३१ आश्विन २०८३, शनिबार

लमजुङमा अल्लो उद्यमतर्फ आकर्षण बढ्दै

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बेँसीसहर, २९ असार । जङ्गलमा पाइने अल्लो आयआर्जनको भरपर्दो स्रोत बन्न थालेको छ ।

उच्च पहाडी क्षेत्रमा पाइने अल्लो लोकप्रिय बन्दै गएपछि व्यावसायिक उत्पादनतर्फ आर्कषण बढेको छ । गुरुङ समुदायले भाङ्ग्रालगायत सामग्री बनाउन मात्र प्रयोग गर्ने अल्लोको पछिल्ला दिनमा व्यावसायिक उत्पादन हुन थालेको छ ।

अल्लोबाट पछिल्लो समय झोला, गलबन्दी, जुत्ता, चप्पल, कोट, पाइन्ट, टाईलगायत सामान बनाउने गरिएको छ । जिल्लाका सिउरुङ, घलेगाउँ, भुजुङ, गौँडा, घेर्मुलगायत ठाउँमा अल्लो प्रसस्त पाइन्छ । यी गाउँमा घुम्न आउने पर्यटकलाई अल्लोबाट उत्पादित सामान बिक्री गरी स्थानीयले आम्दानी गर्दै आएका छन् ।

“गाउँमा आएपछि पाहुनाले गाउँको विशेष चिनो के हो भन्छन्” सिउरुङका पर्यटन व्यवसायी उमर गुरुङ भन्नुहुन्छ, “हामीले अल्लोको सामग्री चिनो स्वरुप दिने गरेका छौँ ।”

तर पछिल्लो समय सदरमुकाममा बस्दै आएका केही उद्यमीले व्यावसायिक रुपमा अल्लो प्रशोधन गरी मनग्य आम्दानी गर्न थालेका छन् ।

चर्खा, तानलगायत औजार खरिद गरी व्यावसायिक रुपमा अल्लोको सामग्री उत्पादन गर्ने गरेका छन् । आफूले जानेको सीपबाट सामान्य उत्पादन गर्दासमेत भ्याइनभ्याइ भएको उद्यमी पार्वती गुरुङ बताउनुहुन्छ । क्षमता अभिवृद्धि र सामूहिक लगानी बढाउन सके अल्लोबाट उत्पादित सामग्रीले अन्तर्राष्ट्रिय बजार पाउने उहाँको विश्वास छ ।

“आफ्नै पहुँचमा काठमाडौँ, पोखरालगायत शहरमा अल्लोको सामग्री निर्यात गर्ने गरेको छु” गुरुङ भन्नुहुन्छ “यसलाई संस्थागत गर्न सके राम्रो सम्भावना छ ।” मागअनुसार अल्लोको सामग्री उत्पादन गर्न नसकिएको अल्लो उद्यमी विष्णु गुरुङले बताउनुहुन्छ । आफूले व्यवसायबाट राम्रो आम्दानी गरे पनि भनेजस्तै व्यावसायिक हुन नसकेको उहाँको भनाइ छ ।

“अल्लो प्रशोधनलाई भनेजस्तै व्यावसायिक बनाउन सकिएको छैन” गुरुङले भन्नुभयो “अल्लोको उत्पादनलाई संस्थागत पहलमा व्यावसायिक बनाउन र प्रवद्र्धन गर्नसके पर्याप्त आम्दानी गर्न सकिन्छ ।”

अल्लोको कपडा स्थानीय बजारमा प्रतिमिटर रु एक हजार २५० पर्छ । घरको काम भ्याएर पनि स्थानीय महिलाले मासिक रु १५ हजारभन्दा बढी आम्दानी गर्ने गरेका छन् । गाउँमा उत्पादित अल्लोका सामग्री बजार पुग्न नपाउँदै बिक्री हुने व्यवसायीको भनाइ छ ।

अल्लोको राम्रो सम्भावना भएकाले लमजुङ उद्योग वाणिज्य सङ्घले एक गाउँ एक उत्पादनअन्तर्गत अल्लो छनोट गरेको हो । स्रोत सम्भाव्यतालाई पुनः अध्ययन गरी तयारीका साथ व्यावसायिक अल्लो प्रवद्र्धन गर्ने सङ्घका अध्यक्ष राजेश थापाले बताउनुभयो ।

विदेशी बजारलाई लक्षित गरी अल्लो प्रवद्र्धन कार्यक्रम ल्याउने उहाँको भनाइ छ । गाउँघरमा त्यतिकै खेर गएको अल्लोलाई प्रशोधन गरी उद्योग नै सञ्चालन गर्न सके रोजगार सिर्जना हुने व्यवसायी बताउँछन् । रासस