काठमाडौं, ११ साउन । प्रधानमन्त्री शेरबहादुर देउवाले आफ्नो दल नेपाली कांग्रेससहित चार दललाई समेटेर मन्त्रिपरिषद् विस्तार गरे । कांग्रेसबाट १०, माओवादीबाट ६, फोरम लोकतान्त्रिकबाट २ र नेकपा संयुक्तबाट एक जनासहित १९ जना मन्त्रीले बुधबार अपराह्न राष्ट्रपति विद्यादेवी भण्डारीबाट सपथ लिए । विस्तार भएसँगै देउवा सरकार तीन उप्रधानमन्त्रीसहित २७ सदस्यीय भएको छ । मन्त्रिपरिषद विस्तार भएपनि केहीलाई भने ‘बलिको बोको’ बनाउने काम भयो । पहिला मन्त्री बनाउछु भनेर अन्तिममा धोका दिइयो ।
प्रचण्डले श्रेष्ठलाई धोका दिए
आज भएको मन्त्रिपरिषद विस्तारमा नेकपा माओवादी केन्द्रले पुनः रामेछापलाई उपेक्षा गर्यो । रामेछापबाट प्रत्यक्ष निर्वाचित माओवादी सांसद श्यामकुमार श्रेष्ठले आफूमाथि धोका भएको भन्दै राज्यमन्त्री पद नै अस्वीकार गरे । पहिला मन्त्री बनाउने आश्वासन दिएर पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अहिले राज्यमन्त्री पठाउन खोजेको भन्दै सांसद श्रेष्ठले आपत्ति जनाउँदै पद अस्वीकार गरेका हुन् । माओवादीबाट आज सपथ लिएका ६ जना मन्त्रीमा उनको नाम थियो । तर, बीचमै एकाएक गायव भएर उनीमाथि धोका भयो । उनलाई फकाउन राज्यमन्त्रीको प्रस्ताव गरियो । तर, उनले अस्वीकार गरे ।
देउवाले जोशीलाई रुवाए
यता प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवाले मन्त्रीको सपथ खान ठिक्क परेका कांग्रेस सांसद अर्जुन जोशीलाई अन्तिम समयमा रोकेर रुवाएका छन् । सपथ खान दौरा सुरुवाल लगाएर तयार भएका जोशी आफ्नो नाम मन्त्रीको सूचीबाट हटाएको सुनेपछि भक्कानिदै आँसु झारेका हुन् । उनी त्यसपछि पार्टी नेतृत्वप्रति निराश छन् । कोइराला समूहका जोशी १३ औं महाधिवेशनमा देउवा समूहमा आएका थिए । उनले महाधिवेशनमा देउवालाई निकै सहयोग गरेका थिए । त्यसको बदलामा अहिले देउवाले धरधरी रुने अवस्थामा ल्याएर छाडिदिएको कांग्रेसीहरु बताउँछन् । जोशीलाई अन्तिम समयमा हटाएर देउवाले आफ्नै समूहका केन्द्रीय सदस्य महेन्द्र यादवलाई मन्त्री बनाइदिए । यता जोशीको भने अन्तिम समयमा मन्त्री पद खोसियो ।











प्रतिक्रिया