काठमाडौं, ८ साउन । सर्वोच्च अदालतले आन्तरिक राजश्व विभागका निलम्बित महानिर्देशक चूडामणि शर्माविरुद्ध विशेष अदालतमा दायर भ्रष्टाचार मुद्दाको मिसिल झिकाउने आदेश दिएको छ ।
शर्माकी पत्नीले दायर गरेको बन्दी प्रत्यक्षीकरण रिटमा आइतबार न्यायाधीशहरु दीपकराज जोशी, दिपककुमार कार्की, केदारप्रसाद चालिसे, सारदाप्रसाद घिमिरे र अनिलकुमार सिन्हाको पूर्ण इजलासमा भएको सुनुवाईले मिसिल झिकाउने फैसला गरेको हो ।
सर्वाेच्च अदालतका रजिष्ट्रार नहकुल सुवेदीका अनुसार मिसिल पठाउन विशेष अदालतलाई आदेश दिइएको हो ।
कर फछ्र्यौट आयोगमा बसेर अनियमितता गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले शर्मालाई नियन्त्रणमा लिएपछि उनकी पत्नीले सर्वाेच्चमा बन्दीप्रत्यक्षीकरण रिट दायर गरेकी थिइन् ।
त्यसलगत्तै अख्तियारले शर्माविरुद्ध विशेष अदालतमा १० अर्ब २ करोड बढी भ्रष्टाचारको मुद्दा दायर गरेको थियो । जसलाई सर्वाेच्चले यथास्थितीमा राख्नु भनेको थियो ।











प्रतिक्रिया