१० मंसिर २०८३, बिहिबार

काँग्रेस नेता बाँस्तोलाको स्वास्थ्यमा सुधार

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, ७ साउन । नेपाली काँग्रेसका नेता चक्रप्रसाद बाँस्तोलाको स्वास्थ्यमा सुधार आएको छ । छातीमा समस्या देखिएपछि गत बिहीबार परिवारले उहाँलाई बाँसबारीस्थित न्यूरो अस्पतालमा उपचारका लागि भर्ना गरेका थिए ।

उपचारमा संलग्न चिकित्सक न्यूरोसर्जन डा प्रत्युष श्रेष्ठले उहाँलाई अस्पताल आएको दुई दिनपछि स्वास्थ्यमा गम्भीर समस्या देखिएकाले सघन कक्षमा भेन्टिलेटरमा राखी उपचार गरिएको जानकारी दिनुभयो ।

आज उहाँको छातीको एक्सरे, रगतमा अक्सिजन, कार्बनडाइक्साइडको मात्रा राम्रो आएको भएपछि अझै केही दिन उहाँलाई सघन कक्षमानै राखी निगारानी गर्नुपर्ने अस्पतालले जनाएको छ ।

विराटनगरमा भएको एक कार्यक्रममा सहभागी भइरहँदा २०६९ साल पुस १४ गते मस्तिष्कघात भएपछि नेता बाँस्तोला अहिलेसम्म अचेत अवस्थामा हुनुहुन्छ ।

उहाँकी श्रीमती कुसुम बाँस्तोलाले यसअघि गत चैतमा समस्या भएर अस्पताल ल्याई १५ दिन राखी उपचार गरी घर लगिएको बताउनुभयो ।

उहाँलाई सबै खाना पाइपबाटै खुवाउनुपर्छ । सबै खालका लिक्युइड ( तरल) बनाएर मात्र खुवाउने गरिएको छ । अहिलेकै अवस्थामा सुधार आइरहेमा सघन कक्षबाट वार्डमा राखी उपचार गर्न सकिने भए पनि प्रत्येक दिन चूनौतिपूर्ण भएकाले अहिले नै केही भन्न हतार हुने डा श्रेष्ठले बताउनुभयो ।

उहाँको स्वास्थ्य अवस्थाबारे जानकारी लिन आज बिहान नेपाली काँग्रेसका महामन्त्री डा शशाङ्क कोइराला पनि अस्पताल पुग्नुभएको उहाँका निजी सहयोगी राधाकृष्ण काफ्ले जानकारी दिनुभयो । रासस