– विमल योगी
काठमाडौं, ६ साउन । राष्ट्रिय प्रजातन्त्र पार्टीले संविधान संशोधन र सरकारमा सहभागिताका विषयमा अन्तिम निर्णय गर्ने अधिकार केन्द्रीय कार्यसम्पादन समितिलाई जिम्मेवारी दिएको छ ।
काठमाडौंमा तीन दिनसम्म चलेर शुक्रबार सम्पन्न केन्द्रीय समिति बैठकले संविधान संशोधन र सरकारमा सहभागिताबारे उपयुक्त समयमा कार्यसम्पादन समितिले निर्णय गर्ने प्रस्ताव पारित गरेको हो । बैठकपछि आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष कमल थापाले संविधान संशोधनका विषयमा राप्रपा सकारात्मक र उदार रहेको बताउनुभयो ।
‘संविधान संशोधनका विषयमा राप्रपा उदार र सकारात्मक छ’, अध्यक्ष थापाले भन्नुभयो, ‘संशोधन र सरकारमा सहभागिताका विषयमा अन्तिम निर्णय कार्यसम्पादन समिति र संसदीय दलको बैठकले उपयुक्त समयमा उपयुक्त निर्णय गर्नेछ ।’
अध्यक्ष थापाले आफूहरूलाई सरकारमा सहभागिता जनाउनेबारेमा प्रधानमन्त्रीका तर्फबाट औपचारिक प्रस्ताव नआएको बताउनुभयो ।
‘हामीलाई सरकारमा सहभागी हुने भन्ने बारेमा प्रधानमन्त्रीका तर्फबाट कुनै पनि प्रस्ताव आएको छैन’, उहाँले भन्नुभयो, ‘प्रस्ताव आयो भने छलफल गरेर निर्णय लिने छौँ ।
केही दिन अगाडि प्रधानमन्त्री शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमला दाहाल, राप्रपाका वरिष्ठ नेता पशुपति शम्शेर राणा र आफूबीच भएको वार्तामा सरकारमा सहभागी हुन आग्रह गरेको अध्यक्ष थापाको भनाइ थियो । ‘त्यस बेला उपप्रधानमन्त्रीसहित चार मन्त्रालय दिन्छौँ भनेर भन्नुभएको थियो’, थापाले भन्नुभयो, ‘त्यसपछि कुनै पनि प्रस्ताव आएको छैन ।’
पार्टीभित्रको विवादका विषयमा उहाँले बाहिर हल्ला भएजस्तो कुनै पनि विवाद नरहेको बताउनुभयो । ‘पशुपति शम्शेर राणाज्यूसँग आजै बिहान मात्रै मैले कुरा गरेको छु । उहाँले अस्वस्थ्यताका कारण आउन नसकेको भन्नुभएको छ’, अध्यक्ष थापाले भन्नुभयो, ‘केही विवाद देखियो भने पनि हामी आपसी सहमतिमा समस्या समाधान गर्ने छौँ ।’
मधेसमा बिखण्डनकारी तत्वहरूले आफ्ना गतिविधि सक्रिय बनाएको भन्दै राप्रपाले त्यस्ता बिखण्डनकारीहरूलाई निस्क्रिय बनाउन सरकारसँग माग गरेको छ ।
राप्रपाले नेपाली नोटमा पृथ्वीनारायण शाहको तस्बिर राख्न माग गरेको छ ।













प्रतिक्रिया