१० मंसिर २०८३, बिहिबार

तुहियो बाबुराम भट्टराईको योजना ! पार्टी एकीकरण तत्काल नहुने

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

– विमल योगी

काठमाडौं, ९ साउन । नयाँ शक्ति पार्टी नेपाल र संघीय समाजवादी फोरम नेपालबीचको पार्टी एकीकरणको प्रयास तत्कालका लागि तुहिने भएको छ ।

काठमाडौंको बबरमहलस्थित पार्टी मुख्यालयमा सोमबारदेखि सुरु भएको नयाँ शक्ति पार्टी नेपालको केन्द्रीय कार्यसमिति बैठकमा संयोजक बाबुराम भट्टराईले पेस गर्नुभएको ‘पार्टी स्थापनाको एक वर्ष : समीक्षा र आगामी कार्य योजना’ नामक दस्तावेजमाथि टिप्पणी गर्दै केन्द्रीय सदस्यहरू संघीय फोरमसँगको पार्टी एकता अस्वीकार गरिदिएका हुन् ।

बैठक उच्च स्रोतका अनुसार नयाँ शक्ति पार्टी र संघीय समाजवादी फोरमबीच तत्काल पार्टी एकीकरणको कुनै सम्भावना नरहेको भन्दै पार्टीमा छलफल नै नगरी एकताको कुरा चलाएको भन्दै संयोजक भट्टराईको आलोचना समेत भएको छ । उनीहरूले नयाँ शक्ति पार्टीलाई नै सांगठनिक रुपमा मजबुत बनाएर लैजान नेतृत्वलाई सुुझाव दिएका छन् ।

नयाँ शक्ति पार्टीका नेता परशुराम खापुङले संघीय समाजवादी पार्टीसँग आफूहरूको पार्टी एकीकरणको कुरा तत्काल हुने सम्भावना नरहेको बताउनुभयो । ‘पछि कुरा मिल्यो र पार्टी एकीकरण भयो भने अर्कै कुरा हो’, उहाँले भन्नुभयो, ‘तत्काल मैले पार्टी एकीकरण हुने सम्भावना देखेको छैन ।’ नेता खापुङले भन्नुभयो, ‘नयाँ शक्ति पार्टीलाई नै नयाँ उर्जा र योजनाका साथ अगाडि बढाउनु पर्छ ।’

सांसद गंगा चौधरीले बैठकमा स्थानीय तह निर्वाचनको समीक्षा, भावी कार्ययोजना, सांगठनिक सुदृढीकरणलगायतका विषयमा छलफल सुरु भएको जानकारी दिनुभयो । ‘अहिले चुनावको समीक्षा भएको छ’, उहाँले भन्नुभयो, ‘सबैले पार्टी संगठनलाई कसरी मजबुद बनाउन सकिन्छ भन्ने कुरामा नेतृत्वको ध्यानाकर्षण गराउनु भएको छ ।’

अर्का नेता पाशाङ शेर्पाले पनि पार्टीको आन्तरिक संगठनका विषयमा छलफल सुरु भएको जानकारी दिनुभयो ।

मंगलबार सम्पन्न हुने नयाँ शक्ति पार्टी नेपालले केन्द्रीय कार्यसमितिबाट साउन ११ र १२ गते काठमाडौंमा हुने आफ्नो संघीय परिषदको बैठकका लागि एजेण्डा तयार पार्नेछ ।