१५ कार्तिक २०८३, आइतबार

अन्तर्घातको रोगले कांग्रेसमा रडाको, किल्लामै केन्द्रीय नेताको षड्यन्त्र (नामसहित)

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

फाइल तस्बिर

काठमाडौं, २२ असार । ‘मलाई दुश्मनसँग डर छैन, मेरै आफ्नासँग बचाउ भगवान’ यो उखान यति बेला नेपाली कांग्रेसभित्र खुबै चर्चा हुने गरेको छ ।

स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेसका ‘किल्ला’का रुपमा रहेका स्थानमा पराजय हुनु त्यसैको परिणाम हो । अर्थात नेपाली कांग्रेसभित्र ‘अन्तर्घात’को ठूलो षड्यन्त्र हो । यूनाइटेड पोष्ट साप्ताहिकले समाचार छापेको छ ।

दाङ, डडेलुधरा, गुल्मी, कास्की र रुपन्देही जिल्लामा सबैभन्दा धेरै अन्तर्घात भएको कांग्रेसभित्र चर्चा हुन थालेको छ । दाङ जिल्लामा प्रभावशाली नेता खुमबहादुर खड्का निकट रहेर कुनै बेला अकुत सम्पत्ति कमाएकाहरू नै कांग्रेसका उम्मेदवारहरू हराउन सक्रिय भए ।

उनीहरूले घोराही उपमहानगरपालिकाको वडा नं. १७ मा मतदान केन्द्रको बाहिरै एमालेका उम्मेदवारहरूलाई सूर्य चिन्हमा मतदान गरेर आक्रोश देखाएका छन् ।

कुनै बेला तिनै खुमबहादुरले राजनीतिक संरक्षण दिएका नेताहरूले गरेको बगावतको दाङ कांग्रेसले समीक्षा गर्नुपर्ने बेला भएको छ । त्यति मात्रै होइन, सांसद र मन्त्री भइसकेका नेताहरू पनि कांग्रेसका उम्मेदवारहरूलाई हराउन लागे । त्यसको असर नेपाली कांग्रेसलाई परेको छ । यसको मूल्य लामो समयसम्म परिरहनेछ ।

गुल्मी, डडेलधुरा, कास्की र रुपन्देहीमा पनि ठूलो अन्तर्घात भएको छ । त्यसको प्रत्यक्ष प्रमाणहरू सबैका सामु छन् । वडामा कांग्रेसका उम्मेदवारहरूले जितेका छन् । तर, मेयर र उपमेयर तथा अध्यक्ष र उपाध्यक्षमा पराजित भएका छन् । त्यो पनि झिनो मतअन्तरले ।

अब नेपाली कांग्रेसले त्यस्ता आत्मघाती गतिविधि गर्ने नेता तथा कार्यकर्तालाई पार्टीभित्र राख्ने कि संरक्षण दिने विचरणीय कुरा भएको छ । त्यति मात्रै होइन वरिष्ठ नेता रामचन्द्र पौडेल समूह पनि कांग्रेसका उम्मेदवारहरू हराउन टुप्पी कसेर लाग्यो ।

६०–४० को भागबण्डा अन्त्यको नारा लिएर १३औँ महाधिवेशनमा सभापतिमा उम्मेदवारी दिएका पौडेल अहिले गुटको राजनीतिमा सक्रिय छन् । आफ्नै कांग्रेसी उम्मेदवार हराउन सक्रिय रहेको कांग्रेसी नेताहरू आरोप लगाउँछन् ।

अन्तर्घातको शिकार दोस्रो चरणमा मात्रै भएन । पहिलो चरणको निर्वाचनका बेला ठूलै रुपमा भएको थियो । गगन थापा समूहले काठमाडौं महानगरपालिकाका मेयरलाई हराउन भित्रभित्र आफ्ना ‘सेनाबेना’ परिचालन गरे । यतिसम्मकी अन्तर्घात गर्नका लागि एमालेका विद्यासुन्दर शाक्यसँग ठूलो धनराशी लिएको आरोप पनि छ ।

१ नं. प्रदेशमा भने कांग्रेसभित्र धेरै अन्तर्घात भएको देखिन्न । झापा, मोरङ र सुनसरीमा केही रुपमा अन्तर्घातको गन्ध आए पनि त्यसको खासै असर नरहेको बताइन्छ । मोरङ बाहेक अन्य जिल्लाहरूमा कांग्रेसको संगठन कमजोर रहेको बताउने गरिन्छ । एमालेभन्दा कांग्रेसका उम्मेदवार निकै थोरै जितको तथ्याङ्कले देखाएको छ ।

तर, ५ र ७ नम्बर प्रदेशमा कांग्रेसले एमालेले भन्दा धेरै मत ल्याउँदा पनि धेरै स्थानमा झिनो मतअन्तरले उम्मेदवारहरू पराजित भएका छन् । यसले गर्दा कांग्रेसलाई जनताले अझै पनि विश्वास गरेका छन् भन्ने देखाएको छ । कांग्रेस पराजय हुनु भनेको जनताले नरुचाएर होइन कि कांग्रेसभित्रकै लडाइँले हो ।

स्थानीय तहको निर्वाचनमा अन्तर्घात गरेर आफ्नै उम्मेदवारलाई हराउने ती नेताहरू पनि निर्वाचनमा पक्कै प्रतिस्पर्धामा उत्रने छन् ।

स्थानीय तहको क्रियाकलापले उनीहरूको राजनीति पनि सुरक्षित छैन भन्ने संकेत प्रष्ट देखिएको छ । वामपन्थीलाई सहयोग गर्ने अन्तर्घातीलाई कांग्रेसमा राखिरहनु हुँदैन भनेर चर्को आवाज उठेको छ ।