
काठमाडौँ, २४ जेठ । मन्त्री छान्न बसेको माओवादी केन्द्रको हेडक्वार्टर बैठक निकै रोचक बन्यो । अबस्था कस्तो बनिदियो भने मन्त्री बन्न इच्छुकले पाएनन, इच्छा छैन् भन्नेले घुमिफिरी पद आइलाग्यो ।
स्रोतका अनुसार, बालुवाटारमा बसेको हेडक्वार्टर बैठकमा गठबन्धनलाई बलियो बनाउन भूमिका खेलेको भन्दै कृष्णबहादुर महरालाई उपप्रधानमन्त्री, उत्कृष्ट काम गरेको भन्दै जनार्दन शर्मालाई गृहमन्त्री तथा मधेशी समुदायबाट प्रभु साहलाई मन्त्री बनाउने प्रस्ताव पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गरे । निकै भूमिका बाँधेर प्रचण्डले गरेको प्रस्तावलाई धेरै नेताहरुले समर्थन जनाए । प्रचण्डको निर्णयको विरोध नगरे पनि नारायणकाजी श्रेष्ठले घुमाउरो हिसाबले हरिबोल गजुरेल र गिरीराजमणि पोखरेलको नेतृत्वमा पनि पठाउन सकिने बताए । तर, उनीहरुको नाममा खासै छलफल नै भएन ।
पार्टी संसदीय दलको उपनेता भएको हिसाबले आफूले सरकारको नेतृत्व गर्न पाउनुपर्ने माग टोपबहादुर रायमाझीले राखे । तर, उनको भनाइको खासै सुनुवाई भएन् ।
हरिबोल गजुरेल, अग्नी सापकोटा लगायतले मुखै फोरेर मन्त्री बन्ने इच्छा पोखे । हरिबोलले मन्त्री छान्ने पार्टीमा कुनै विधि नै नभएको कुरा उठाएका थिए । सापकोटाले भने आफू योग्य र सक्षम भएको भन्दै मुल्यांकन गरिनुपर्ने कुरा राखेका थिए । तर, उनीहरुलाई जबाफ फर्काए देव गुरुङले । यस्तो बेला विधि र मुल्यांकनको कुरा नउठाऔँ भन्दै उनले प्रचण्डले राखेका कुरालाई सबैले मानेर जानुपर्ने सुझाएका थिए ।
गुरुङसहित रामबहादुर थापा, बर्षमान पुन, पम्फा भुसाल, मणि थापा, गोपाल किराँती लगायतले प्रचण्डको प्रस्तावलाई नै समर्थन गरेपछि नारायणकाजी र टोपबहादुरको खासै दम चलेन् ।
उपप्रधानमन्त्रीमा सिफारिस गरिएका महराले ‘आफूलाई कुनै इच्छा नभएको, अन्य नेताहरु पनि नेतृत्व गर्न सक्षम रहेको तर पार्टीले निर्णय गरे अस्वीर गर्दिन’ भनेका थिए ।
गृहमन्त्रीमा सिफारिस गरिएका जनार्दन शर्मालाई पनि ‘पार्टीले जे निर्णय गरे पनि आफूलाई मान्य’ हुने बताएका थिए ।
बैठकमा एकता प्रक्रियामा आएका रामबहादुर थापा (बादल) हरु प्रचण्डलाई पूर्ण समर्थन गरेको जस्तो देखियो भने नारायणकाजी समूह, टोपबहादुरहरुको पनि केही असन्तुष्टि थियो ।











प्रतिक्रिया