
काठमाडौँ, ३१ असार । भारतीय दबाबपछि सरकारले तत्काल ‘क्लिन फिड’ नीति तत्काल नगर्ने भएको छ ।
नेपालस्थित भारतीय दूताबास, भारतीय केबुल संचालक र नेपाल केबल एशोशियनको दबाबपछि सरकार पछाडि हटेको हो । सूचना तथा सञ्चार मन्त्रालयबाट डाउनलिंक अनुमति लिई नेपालमा प्रसारण गरिने विदेशी टेलिभिजन च्यानलको प्रसारणमा साउन १ गतेदेखि ‘क्लिन फिड’ अर्थात विदेशी विज्ञापन हटाउने व्यवस्था लागू गर्न लागिएको थियो ।
मन्त्रालयका सहसचिव तथा प्रवक्ता रामचन्द्र ढकालले विज्ञापनरहित नीति, २०७३ मा उल्लेखित कतिपय कार्य सम्पादन गर्न बाँकी रहेको हुँदा तत्कालका लागि स्थगित गरिएको जानकारी दिए ।
‘विदेशी प्रसारण संस्थाको कार्यक्रम विज्ञापनरहित भएमा मात्र लाउनलिंक अनुमति दिने र सोको नवीकरण गरिने भएकाले विज्ञापनरहित च्यानलको मात्र डाउनलिंक अनुमतिपत्र दिने तथा नवीकरण गराउने’ भनी साउन २९ गते मन्त्रालयले सूचना जारी गरेको थियो ।
यसअघि नेपाल केबल टेलिभिजन महासंघ, नेपाल केबल टेलिभिजन व्यवसायी महासंघ र डिस होम नेपाललगायतका संघसंस्थाले संयुक्त विज्ञप्ति जारी गरी सरकारले लागू गर्ने तयारी गरेको (क्लीन फिड) नीति फिर्ता लिन माग गर्दै आएका छन् । ती सङ्घसंस्थाले ‘क्लिन फिड’ लागू गरे साउन १ गतेदेखि नेपालमा प्रसारण हुने सबै टेलिभिजन बन्द गर्ने धम्की समेत दिएका थिए ।
तर, भारतीय दूताबासको चलखेल र भारतीय केबुल संचालकको धम्कीपूर्ण विज्ञप्तिपछि सरकार हच्केको थियो । भारतीय टेलिभिजन संचालकले भारतीय टिभीको नेपालमा प्रशारण बन्द गर्ने चेतावनी दिएका थिए ।















प्रतिक्रिया