यसपछि हामी ५३ सिट जितेर आयौँ । उपेन्द्र यादवको नेतृत्वले त्यो सम्भव भएको थियो । अहिले पनि हामीले जनताको धेरै माया पाएका छौँ ।

धेरै उपलब्ध हुन नसकेपनि मधेस र मधेसी जनताले थोरै भए पनि राहत पाएका छन् । बाँकी अधिकारका लागि त संघर्ष गर्ने नै हो । हामीबीच विभाजन भएकै कारण धेरै मुद्दाहरू कमजोर भएका छन् । तर, संघीय समाजवादी फोरम नेपालले राजपा नेपालले छाडेका मुद्दाहरूलाई जीवित राखेको छ । जनताले साथ दिएका छन् ।

चुनाव बहिष्कार गर्नु । कालो झण्डा देखाउनु । सोसल मिडियामा अतिरञ्जित गर्नुले कुनै पनि राजनीति लाभ हुँदैन । संगठन भनेको संघीय समाजवादी फोरम नेपाल नै हो । हाम्रो संगठन तराईमा बलियो छ ।

२ नं. प्रदेशको चुनाव सक्कियो भने हाम्रा २६ बुँदे मागलाई सरकारले बेवास्ता गर्‍यो भने हामी कडाभन्दा कडा आन्दोलनमा जाने छौँ । अध्यक्षज्यूले केन्द्रीय कार्यसमितिको बैठकमा यी कुरा राख्नुभएको छ । अबको आन्दोलन तराईमा मात्रै हुने छैन । देशको कुनाकुनामा हुनेछ ।

उपेन्द्र यादवले पार्टीलाई चुनावमा लैजाने निर्णय गर्नुभयो । यो निर्णयलाई पार्टीमा कसरी हेरिएको छ ?

राष्ट्रिय पार्टी भइसकेपछि एउटा क्षेत्रका लागि संक्रिण सोँच राखेर पार्टी स्थापना हुँदैन । हाम्रो अध्यक्षज्यूले अन्तिममा आएर चनावमा जाने निर्णय किन गर्नुभयो भने नयाँ शक्ति पार्टीसँग पनि सहकार्य गर्ने भनेर पक्कापक्की भइसकेको थियो । संविधान संशोधन हुने तिथिमिति पनि तय भइसकेको थियो ।

संविधान संशोधनका दिन राप्रपाका दश जना सांसद अनुपस्थित भएका कारणले संविधान संशोधन पनि भएन । बीस वर्षदेखि स्थानीय निर्वाचन भएको थिएन । त्यहाँ केही पनि जनप्रतिनिधि थिएनन् । त्यस्तो अवस्थामा जनतालाई उत्पीडनमा राख्नु हुँदैन भन्ने सोँच आयो । चुनावबाट जनतालाई बञ्चित गरेर हामी राजनीति गर्ने कुनै आधार हुन्थ्यो र ? हुने थिएन । हामी लोकतन्त्रमा विश्वास गर्ने भएकाले प्रतिस्पर्धामा भाग लिएका हौँ ।

उपेन्द्र यादवले चुनावका लागि उठाउनु भएको कदम जायज थियो ?

एकदमै जायज थियो । जायज हो र आउने समयलाई पनि जायज नै हुन्छ । उपेन्द्र यादव हाम्रो कमाण्डर हुनुहुन्छ । हामी सेना हौँ । कमाण्डले भनेको कुरा सेनाले मान्नु पर्छ । मानेका छौँ । उहाँले उचित समयमा उचित निर्णय लिनु भएको छ । लोकतन्त्रमा यो नै बुद्धिमताको कुरा हो । स्थानीय तहको निर्वाचनमा हाम्रो सहभागिता नै ठूलो उपलब्धिका रुपमा लिनुपर्छ । अबको तारगेट भनेको २ नं. प्रदेश हो ।

संघीय समाजवादी फोरममा बेलाबेलामा खटपट भइरहन्छ किने हो ?

खटपट हाम्रो पार्टीमा मात्रै होइन । हरेक पार्टीमा हुन्छ । हाम्रो पार्टी ६० वर्ष पुरानो पार्टी होइन । उपेन्द्र यादवज्यूले पार्टीलाई विभिन्न समस्याबाट उतारेर यहाँसम्म ल्याइ पुर्‍याउनु भएको छ । उहाँ सक्षम नेता हो । उपेन्द्र यादव भनेका मधेसी वा आदिवासीको मात्रै नेता होइन सबैले नेता मानेका छन् । अन्तर्राष्ट्रिय समुदायले पनि हाम्रो अध्यक्षज्यूलाई मान्ने गरेको छ ।

संघीय समाजवादी फोरम नेपाल र राजपा नेपालबीच सहकार्य हुन्छ कि हुँदैन ?

उहाँहरूसँग सम्वाद र छलफल हुने गरेका छन् । हामी खुला छौँ । हामी हाम्रो मुद्दामा स्पष्ट छौँ । हाम्रो नेतृत्व पनि सहकार्यका लागि सधैँ तयार छ ।

संघीय साजवादी फोरम नेपाल सरकारमा कहिले जान्छ ?

हाम्रो पार्टी सरकारमा जाने अहिले कुनै पनि निर्णय भएको छैन । हाम्रो शक्ति २ नं. प्रदेशको चुनावमा लगाउने निर्णय गरेका छौँ । हाम्रा नेताहरू चुनावमा केन्द्रित हुनुहुन्छ । सरकारमा जाने सोँच्नु भएको छ । निर्वाचन सकिएपछि बल्ल सरकारमा जाने वा नजाने भनेर त्यसपछि पार्टी निर्णय गर्छ ।