१५ कार्तिक २०८३, आइतबार

दोस्रो चरणका ‘हाई प्रोफाइल’ मतदाता

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १५ असार । प्रधानमन्त्री शेरबहादुर देउवाले डडेल्धुराको गन्यापधुरा गाउँपालिका–१ स्थित असीग्राम उच्च माविको मतदान केन्द्रमा मतदान गर्नुभएको छ ।

चुनावका लागि प्रधानमन्त्री छ दिनअघि नै गृहजिल्ला पुग्नुभएको थियो ।  प्रधानमन्त्री पत्नी आरजु राणाले पनि सोही मतदान केन्द्रमा मत दिनुभएको छ ।  गोरखापत्र दैनिकले समाचार छापेको छ ।

सभामुख ओनसरी घर्तीले रोल्पाको लिवाङ नगरपालिका–७ मा रहेको बालउदय मावि मतदान केन्द्रबाट मतदान गर्नुभएको छ ।  उहाँका पछि माओवादी केन्द्रका नेता वर्षमान पुनले पनि सोही मतदान केन्द्रमा मत खसाल्नुभएको छ ।

उपप्रधानमन्त्री कृष्णबहादुर महराले रोल्पा नगरपालिका–१, दामरुकको तारा माध्यमिक विद्यालय केन्द्रबाट मतदान गर्नुभएको छ ।  अर्का उपप्रधानमन्त्री विजयकुमार गच्छदारले सुनसरीको दुहबी नगरपालिका–२ स्थित नवीन शिक्षा निकेतन आधारभूत विद्यालय केन्द्रबाट मतदान गर्नुभएको छ ।

पूर्वप्रधानमन्त्री एवं एमाले वरिष्ठ नेता झलनाथ खनालले इलामको सूर्योदय नगरपालिका–९ स्थित राष्ट्रिय आधारभूत माध्यमिक विद्यालय केन्द्रमा मतदान गर्नुभएको छ ।  एमाले उपाध्यक्ष वामदेव गौतमले बर्दियाको बाँसगढी–८ स्थित त्रिभुवन उच्च मावि मतदान केन्द्रबाट मतदान गर्नुभएको छ ।

एमालेकै अर्का उपाध्यक्ष भीम रावलले अछामको साँफेबगर नगरपालिका–६, स्थित चन्द्रोदय आधारभूत विद्यालय केन्द्रबाट मतदान गर्नुभएको छ ।  पूर्वसभामुख सुवासचन्द्र नेम्बाङले इलाम नगरपालिका–७ सुन्तलाबारीस्थित बालमन्दिर आधारभूत विद्यालय केन्द्रबाट मतदान गनुभएको छ ।

सङ्घीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले विराटनगरको डिग्री क्याम्पसबाट मतदान गर्नुभएको हो ।  काँग्रेस नेता कृष्णप्रसाद सिटौलाले झापाको भद्रपुर नगरपालिका–१०, कलवलगुडी केन्द्रबाट मतदान गर्नुभएको छ ।

दोस्रो चरणको निर्वाचनको एकमात्र महानगर विराटनगरमा दलका वरिष्ठ नेता र पूर्वमन्त्रीले मतदान गर्नुभएको छ ।  काँग्रेस नेता शेखर कोइराला, सुजाता कोइरालाले विराटनगर महानगरपालिका–७ मा रहेको आदर्श स्कुल केन्द्रबाट मतदान गर्नुभएको छ ।  महानगरका मतदातामा पूर्वमन्त्रीहरू महेश आचार्य, मीनेन्द्र रिजाल, लालबाबु पण्डित लगायतका नेताहरू हुनुहुन्छ ।

राष्ट्रिय जनता पार्टी (राजपा) नेपालको अनुपस्थितिमा छिटफुट घटनाबाहेक शान्तिपूर्ण रूपमा प्रदेश १, ५ र ७ मा बुधबार निर्वाचन सम्पन्न भयो ।  बाँकी रहेको प्रदेश नम्बर २ का आठ जिल्लामा रहेका स्थानीय तहमा आउँदो असोज २ गते निर्वाचन हुनेछ ।

दुई दशकपछि वैशाख ३१ गते ३४ जिल्लाका २८३ स्थानीय तहमा निर्वाचन सम्पन्न भएको थियो ।  भरतपुर महानगरपालिकाबाहेक मतदान भएका सम्पूर्ण स्थानीय तहका जनप्रतिनिधिले दैनिक प्रशासन सुरु गरिसकेका छन् ।