काठमाडौं, ८ साउन । जुनियरलाई बढुवा गरेर सिनियरलाई पाखा लगाइएको भन्दै उजुरी परेपछि नेपाल प्रहरीको एआईजी, डिआईजी र एसएसपीको बढुवा प्रक्रिया लम्बिने भएको छ ।
बढुवा सिफारिसमा नपरेका डिआईजी मधुप्रसाद पुडासैनी, एसएसपी सुवासचन्द्र चौधरी र एसपी बिभूतिराज पाण्डेले पुनरावलोकन समितिमा उजुरी दिएका छन् । लोकसेवा आयोगले बढुवा सिफारिसमा परेका र नपरेका फाइल मगाएर छानविन गरेपछि मात्र बढुवा प्रक्रिया सुचारु हुनेछ ।
बढुवा सिफारिसमा छानविन हुँदा पुनरावलोकन गर्दा तलमाथि गरेको पाइएमा नाम फेरिन सक्छ । गृह मन्त्रालयले आफूखुसी दरबन्दी सिर्जना गरेर बढुवा गरेको भन्दै प्रहरीभित्र असन्तुष्टि बढेको छ ।
बरिष्ताका आधारमा मधु पुडासैनी, माधव नेपाल, पंकज श्रेष्ठ, गोविन्द निरौला, राधाकृष्ण देउजा अगाडि भए पनि उनीहरू बढुवा सिफारिसमा परेनन् । तर, रणबहादुर चन्द, बिजयकुमार भट्ट, विजयलाल कायस्थ जस्ता बद्ननाम पात्रहरू भने अटाएका छन् ।
आचरण र चरित्रको मामिलामा चन्द र कायस्थ बेला बेलामा बिबादमा आउने गरेको प्रहरी संगठनभित्र चर्चा हुने गरेको छ । कायस्थको त अख्तियारमा भ्रष्टचारको मुद्दा बिचराधिन छ । गृहमन्त्री जनार्दन शर्माले बाहिर हेर्दा बढुवामा पारदर्शिता अपनाएको देखिए पनि भित्री रुपमा बदनाम र शक्तिकेन्द्र धाउनेहरूलाई प्राथमिकतामा राखेर डिआईजीहरूको बढुवा सिफारिस गरेपछि विवाद बढेको हो ।
पुनरावलोकन समितिको अध्यक्षमा लोकसेवा आयोगका अध्यक्ष रहन्छन् । सदस्यमा मुख्य सचिव र कानून सचिव रहने व्यवस्था छ । समितिले कार्य सम्पादन मूल्यांकन, बरिष्ठता र आचरण लगायत सबै पक्ष हेर्नेछ ।
एसएसपीबाट डीआईजी सिफारिसमा आफूभन्दा दोस्रो ब्याचका सुरेश बिक्रम शाहलाई पारिएको भन्दै सुवासचन्द्र चौधरीले उजुरी गरेका छन् । सुरेश बिक्रम शाह गृहमन्त्री जनार्दन शर्माको जिल्लाबासी हुन् ।
मिडियामा स्टन्ट दिन माहिर मानिएका गृहमन्त्री शर्मा प्रहरी संगठनमा ठूला पदमा जथाभावी पदहरू सृजना गरेर अकुत कमाउ धन्दामा लागेको आरोप छ । तत्कालीन अर्थमन्त्री सुरेन्द्र पाण्डेले संसदमा बजेट भाषण गर्न अगाडि बढ्दै गरेका बेला यिनै जनार्दन शर्माले संसदभित्रै अभद्र व्यवहार देखाएका थिए । शर्माले मर्यादापालकहरूलाई तथानाम गाली समेत गरेका थिए ।
अहिले आएर झिना मसिना कुराको पछाडि लागेर गृहमन्त्री शर्माले प्रहरी संगठन कमजोर र भताभुङ्ग गराएको आरोप छ । यतिसम्मकी गृहमन्त्री शर्माले प्रहरी संगठनभित्र मच्चाएको बेथिती रोक्न प्रमुख प्रतिपक्ष दल एमालेले बेवास्ता गरेको भनेर आलोचना समेत हुन थालेको एक उच्च प्रहरी अधिकारीले बताए ।












प्रतिक्रिया