१५ कार्तिक २०८३, आइतबार

‘एनजीओ’को कार्यक्रममा देउवालाई कसले पठायो ? आरजुतिर उठ्यो औँलो

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


काठमाडौं, २२ असार । बीस वर्ष अगाडि स्थानीय तहको निर्वाचनमा राज्य सत्ताको दुरुपयोग गरेर ७० प्रतिशत स्थानीय निकाय जितेको नेकपा एमाले अहिले आएर कांग्रेसभन्दा केहीमाथि गएको छ ।

त्यस बेला कांग्रेसले जम्मा २५ प्रतिशत मात्रै जितेको थियो । अहिले कांग्रेसभन्दा एमाले थोरै सिट अगाडि छ । एमालेले यो कुरा राम्रोसँग बुझेको छ । यूनाइटेड पोष्ट साप्ताहिकले समाचार छापेको छ ।

कांग्रेसले जितेका स्थानीय तहको डाह गर्दै आएको एमाले र त्यसका नेताहरू मानमर्दनमा उत्रिएका छन् । एमालेका नेता तथा कार्यकर्ताहरुले सामाजिक सञ्जाल होस् वा आफू निकटका सञ्चारमाध्यम सबैमा कांग्रेस र कांग्रेसी नेताहरूको मान मर्दन गर्दै आएका छन् ।

बेलायतबाट पैसा लिएर नेपालमा कार्यक्रम चलाउँदै आएको ‘साझा सवाल’ नामक ‘एनजीओ’ले प्रधानमन्त्री एवम् कांग्रेस सभापति शेरबहादुर देउवाको मानमर्दन गरेको छ । ‘साझा सवाल’ले प्रायोजित रुपमा देउवालाई प्रश्न सोध्न लगाएर बद्नाम गराएको आरोप छ ।

सञ्चारमाध्यममा बोलाएर एमालेका अध्यक्ष केपी ओलीलाई नायक र देउवालाई खलनायक बनाउने गरी सोधिएका प्रश्नले ठूलो प्रश्न उब्जाएको छ । साथै देउवालाई एनजीओको कार्यक्रममा लैजान सल्लाह दिने सल्लाहकारहरूको भूमिकाप्रति पनि ठूलो प्रश्न उब्जिएको छ ।

प्रधानमन्त्री जस्तो व्यक्ति एनजिओको कार्यक्रममा गएर बोल्नु हुँदैन थियो । यो कुरा देउवालाई थाहा नभए पनि उनका सल्लाहकार र निजी सचिवालयमा रहेकाले किन सोचेनन् भनेर खोजी हुन थालेको छ । कांग्रेस र कांग्रेसका सभापति एवम् प्रधानमन्त्री देउवालाई बद्नाम गराउनकै लागि बेलायतले भूमिका खेलेको पनि आरोप लागेको छ ।

हुन त यसअघि बेलायतकै सहयोगको डिएफआइडीले नेपालमा क्रिश्चियन मूभमेन्ट अगाडि बढाउन जनजातिहरूलाई प्रयोग गर्दै आएको थियो ।

यो कुरा बुझेपछि नेपाल आदिवासी जनजाति महासंघका अध्यक्ष राजकुमार लेखीले डिएफआईडीको भित्री रहस्य बाहिर ल्याएर नाङ्गेझार बनाई दिएका थिए । त्यसबेला देखि बेलायत नेपालसँग रिसाउँदै आएको छ ।

स्रोतका अनुसार देउवाकी पत्नी आरजुलाई प्रयोग गरेर ‘साझा सवाल’ नामक बेलायती एनजीओको कार्यक्रम लगिएको थियो । आरजुस्वयं पनि पश्चिमा राष्ट्रहरूको पैसा लिएर थुप्रै एनजीओ र आइएनजीओ चलाउँदै आएकी छिन् ।

त्यही भएर निजी सचिवालयलाई चुस्त राख्न देउवालाई सुझाव आउन थालेको छ । देउवाले पनि पैसामा बिक्ने र जनआधार नभएकालाई आफ्नो सचिवालयमा राख्न नहुने कांग्रेसीहरु नै बताउँछन् ।

सहज पहुँच हुने र बुझेका व्यक्तिलाई सचिवालयमा राख्नुपर्छ भन्ने कुरा ‘साझा सवाल’ जस्तो एनजीओको कार्यशैलीले सचेत गराएको हुनुपर्छ ।

एमालेका नेताहरूले अहिले सबैभन्दा ठूलो दुश्मन नेपाली कांग्रेसलाई ठानेका छन् । तर, कांग्रेसले यो विषयलाई खासै महत्वका साथ लिएको देखिँदैन । एमालेका नेताहरूले आफू निकटका सञ्चारमाध्यमलाई प्रयोग गरेर आफ्नो गुणगान गाउन लगाउने तर, कांग्रेसलाई बद्नाम गराउने कार्यमा लागेको कांग्रेस भित्र चर्चाको विषय बनेको छ ।