– सन्तोष यादब
सिरहा, ८ साउन । सिरहाको मिर्चैया नगरपालिकाको मुख्य राजमार्ग क्षेत्रको नाला निर्माणमा निर्माण व्यावसायीले हदैसम्मको कमसल काम गरिरहेका छन् ।
निर्माण व्यावसायीले नाला निर्माणको भूँई ढलान गर्दा ठेक्काको शर्त अनुसार फलामे छड राखेर ३ ईन्च आरसिसी गर्नुपर्ने ठाउँमा छड राख्दै नराखी तीन नम्बरको टुक्रा ईटा ओछयाएर दुई ईन्चमात्र ढलान गरेर नाला निर्माण गरिरहेका छन् । ४ सुता साईजको रड राख्नु पर्ने ठाउँमा २ र अढाई सुता साईजको छड राखिएको छ । सरकारी निर्माणको मापदण्ड अनुसार ओपिसी सिमेन्ट प्रयोग गर्नु पर्नेमा कम गुणस्तरको सिमेन्ट प्रयोग गरेका छन् ।
बालुवा, गिटी र सिमेन्टको मिक्चरमा ठेक्काको शर्त बमोजिम सिमेन्टको मात्रा मिसाईएको छैन । कम सिमेन्ट हालेर नालाको भित्ता ढलान गरिएको छ । डिजाईन र स्टिमेट अनुसार राजमार्गमा नाला सरल रेखा जस्तो सिधा हुनु पर्नेमा ठाउँ ठाउँमा बंग्याईएको छ ।
नाला निर्माण गर्दा ढलानमा हाल्नु पर्ने पानी समेत हालिएको छैन । कम गुणस्तरको मात्रा भन्दा ज्यादै कम सिमेन्ट प्रयोग भएको कारण नालाको ढलान गरिएको भित्ता हातका औलाले कोट्याउँदा उप्किन्छ । तरपनि सम्बन्धित निकाय कानमा तेल हालेर सुतेका छन् ।
नाला निर्माणको लागि जिल्ला समन्वय समिति सिरहावाट साईट ईन्चार्जको रुपमा प्रमोद नायक खटिएका छन् । तर उनकै सामुन्ने गुणस्तरहीन काम भइरहँदा पनि उनी केहि बोलेका छैन् । उनलाई हामीले अन द स्पट नाला निर्माणमा भएका कमजोरीहरु देखाउँदै सोध्यौ किन यस्तो भएको हो ? उनले जवाफमा कमजोरी भएको कुरा स्विकार गरे । तर गुणस्तर काम गर्न ठेकेदारलाई भन्न सकेका छैन् ।
साईट इन्चार्ज नायककै आँखा अगाडी २ नम्बर ईटा ओछ्याईएको देखाउँदा उनले भने– हिजोसम्म त थिएन आज ठेकेदारले झुक्याएर हाल्यो होला । त्यसैगरी कमअसल सिमेन्ट प्रयोग भएको देखायौं तर उनले फेरी भने हिजोसम्म त राम्रै सिमेन्ट हालेको थियो आज कमअसल ल्याएछ भनेर पन्छिने प्रयास गरे । यसरी पनि पटक पटक ठेकेदारको बचाउ गरेका छन् ।
समयमा काम भएन
ठेक्काको शर्त अनुसार असार मसान्तसम्ममा सम्पूर्ण निर्माण कार्य सम्पन्न भईसक्नु पर्ने हो तर साउनको पहिलो साता वित्दा पनि ठेकेदारले अन्दाजी १० प्रतिशत पनि काम सकेका छैन् । पहिलो बोलपत्र अनुसार ४ सय ६५ मिटर नाला निर्माण हुनु पर्नेमा २ सय तीस मिटर मात्र निर्माण कार्य संपन्न भएको छ । दोश्रो बोलपत्र अनुसारको ४ सय ६० मिटरको नालामा त हातै लगाईएको छैन ।
निर्माण पुरा नहुंदै ७५ प्रतिशत भुक्तानी
निर्माण कार्य आधा पनि संपन्न नभएपनि जिल्ला समन्वय समितिले ठेकेदारलाई करीव ७५ प्रतिशत भुक्तानी दिईसकेको छ । स्वयं सव–ईन्जिनीयर प्रमोद यादवले भुक्तानी दिईएको स्विकार गरेका छन् । भुक्तानी लिइसकेका कारण ठेक्केदार कमसल काम गरेर रकम झ्वाम पार्ने दाउमा छन् ।
निर्माण कार्य रोक्न आदेशलाई अटेर
जनतावाट कमअसल काम भईरहेको ज्यादै गुनासो आएको कारण जिल्ला समन्वय समितिले साउन ५ गतेवाट नै नाला नर्माणको काम रोक्न निर्माण व्यावसायीलाई आदेश दिएको थियो । तर मूल ठेकेदारवाट पेटी कन्ट्याक्टमा काम लिएर नाला निर्माण गराई रहेका ठेकेदार कमल मण्डलले कार्यालयको निर्देशन विपरीत निर्माण कार्य जारी राखेका छन् ।
पेटीदार ठेकेदार कमल मण्डललाई जिल्ला समन्वय समितिले कति कमिशन मागेको छ भनी प्रश्न गर्दा उनले हाँसेर टारेका छन् । हतारमा काम गर्नु परेकोले कतिपय ठाउँमा गल्ती भएको उनले स्विकार गरेका छन् । वर्षायाममा मिर्चैयाको राजमार्ग र वजार क्षेत्र डुवानमा पर्ने गर्छ । नाला निर्माणका लागि जताततै माटो खनेर खाल्टाखुल्टी बनाईएको छ । नाला निर्माण अधुरै छोडिएमा वर्षामा मिर्चैयाको दुर्दशा हुने निश्चित छ ।
प्रचण्डको बजेट
पूर्व प्रधानमन्त्री पुष्पकम दाहालको निर्वाचन क्षेत्र सिरहाको मिर्चैया नगरपालिकामा वर्षयाममा राजमार्ग समेत डुवानमा पर्ने गरेकोले प्रधानमन्त्री कोषवाट एक करोड र सांसद विकास पूर्वाधार विशेष कार्यक्रमवाट १ करोड गरी दुई करोडमा नाला निर्माणका लागि टेण्डर आह्वान हुँदा कमला निर्माण सेवा गोदार धनुषाले ठेक्का पारेका छ । ठेक्का पाएका कमला निर्माण सेवाबाट मिर्चैयाकै व्यावसायी कमल मण्डलले पेटी कन्ट्याक्टमा हाल नाला निर्माण गरिरहेका छन् ।














प्रतिक्रिया