काठमाडौं, ११ असार । १४ असारमा हुने दोस्रो चरण सथानीय तह निर्वाचनमा ८० वर्ष उमेर नाघेका ५१ जना ज्येष्ठ नागरिक चुनावी मैदानमा होमिएका छन् ।
उनीहरूमध्ये तीनजना नगरपालिका प्रमुख, दुईजना गाउँपालिका अध्यक्ष, १६ जना वडाध्यक्ष तथा २९ जना वडा सदस्य, महिला वडा सदस्य र दलित वडा सदस्य पदका लागि प्रतिस्पर्धामा रहेको निर्वाचन आयोगले जनाएको छ । राजधानी दैनिकले समाचार छापेको छ ।
आयोगका अनुसार ज्येष्ठ उम्मेदवारमध्ये तीनजना ९० वर्ष काटिसकेका छन् । प्रदेश–७ को बझाङ जिल्लामा शताब्दी पुरुषका रूपमा परिचित विष्णुबहादुर रावतले वडाध्यक्ष पदमा उम्मेदवारी दिएका छन् ।
१७ जेठ, १९७६ मा जन्मिएका ९८ वर्षीय रावतले दुर्गाथली गाउँपालिका–३ मा नेपाली कांग्रेसको तर्फबाट वडाध्यक्षमा उम्मेदवारी दिएका छन् । मतदाता नं. ०९९४२१७६ रहेका रावत सम्भवतः मुलुककै सबैभन्दा ज्येष्ठ उम्मेदवारका रूपमा जिल्ला निर्वाचन कार्यालय बझाङले उनलाई नेपालकै वयोवृद्धबाट मनोनयन दर्ता भएको जानकारी निर्वाचन आयोगलाई गराएको छ ।
त्यस्तै, ओखलढुंगाको चम्पादेवी गाउँपालिका–५ मा पनि ९५ वर्षीय टेकबहादुर तामाङले एमालेको तर्फबाट गाउँपालिका सदस्यमा उम्मेदवारी दर्ता गराएका छन् । सुनसरीको कोसी गाउँपालिका–८ का ९३ वर्षीय सफिद मियाँ एमालेका तर्फबाट वडा सदस्यमा प्रतिस्पर्धामा छन् ।
सुनसरीकै इटहरी उपमहानगरपालिका–५ को वडाध्यक्षमा स्वतन्त्र उम्मेदवारका रूपमा ८७ वर्षीय हिरामणि शर्मा पोख्रेलको उम्मेदवारी परेको छ ।कपिलवस्तुको शिवराज नगरपालिकाका ८९ वर्षीय देवकुमार भारतीले स्वतन्त्र उम्मेदवारका रूपमा नगरप्रमुखमा उम्मेदवारी दिएको निर्वाचन आयोगले जनाएको छ । बाँकेको वैजनाथ गाउँपालिका–४ का लालीराम थारू राप्रपाको तर्फबाट वडा सदस्यका उम्मेदवार छन् ।
बर्दियाको गुलरिया नगरपालिका–३ मा दलित महिला उम्मेदवारमा ८६ वर्षीया जसोधरा चमार्नीले मधेसी जनअधिकार फोरम लोकतान्त्रिकको तर्फबाट वडा सदस्यमा मनोनयन दर्ता गराएकी छन् ।पाल्पाको तानसेन नगरपालिकाको प्रमुखमा ८१ वर्षीय रेवन्तबहादुर विष्ट र बाँकेको कोहलपुर नगरपालिकाको प्रमुखमा ८१ वर्षीया भगौती थारूले राप्रपाको तर्फबाट उम्मेदवारी दिएका छन् ।
इलामको फाक्फोक्थुम गाउँपालिका अध्यक्षमा ८४ वर्षीय डम्बरबहादुर राई राप्रपाबाट तथा बैतडीको सिगास गाउँपालिकाको अध्यक्षमा ८१ वर्षीय देवसिंह धामी स्वतन्त्र उम्मेदवार बनेका छन् ।
८० वर्ष उमेर नाघेका सबैभन्दा धेरै उम्मेदवार राप्रपाका छन् भने त्यसपछि क्रमशः कांग्रेस, स्वतन्त्र, एमाले र माओवादी केन्द्रका रहेको तथ्यांकले देखाएको छ ।
उनीहरूमध्ये ४४ जना पुरुष र सात जना महिला रहेको निर्वाचन आयोगमा उपलब्ध विवरणमा उल्लेख छ । दोस्रो चरणअन्तर्गत यही १४ असारमा प्रदेश–१, ५ र ७ मा हुने स्थानीय तहको निर्वाचनमा २१ वर्षका ८८ जनाले विभिन्न पदमा उम्मेदवारी दर्ता गराएको आयोगले जनाएको छ ।
२१ वर्षदेखि ३७ वर्ष उमेर समूहका यसअघि स्थानीय तहको निर्वाचनमा समेत मतदान नगरेका १७ हजार ५ सय १० जना, ३८ वर्षदेखि ६० वर्ष उमेर समूहका ३४ हजार ७ सय ५६ जना पनि दोस्रो चरणको निर्वाचनमा उम्मेदवार बनेका छन् ।
६१ वर्षदेखि ७९ वर्ष उमेर समूहका ५ हजार ६ सय ९१ जनाले निर्वाचनमा विभिन्न पदमा उम्मेदवारी दिएको तथ्यांक निर्वाचन आयोगका सूचना प्रणाली तथा व्यवस्थापन शाखाका वरिष्ठ कम्प्युटर अधिकृत चन्द्र शाहले जानकारी दिए ।
मुलुकका ३५ जिल्लाका ३ सय ३४ स्थानीय तहका लागि हुने दोस्रो चरणको निर्वाचनमा सबैभन्दा थोरै मतदाता बाजुराको हिमाली गाउँपालिका–३ हिमालभक्ति आवासीय विद्यालय गुम्बा मतदान स्थलमा ३० जना मात्रै मतदाता रहेको आयोगले जनाएको छ । त्यस्तै, ताप्लेजुङको फक्तांलुको ग्याबला मतदान स्थलमा २१ महिला र १९ पुरुष गरी ४० जना मात्रै मतदाता रहेका छन् ।












प्रतिक्रिया