काठमाडौं, २३ जेठ । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का अध्यक्ष केपी ओलीले संसद सुचारु होस् भन्ने पक्षमा सधै सकारात्मक रहेको बताएका छन् ।
संसदको आजको बैठकमा समय लिएर सम्बोधन गर्दै ओलीले सत्तापक्षको अहंताका कारण संसद चल्न नसकेको बताए । उनले आजदेखि नयाँ सिराबाट संसद बैठक सुचारु भएको बताए ।
सत्तापक्षबाट हत्या, हिंसा, धाँधली, मतपत्र च्यात्ने, निर्वाचनलाई अस्वस्थ्य बनाउने जुन कुरा भएको छ त्यो रोकिनुपर्ने ओलीले बताए । उनले भने, ‘संसदीय छानविन समितिले भरतपुरसहित धाँधली भएका स्थानको छानविन गरेर तोकिएको समयभित्र प्रतिवेदन बुझाउनु पर्छ ।’
४६२ स्थानीय तहको निर्वाचन गर्न बाँकी रहेको बताएका ओलीले निर्वाचनलाई धाँधली रहित बनाउनु पर्ने बताए । अध्यक्ष ओलीले भने, ‘चुनाव गर्न नसकेर हो कि ? प्रधानमन्त्रीले बीच बाटोमा राजीनामा दिने अवस्था किन आयो ? उहाँलाई छाड्न हतारो हो कि ? अरुलाई आउन हतारो हो ? हामीले नयाँ प्रधानमन्त्रीको छनौट गर्नुपर्छ ।’
राजीनामा भएको सरकारले नीति तथा कार्यक्रम र बजेट आएको प्रसंग कोट्याएका ओलीले भने, ‘१५ गते बजेट आउनु थियो । १६ गते राजीनामा दिएको भए पनि हुन्थ्यो ।’ उनले बजेटलाई ‘कर्मकाण्डी’ रहेको आरोप लगाए ।
एमाले अध्यक्ष ओलीले सर्वोच्च अदालतका प्रधानन्यायाधीशको पेन्सनपट्टा बनाउने कार्यमा अर्थ मन्त्रालयले अस्वीकार गरेर अपमान गरेको बताए ।
भरतपुर महानगरपालिकाको वडा १९ को मतगणना एमालेका मेयर पदका उम्मेदवार देवी ज्ञवालीले ७८४ मतको अग्रता कायम गरेको बेला ठूलो षड्यन्त्र भएको बताए ।
‘देवी ज्ञवालीले जित्ने अवस्था आउँदै गर्दा मेयर पदको उम्मेदवार रेणु दाहालका प्रतिनिधिले उफ्रिएर गएर मतपत्र च्याते । प्रहरी तत्काल नियन्त्रणमा लियो । मतगणना तत्काल सुचारु गर्नु पर्थ्यो । बरु पुनः मतदान गराउने त्यस प्रकारका कार्य भए । त्यसले नभएको स्थिति उत्पन्न भयो’, उनले भने ।
सत्तापक्ष हार्नै नचाहने स्थिति देखाएको बताएका ओलीले भने, ‘को–कोलाई हराउन नपाइने हो ? कसलाई हराउन नहुने हो ? प्रतिपक्ष दलले जान्न पाए हुने’, ओलीले भने ।
प्रहरीको रिपोर्टअनुसार मतदान स्थल कब्जा नभएको बताएका ओलीले केही मतपत्र मात्रै च्यातिएको दाबी गरे । मतगणना स्थललाई निर्वाचन अधिकृतले रणभूमि तुल्या बनाएएको ओलीले आरोप लगाए । उनले चितवनका मुख्य निर्वाचन अधिकृतले विषयलाई गलत मोडमा सुरुदेखि लैजान खोजेको देखिएको बताए ।












प्रतिक्रिया