
काठमाडौँ, ५ साउन । नेकपा (एमाले) निकट युवा सङ्घ नेपालका केहि पदाधिकारीले तत्काल महाधिवेशनको मिति तोक्न नेतृत्वसंग माग गरेको छ ।
प्रत्येक तीन/तीन वर्षमा हुने महाधिवेशन पाँच वर्ष पूरा हुन नलाग्दा पनि नभएपछि सङ्घका पाँच पदाधिकारीले आज प्रेस विज्ञप्ति जारी गर्दै महाधिवेशनको माग गरेका हुन् ।
सङ्घका उपाध्यक्षद्वय दिलुकुमारी पन्त, राजु गरुङ तथा सचिव नरेश शाही, क्रान्ति बुर्लाकोटी, हस्त शाही र मञ्जु यादवद्वारा जारी गरिएको विज्ञप्तिमा तत्काल महाधिवेशन गरी नयाँ नेतृत्व हस्तान्तरण गर्न माग गरेका छन् ।
“युवा सङ्घको महाधिवेशन तीन/तीन वर्षमा हुनुपर्ने हो तर पाँच वर्षसम्म पनि नहुनु दुःखद कुरा होे,”– विज्ञप्तिमा भनिएको छ –“त्यसैले तत्काल महाधिवेशनको मिति तोकियोस् ।”
उनीहरुले राज्यको पुनःसंरचनाअनुसार सङ्घको सांगठनिक संरचना गर्न र सङ्घको विधान संशोधन गर्न पनि माग गरेका छन् ।
सचिव नरेश शाहीले एक वर्षभित्र महाधिवेशन गर्न भनी अध्यक्ष बन्नुभएका राजीव पहारीले दुई वर्ष पूरा हुँदा पनि गर्न नसकेपछि महाधिवेशनको माग गरिएको हो भन्नुभयो ।
सङ्घको आठौँ महाधिवेशन विसं २०६९ फागुनमा बुटवलमा भएको थियो । विसं २०७१ मा महेश बस्नेत उद्योगमन्त्री भएपछि सङ्घको महाधिवेशन नभई केन्द्रीय बैठकबाट नै अध्यक्षसहित पदाधिकारी चयन हुँदै आएको छ ।
अध्यक्ष पहारीले केन्द्रीय कमिटीको बैठक राखी महाधिवेशन बोलाउनेबारे छलफल गरिने जानकारी गराउनुभयो । रासस











प्रतिक्रिया