चितवन, २२ जेठ । जिल्ला सुरक्षा समिति चितवनले भरतपुर महानगरपालिका वडा नम्बर १० मा निषेधित क्षेत्र घोषणा गरेको छ ।
आइतबार बिहान विज्ञप्ति जारी गर्दै शान्ति सुरक्षाको संवेदनशीलतालाई मध्यनजर राख्दै विभिन्न किसिमका हुलदंगा, जुलुश लगायतलाई कानून बमोजिम व्यवस्थित गरी शान्ति सुरक्षा अमन चयन कायम गर्न गराउनका लागि निषेधित क्षेत्र घोषणा गरिएको जनाइएको छ ।
भरतपुरको मुख्य निर्वाचन अधिकृतको कार्यालय, भरतपुर अस्पताल, मतगणना स्थल रहेको कभर्डहल र प्रशासनिक कार्यालयहरु रहेकोे स्थान समेतमा धर्ना, जुलुश, आमसभा, बिरोध सभा, कोणसभा लगायतका कार्य हुन गर्न नदिन आइतबारदेखि लागू हने गरि निषेधित क्षेत्र घोषणा गरिएको हो ।
अर्को सूचना प्रकाशित नभएसम्मका लागि भरतपुर महानगरपालिका वडा नं १० को चारकिल्ला भित्रका स्थानहरुमा निषेधित क्षेत्र तोकिएको स्थानीय प्रशासनले छ ।
भरतपुर १० को पूर्वतर्फ मालपोत चोकदेखि चितवन जिल्ला अदालत आउने सडक, पश्चिमतर्फ चौविसकोठीदेखि जिल्ला प्रहरी कार्यालय चितवन आउने सडक, उत्तर तर्फ मुख्य निर्वाचन अधिकृतको कार्यालयको पछाडि सडक नारायणी मा.वि. चोकदेखि पुरानो मेडिकल कलेज जाने सडक र दक्षिण तर्फ हाकिमचोकदेखि जिल्ला कारागार कार्यालय आउने सडकसम्मको क्षेत्रलाई निषेधित क्षेत्र घोषणा गरिएको हो ।
भरतपुर १९ को मतपत्र च्यात्तिएपछि स्थगित मतगणना पुनः मतदान हुने निर्वाचन आयोगले निर्णय गरेको थियो । आयोगको निर्णयपछि एमाले कार्यकर्ताहरु आक्रोशीत बनेका कारण अप्रिय घटना हुन नदिन निषेधित क्षेत्र घोषणा गरिएको हो ।
एमालेले मतगणना पुनः सुचारु गर्नुपर्ने माग राखेर सडक आन्दोलन सुरु गरेपछि स्थानीय प्रशासनले निषेधित क्षेत्र तोकेको हो ।











प्रतिक्रिया