– सन्तोष यादब
सिरहा, २९ असार । जिल्लाको धनगढीमाई नगरपालिका वडा नं. ८ महुआडाँडामा विगत ५ वर्ष देखि नेपाल सरकारको कुनै पनि निकायवाट ईजाजत नै नलिईकन ९ वटा ग्राभेल खानी संचालन भईरहेको छ । जसको कारण एकातिर वरपरका मानव वस्तिहरु विस्थापित हुने स्थितिमा पुगेका छन् भने अर्को तिर वार्षिक अर्वौ अर्व रुपैया राजस्व छली तथा अपचलन भईरहेको छ ।
खानी संचालकहरुले दैनिक हजारौं ट्रिपर ग्राभेल निकासी गरिरहेका छन् तर नेपाल सरकारलाई तिर्नु पर्ने राजस्व चुनदाम पनि तिरेका छनैनन् । ९ वटा खानी मध्ये २ वटा खानी संचालकले जिल्ला समन्वय समिति सिरहासंग ईजाजत लिएका छन् तर ईजाजत पत्रमा उल्लेख भएको भन्दा १० गुणा बढी क्षेत्रफलमा खानी फैलाएर राजस्व छली गरिरहेका छन् । ईजाजत नलिएका ७ वटा खानीले विगत ५ वर्ष देखि लाखौ ट्रिपर ग्राभेल निकासी गरेपनि अहिलेसम्म एक रुपैया पनि राजस्व तिरेका छैनन् ।
एकातिर वार्षिक रुपमा अर्वौ अर्व राजस्व छलि र अपचलन भईरहेको छ तर ग्राभेल खानीको कारण जिल्ला समन्वय समिति सिरहा, जिल्ला प्रसाशन कार्यालय तथा सुरक्षा निकायका अधिकारीहरुलाई भने सिरहा लुटको स्वर्ग सावित भएको छ । ईजाजत समेत नलिएका तथा ईजाजत लिएर पनि मापदण्ड मिचेर संचालन गरिएका ग्राभेल खानीहरुले मासिक २५ लाख महिनावारी रकम उठाएर स्थानीय विकास अधिकारी लगायतका अनुगमन गर्ने निकायका अधिकारीहरुलाई बुझाउने गरेका छन् ।
ग्राभेल खानीवाट अवैद्य रुपमा उठती रकम भाग शान्ति लगाएर जिल्ला स्थित अधिकारीहरु खाने गर्छन् । त्यसकारण खानी पिडित स्थानीय जनता गुनासो गर्न गए पनि कसैको गुनासो सुनिदैन । खानी संचालकहरुले गुण्डा पालेर राखेका छन् । गाउँमा कसैले खानीको विरुद्ध बोल्नसाथ उनलाई धम्की र डर त्रास देखाईन्छ । तर प्रशासन केहि बोल्न सक्दैन् ।
खानीको असर र प्रभावले गर्दा महुआडाँडा र कसहा गाउँ यतिवेला विस्थापित हुने अवस्थामा पुगेको छ । गाउँको चारै तिर अवैद्य रुपमा संचालित ग्रभेल खानीहरुले वडेमाको खाल्टै खाल्टो बनाई दिएको छ । खानी संचालकहरुले गाउँलेका आँगनको डीलसम्म खनेका छन् । गाउँका दर्जनौ चौपाया खानीले बनाएको खाडलमा लडेर मरिसके । गाउँलेहरुमा बालवच्चा खाडलमा लडेर मर्लान भन्ने पीर छ । खानीको प्रभावले गाउँका खानेपानीका साधनहरु ईनार तथा ट्युववेल सुकेका छन् । खानी संचालकहरुले गाउँमा पस्ने बाटो समेत खनेर भत्काई दिएका छन् ।
विहान, दिउँसो राती हरघडी सैकडौ ट्रिपर ओहोर दोहर गरिरहन्छ । दर्जनौ स्काभेटर आडै प्रहर चलिरहन्छ । गाउँमा जुनवेला पनि कोलाहल हुन्छ । ट्रिपरले उडाएको धुलोमा निस्सासिएर गाउँलेहरु बाँच्न विवश छन् । नेपालको संविधान र कानूनले वातावरणीय न्यायको प्रत्याभूति गरेको छ तर बाहुवली डनहरुको पैसा र तागतका अगाडी महुआडाँडावासी गाउँलेहरु निरीह बन्नु परेको छ ।
अवैद्य रुपमा संचालित ९ वटा ग्राभेल खानीले महुआडाँडा र कसहा गाउँ वरिपरी करीव १० वर्गकिलोमिटर क्षेत्रमा २० देखि ३० मिटर गहिरो खाडल बनाई सकेको छ । पूर्व पश्चिम महेन्द्र राजमार्गको दायाँ र वाँया दुवैतिर खनेर कृत्रिम नदी नै निर्माण गरिदिएका छन् । ठुलो वर्षा भयो भने यहाँ राजमार्ग नै बगाउने खतरा उत्पनन भएको छ ।
जिल्ला समन्वय समिति सिरहाले दिएको ईजाजत मापदण्डमा ७ मिटर भन्दा बढी गहिराई खन्न नपाईने उल्लेख छ तर खानी संचालकहरुले २५ मिटरसम्म गहिरो खनेका छन् । ईजाजत लिएका जम्मा २ वटा खानी रहेका छन् तर उनीहरुले पनि ईजाजत पत्रमा लेखिएको भन्दा १० गुणा बढी क्षेत्रफलमा खानी फैलाएका छन् । समग्रमा हेर्दा ग्राभेल खानीहरुले यस क्षेत्रमा ठुलै वातावरणीय क्षति पुरयाएका छन् ।
जिल्ला सम्न्वय समिति सिरहाका राजस्व शाखा प्रमुख महेन्द्र यादवसंग अवैध रुपमा खानी कसरी संचालन भईरहेको छ भनी प्रश्न गर्दा उनी भन्छन् यो जिल्ला समन्वय समितिको मात्र सरोकारको विषय होईन अन्य निकायले पनि सरोकार राखनु पर्छ ।
जिल्ला समन्वय समिति सिरहाका स्थानीय विकास अधिकारी सुरेश कुमार राउतलाई ५ वर्ष देखि अवैध रुपमा संचालित ९ वटा ग्राभेल खानीवारे सोध्दा उनी केही थाहा नभएको बताउँछन् र अव उप्रान्त अनुगमन गर्ने भन्छन् । जवकी जिल्ला समन्वय समिति सिरहामा मासिक रुपमा नजराना वापतको रकम पुग्छ र बाँडिचुडी हुन्छ । अवैध ग्राभेल खानी संचालन गर्न दिएबापत उठ्ने रकमबाटै स्थानीय विकास अधिकारी राउत यो आर्थिक बर्षमै करिब एक करोड कमाएको स्रोतको दावी छ ।















प्रतिक्रिया