भैरहवा, ६ साउन । अन्तरजातिय प्रेम गरेको भन्दै युवतीमाथि निर्घात कुटपीट गर्ने ५ जनाविरुद्ध ज्यान मार्ने उद्योगको मुद्दा दर्ता गरिएको छ । र, मर्चवारका प्रहरी प्रमुख इन्सपेक्टरमाथि विभागीय कारवाही थालिएको छ ।
रुपन्देहीको सम्मरीमाई गाउँपालिकामा तल्लो जातको युवकसँग प्रेम सम्बन्ध राखेको भन्दै युवतीमाथि परिवारका साथै आफन्त र गाउँलेले मिलेर निर्घात कुटपिट गरेको भिडियो र प्रेम गर्ने (पीडित) युवकसँग उल्टै एक लाख रुपैयाँ जरिवाना लिएको खबर बाहिरिएपछि रुपन्देही प्रहरीले घटनाको छानविन गर्दै कारवाही प्रक्रिया अगाडि बढाएको हो ।
रुपन्देहीका प्रहरी प्रमुख एसपी रवीन्द्र धानुकले घटनामा संलग्न युवतीका बुवा इन्नर यादवसहित ५ जनाविरुद्ध जिल्ला अदालतमा ज्यान मार्ने उद्योगमा मुद्दा दायर दायर गरी कारवाही प्रक्रिया अगाडि बढाइएको जानकारी दिए । उनका अनुसार घटना संलग्नहरुलाई उन्मुक्ति दिएको र घटनाबारे जिल्लामा जानकारी नगराई स्वच्छाचारी ढंगबाट चलेको अभियोगमा इलाका प्रहरी कार्यालय मर्चवारका प्रमुख इन्सपेक्टर उदयसिंह सिंजापतिमाथि विभागीय कारवाही थालिएको छ ।
ज्यान मुद्दा लागेका ४६ वर्षीय इन्नर यादव, १८ वर्षीय दिनेश यादव, ५५ वर्षीय लालमोहन अहिर यादव, लालमोहनकी श्रीमती र गाउँले युवक २५ वर्षीय पशुपति कोइरी हाल प्रहरी हिरासतमा छन् ।











प्रतिक्रिया