
काठमाडौं, ७ साउन । नेकपा माओवादी केन्द्रका ३९ सय जना केन्द्रीय नेताको पद खोसिएको छ ।
४ हजारको संख्यामा रहेको जम्बो केन्द्रिय समिति विघटन गरी ९९ सदस्यीय मात्रै बनाउने निर्णय भएपछि माओवादीका ३९ सय केन्द्रीय सदस्यको पद खोसिएको हो । माओवादीको शुक्रबार सकिएको केन्द्रीय सचिवालयको बैठकले भद्दा केन्द्रीय समितिले संगठन भद्रगोल भएको र स्थानीय चुनावमा पनि निर्णायक भुमिका खेल्न नसकेको निष्कर्ष निकाल्दै केन्द्रीय समिति विघटन गर्ने निर्णय गरेको हो ।
बैठकले २ अंकको चुस्त र व्यबस्थित केन्द्रिय समिति बनाउने निर्णय गरेको छ । साउन मसान्तभित्र सातवटै प्रदेशको भेला आयोजना गरी नयाँ केन्द्रीय समिति बनाउने माओवादीको तयारी छ ।
यसैगरी, माओवादीले प्रदेश नम्वर २ को चुनावी तयारीका लागि साउन १० गते अगुवा कार्यकर्ता भेला गर्ने निर्णय पनि गरेको छ ।
माओवादीले संघीय चुनावको प्रतिबद्धता पत्रको मस्यौदा बनाउन नारायणकाजी श्रेष्ठ प्रकाशको संयोजकत्वमा समिति बनाएको छ भने प्रदेश सभाको चुनावका लागि उम्मेदवार छनौट तथा सिफारिसका लागी रामबहादुर थापा बादलको संयोजकत्वमा समिति बनाएको छ ।
माओवादीले चुनावमा अन्तरघात गर्ने पार्टी नेता कार्यकर्तालाई कारबाही गर्ने निर्णय समेत गरेको छ ।











प्रतिक्रिया