पाँचथर, १ असार । पाँचथर र ताप्लेजुङका लागि रिडी हाईड्रो पावर डेभलपमेन्ट कम्पनी लिमिटेडको प्रवर्द्धनमा रैराङ हाइड्रोपावर डेभलपमेन्ट कम्पनीद्वारा निर्माणाधिन इवा खोला जलविद्युत आयोजनाको शेयर खुला गरिएको छ । ९.९ मेगावाटको इवा खोला आयोजना प्रभावितका लागि लागत पूँजीको दश प्रतिशत सेयर जेठ २५ देखि खुला गरिएको हो ।
दश प्रतिशत अर्थात रु. १०० प्रतिकित्ताका दरले छपन्न लाख कित्ताबाट हुन आउने रकम रु. पाँच करोड साठी लाख बराबरको शेयर ताप्लेजुङ तथा पाँचथरवासीका लागि खुल्ला गरिएको हो ।
जसमध्ये वाइस लाख ४० हजार कित्ता साविक थर्पु तथा साव्लाखुवासीको लागि र बाँकी तेत्तिस लाख ६० हजार कित्ता ताप्लेजुङ र पाँचथर जिल्लाका लागि छुट्याइएको छ ।
फिदिममा रहेका माछापुच्छ्रे, एनआइसि एशिया, एनएमवि, सिभिल बैंक तथा पाँचथर थर्पुमा सिभिल बैंकमा सेयर फर्म भरि रकम जम्मा गर्न सकिने जनाइएको छ ।
ताप्लेजुङमा एनएमवि बैंकमा जम्मा गर्न सकिनेछ । २०७४ आषाढ ८ गतेसम्म सेयर विक्री खुल्ला गरिएकोमा प्रस्तावित रकम जम्मा हुन नसके आषाढ २३ गतेसम्म जारी राख्ने जनाइएको छ ।
इवा खोला आयोजनाको निर्माण कार्य पचास प्रतिशत भन्दा बढि सम्पन्न भइसकेको परियोजना निर्देशक कुवेरमणी नेपालले बताउनुभयो ।
इवा खोला आयोजना ताप्लेजुङ तथा पाँचथरको जिल्लाहरुको सिमाना भएर वहने इवा खोलाको वाँया किनारामा अवस्थित छ ।
यो आयोजना साविक पाँचथर जिल्लाको थर्पु गाविस तथा ताप्लेजुङ जिल्लाको साब्लाखु गाविसमा अवस्थित छ ।
इवा खोला आयोजनाको वाँध क्षेत्र इवासिवा दोभान भन्दा तल रहेको छ । विद्युतगृह इवा कावेली दोभानको वाँयापट्टि दाहाल गाँउमा छ ।
आयोजनाले इवाखोलाबाट अधिकतम १२.३ क्युविक मिटर प्रति सेकेन्ड पानी उपयोग गरी ९.९ मेगावाट क्षमताको विद्युतशक्ति उत्पादन गर्नेछ ।
आयोजनामा पानी फर्काउनको लागि वाँध, इन्टेक, वालुवा थिगार्ने पोखरी (डिसेन्डर वेसिन), २.९ किमी लामो फलामे हेडरेस पाइप, सर्ज टैंक, १५० मिटर लामो पेनेस्टक पाइप, विद्युत गृह, स्वीचयार्ड, ३३ के.भि. प्रसारण लाइन जस्ता संरचनाहरु रहने छन् ।
यो आयोजनाबाट उत्पादन भएको विद्युत नेपाल विद्युत प्राधिकरणको अमरपुर सवस्टेशनसम्म पुर्याइने छ । अमरपुर सवस्टेशनवाट राष्ट्रिय ग्रीड प्रणालीमा विद्युत समाहित हुनेछ ।
कम्पनीले आयोजनाको निर्माणको लागि २०७३ कात्तिकवाट ठेकेदार कम्पनीहरु परिचालन गरेको परियोजना निर्देशक कुवेरमणीले बताए । यो आयोजनको निर्माण २०७४ माघ मसान्तभित्र सम्पन्न गरिसक्ने उनको भनाइ छ ।
इवाखोला आयोजना निर्माण कार्य सम्पन्न गर्न रु. एक अरव साठी करोड लाग्ने वित्तिय प्रक्षेपण गरिएको जनाइएको छ । यो आयोजनाको कुल लगानी मध्ये ३५ प्रतिशत स्वःलगानी तथा ६५ प्रतिशत वैंकको ऋण रहेको छ ।
यस आयोजनामा रिडी हाइड्रोपावर डेभलपमेण्ट कम्पनीको २५ प्रतिशत, स्थानीय प्रभावितको १० प्रतिशत, सर्वसाधारणको १५ प्रतिशत र वाँकी ५० प्रतिशत सञ्चालक तथा संस्थापक शेयर धनीहरुको लगानी रहेन बताइएको छ ।
















प्रतिक्रिया