२१ कार्तिक २०८३, शनिबार

युनेस्को क्लब राष्ट्रिय महासंघको अधिवेशन असार ३१ गते हुने

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ३० असार । संयुक्त राष्ट्रसंघीय शैक्षिक, वैज्ञानिक तथा साँस्कृतिक सङ्गठन (युनेस्को) का निमित्त नेपाल राष्ट्रिय आयोगको साझेदार संस्थामध्ये एक युनेस्को क्लबहरूको राष्ट्रिय महासङ्घको महाधिवेशन असार ३१ गते राजधानीमा हुँदैछ । महासङ्घ युनेस्कोका आदर्शहरुलाई स्थानीय स्तरसम्म र्पुयाउन क्रियाशील सङ्घ, संस्थाहरुको छाता संगठन हो ।

सन् १९७२ जुनमा गठन भएको महासङ्घको निरन्तरता स्वरुप वि.सं. २०७२ साल चैत्र ३ गते आयोजित भेलाबाट महासंघको तदर्थ समिति गठन भएको थियो । विधान बमोजिम महासङ्घमा अध्यक्ष, २ जना मानार्थ अध्यक्ष र २६ जना सदस्य गरी २९ सदस्यीय कार्यसमिति रहने प्रावधान छ ।

महासङ्घका अध्यक्ष प्रा.डा. प्रेमनारायण अर्यालका अनुसार हाल नेपालमा करिब दुईसय युनेस्को क्लब तथा सङ्घ संस्थाहरु क्रियाशील छन् । तीमध्ये १५० भन्दा बढी संस्थाले महाधिवेशनमा प्रतिनिधित्व गर्नेछन् ।

महासङ्घ युनेस्कोको आदर्शअनुसार सामाजिक विकासका लागि क्रियाशील युनेस्को क्लब तथा संस्थाहरुलाई परिचालन र एकत्रित गर्दै संगठित रुपमा कार्य गर्न युनेस्कोका निमित्त नेपाल राष्ट्रिय आयोगबाट सम्बन्धन प्राप्त संस्था हो । आयोगको सचिवालयले ४ वर्षको लागि महासङ्घलाई सम्बन्धन दिने व्यवस्था छ ।

युनेस्को क्लबले के गर्छ ?

युनेस्कोका निमित्त नेपाल राष्ट्रिय आयोगका अनुसार युनेस्को क्लब तथा सङ्घ संस्थाहरुले निम्नानुसारका कार्य गर्दछन् :

स्थानीय युवालाई सङ्गठित गरी युवाको क्षमता विकास गर्ने तथा सिर्जनशिलता वृद्धि गर्ने, स्थानीय स्रोत र साधनको संरक्षण र सम्वद्र्धन गरी दिगो विकासलाई व्यवहारमा उतार्ने, मानव अधिकार प्रति समेत, सजग र सम्मान गर्ने व्यहारको विकास र प्रवद्र्धन गर्ने, स्थानीय समस्याको समाधानकालागि स्थानीय समुदायमा सहकार्यको संस्कारको विकास गर्ने, सामाजिक सौहार्दताको विकास र विस्तार गरी विकासका प्रतिफलमा समन्यायिक पहुँच सुनिश्चित गर्ने, युनेस्कोले सिर्जना गरेका अवसरहरूबाट स्थानीयस्तरको लाभ हासिल गर्नसक्ने अवस्था सुनिश्चित गर्ने ।

क्लबहरुको राष्ट्रिय महासङ्घ

महासङ्घ युनेस्कोका निमित्त नेपाल राष्ट्रिय आयोगको प्रमुख साझेदार संस्थाको रुपमा कार्य गर्ने संस्था हो । यसले सचिवालयबाट सम्बन्धन प्राप्त देशभरिका युनेस्को क्लब तथा संस्थाहरूको नेतृत्व गर्दछ । अन्तर्गतका संस्थाहरुलाई विधिवत महासङ्घको सदस्यता प्रदान गर्ने, सदस्य संस्थाहरुको विकासका कार्यक्रमहरु सञ्चालन गर्ने, महासङ्घहरूको क्षेत्रीय र अन्तर्राष्ट्रियस्तरमा आयोजना हुने बैठक वा सम्मेलनमा युनेस्कोको निमित्त राष्ट्रिय आयोगको स्वीकृति अनुसार भाग लिने तथा प्रतिनिधि आयोगमा सिफारिस गर्ने, युनेस्को क्लब तथा संस्थाहरूको अनुगमन गर्ने, प्रतिवेदन लिने, पुरस्कार र कारबाहीका लागि युनेस्कोका निमित्त आयोगमा सिफारिस गर्ने, युनेस्को क्लब तथा संस्थाहरूबाट युनेस्को विषय क्षेत्रमा परियोजना प्रस्ताव प्राप्त गर्ने, परियोजना सञ्चालनका लागि आर्थिक तथा प्राविधिक सहयोग प्रदान गर्ने युनेस्कोका निमित्त नेपाल राष्ट्रिय आयोगमा सिफारिस गर्ने आदि कार्य गर्दछ ।

संयुक्त राष्ट्रसंघीय शैक्षिक, वैज्ञानिक तथा साँस्कृतिक सङ्गठन (युनेस्को) संयुक्त राष्ट्र सङ्घको एउटा विशिष्ट सङ्गठन हो । हाल यसका सदस्य राष्ट्रहरू १९६ पुगेका छन् । नेपाल सन् १९५३ देखि युनेस्कोको सदस्य भएको हो । युनेस्कोका निमित्त नेपाल राष्ट्रिय आयोगले सन् १९५४ देखि युनेस्कोको निमित्त अन्तरिम आयोगको रूपमा काम गर्न थालेको थियो । यसको एउटा छुट्टै सचिवालय शिक्षा मन्त्रालय अन्तर्गत रहेको छ । आयोगको अध्यक्ष शिक्षामन्त्री रहने व्यवस्था छ ।

विगतमा महासङ्घमा विवाद भई फुटको स्थितिबाट गुज्रिएकोमा सचिवालयले एकभन्दा बढी महासङ्घलाई सम्बन्धन नदिने भएकाले एकीकृत महासङ्घ बनाउन दबाब परेको हो । महाधिवेशनको अवसरमा आयोजित पत्रकार सम्मेलनमा उपस्थित महासङ्घका पूर्व पदाधिकारीहरुले युनेस्को आबद्ध संस्थामा विवाद हुनु दुर्भाग्यपूर्ण भएको बताउँदै आगामी दिनमा एकढिक्का भई अघि बढ्ने विश्वास व्यक्त गरे ।