– विमल योगी
काठमाडौं, ५ साउन । राष्ट्रिय प्रजातन्त्र पार्टीका केन्द्रीय सदस्यहरूले सरकारमा सहभागिता र संविधान संशोधनका विषयमा मिश्रित धारणा राखेका छन् ।
काठमाडौंमा दोस्रो दिन बसेको केन्द्रीय कार्यसमितिको बैठकमा धारणा राख्ने झण्डै ६० जना केन्द्रीय सदस्यहरूले पार्टीलाई हित हुन्छ भने सरकारमा जानु पर्ने अन्यथा जान नहुने धारणा राखेको सहायक महामन्त्री राजाराम बर्तौलाले जानकारी दिनुभयो ।
‘सबै नेताहरूको मिश्रित धारणा छ । कसैले सरकारमा जानु पर्छ भन्नुभएको छ । कसैले सरकारमा जानु हुँदैन भनेर सुझाव दिनु भएको छ’, बर्तौलाले भन्नुभयो, ‘संविधान संशोधनका विषयमा पनि राष्ट्रिय हितलाई ध्यान दिनुपर्ने सुझाव आएको छ ।’
केन्द्रीय सदस्यहरूले पार्टीभित्रको विवादलाई अन्त्य गर्नका लागि पनि सुझाव दिएका छन् । उनीहरूले अध्यक्ष कमल थापालाई पार्टी मिलाएर जानका लागि आग्रह गरेका हुन् ।
केन्द्रीय सदस्य बालाराम घर्ती मगरले बैठकमा केही वरिष्ठ नेताहरूलाई आफूले नदेख्दा पीडा भएको बताउनुभयो । अर्का केन्द्रीय सदस्य शयन्द्र बान्तवाले पनि पार्टीभित्रको विवादलाई अन्त्य गर्न नेतृत्वलाई सुझाव दिनुभयो ।
केन्द्रीय सदस्य किरण गिरीले जे निर्णय गरे पनि सामूहिक नेतृत्वका आधारमा गर्नुपर्ने भन्दै पार्टीको निर्णयलाई सबैले मान्नुपर्ने बताउनुभयो ।
केन्द्रीय सदस्य सगुन लावतीले स्थानीय तहको निर्वाचनमा पार्टीले भोगेको पराजयको जिम्मेवारी कसले लिने हो भनेर प्रश्न गर्नुभयो । ‘राप्रपाले स्थानीय तहको निर्वाचनमा किन पराजय भोग्यो ? यसको लेखाजोखा गर्नुपर्छ’, उहाँले भन्नुभयो, ‘त्यसको जिम्मेवारी नेतृत्वले लिनुपर्छ ।’
केन्द्रीय सदस्य अर्जुन राईले राप्रपालाई नेतृत्वका कारण गोरखा परिषदको अवस्थामा पुगाउने हो कि भनेर कार्यकर्ताले चिन्ता जनाएको बताउनुभयो । अर्का केन्द्रीय सदस्य पुष्पराज पुरुषले अध्यक्षलाई सरकारमा मन्त्री भएर नजान सुझाव दिनुभयो । ‘अध्यक्ष ज्यूले पार्टी चलाउने हो’, उहाँले भन्नुभयो, ‘सरकारमा अरुलाई नै पठाउँदा उपयुक्त हुन्छ ।’
केन्द्रीय सदस्य विजयकला राईले पार्टी छाडेर अर्को दल गठन गर्नु भएका डा.प्रकाशचन्द्र लोहनीलाई राप्रपामा फर्काउन माग गर्नुभयो । धारणा राख्ने अन्य केन्द्रीय सदस्यहरूले पार्टीलाई समावेशी, समानुपातिक र समावेशी बनाउन सुझाव दिएको सहायक महामन्त्री बर्तौलाले बताउनुभयो ।
राप्रपाको आजको बैठकमा वरिष्ठ नेता पशुपति शम्शेर राणासहितका केही नेता अनुपस्थित रहनु भएको थियो । राप्रपाको केन्द्रीय कार्यसमिति बैठक शुक्रबार दिउँसो निर्णयहरू सार्वजनिक गर्दै समापन हुनेछ ।












प्रतिक्रिया