काठमाडौं, २३ जेठ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री पदको निर्वाचनसँगै सपथ लिँदा पहिलो चरणमा सानो आकारको मन्त्रिण्मडल बनाउने तयारी गरेका छन् ।
स्रोतका अनुसार देउवाले आफ्नो दल कांग्रेसबाट महेश आचार्य र ज्ञानेन्द्रबहादुर कार्कीलाई मन्त्री बनाउने तयारी थालेका हुन् । आचार्यले अर्थ र कार्कीले भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रालय पाउने दाबी गरिएको छ ।
हुन् त पहिलो चरणमा मन्त्री हुने सूचीमा कांग्रेसका नेता गोपालमान श्रेष्ठको नाम चर्चामा छ । मन्त्री हुने सूचीमा यस पटक कांग्रेसका प्रभावशाली नेता खुमबहादुर खड्काकी पत्नी शिला गौतम खड्काको नाम पनि अगाडि आएको छ । खुमबहादुरले पत्नी शिलालाई मन्त्री बनाउन देउवालाई दवाव दिइरहेका छन् ।
मन्त्री बन्ने लाइनमा नेता कृष्णप्रसाद सिटौला पनि छन् । सिटौलाले उपप्रधान र कुनै एक राम्रो मन्त्रालय लिने गरेर लविङ थालेका छन् । गगन थापा देउवाको रोजाइमा परेनन् ।
उता, माओवादी केन्द्रबाट कृष्णबहादुर महराले यस पटक पनि अवसर पाउने स्रोतको दाबी छ । महराले उपप्रधान र गृहमन्त्रीको जिम्मेवारी पाउने सम्भावना रहेको छ ।
गृहमन्त्रीमा महराका साथै नारायणकाजी समूहबाट गिरिराजमणि पोखरेलले पनि दाबी गरेका छन् । गृह मन्त्रालय ताक्नेमा जनार्दन शर्मा, टोबहादुर रायमाझी, अग्नि सापकोटा र शक्ति बस्नेत पनि छन् । शक्ति बस्नेतलाई मन्त्री बनाउन प्रचण्ड पुत्र प्रकाश दाहालको अत्याधिक जोडबल रहेको छ ।
मन्त्रीको सूचीमा माओवादी केन्द्रबाट रेखा शर्माको नाम पनि अग्रस्थानमा छ ।
नेपाल लोकतान्त्रिक फोरमबाट विजयकुमार गच्छदारले पहिलो चरणमा सपथ लिने तयारी गरेका छन् । उनले उपप्रधान र स्थानीय विकास मन्त्रालयको जिम्मेवारी पाउने स्रोतको भनाइ छ ।
बाँकी मन्त्रीहरू भने स्थानीय तहको दोस्रो चरणको निर्वाचन सम्पन्न भएपछि विस्तारको तयारी भएको छ ।











प्रतिक्रिया