भिमबहादुर साउँदको जन्म पिता सगरामसिंह साउद र माता इमितादेवी साउँदा कोखबाट २०२४ सालमा भएको हो । साउद तीन दाजुभाइ र चार दिदी बहिनीका बीचमा हुर्किए । उनको बालकाल तत्कालीन दुर्गम डडेल्धुराको सुदूर गाउँमा बितेको थियो । आज उनी त्यही गाउँलाई सुव्यवस्थित ‘स्मार्ट सहर’ बनाउने योजना बोकेर हिँडेका छन् ।
‘खान लाउन पुग्दो भए पनि दुःखबाट परिवारलाई उम्काउनुपर्छ’ भन्ने उद्देश्य उनको बालमस्तिस्कमै विकास हुँदै गयो । त्यो उद्देश्य आज आफू हुर्किएको गाउँ, नगरलाई सुन्दर सहर निर्माणमा परिणत गरेका छन् ।
कसरी राजनीतिमा लाग्नुभयो ?
म १२/१३ वर्षको थिएँ । त्यसैबेला मैले राजनीतिको रंग देखेँ । जनमत संग्रहको लहरले गाउँसम्म पनि तरंग ल्याएको थियो । म तत्कालिन विद्यार्थी नेता शेरबहादुर देउवालगायतको पछिपछि सहभागी हुँदै गएँ । यसले ममा राजनीतिप्रतिको रुची जगाइदियो ।
निर्माण व्यवसाय र राजनीति सँगसँगै गर्नुभयो ?
संघर्षशील परिवारमा बसेर फुर्सदिलो हुने मौका मलाई थिएन । पढ्दापढ्दै बुवाले थालेको व्यापारमा सघाउन थालेँ । यो मेरालागि व्यापार व्यवसायको राम्रो विद्यालय बन्यो । २०४६ सालमा मुलुकमा राजनीतिक परिवर्तनको देशव्यापी लहर चलिरको थियो । म सानै उमेरमा २०४५ बाट निर्माण व्यवसायमा संलग्न भएँ । बालमस्तिस्कमै परेको राजनीतिक छाप ममा छँदै थियो । प्रजातन्त्र प्राप्तिको आन्दोलनमा म भौतिक र आर्थिक दुबै रुपले संलग्न भएँ ।
सक्रिय राजनीतिमा कसरी प्रवेश भयो ?
राजनीति र निर्माणव्यवसायका क्षेत्रमा तालमेल मिलाउने रहर २०४६ को आन्दोलसँगै जाग्यो । त्यहीबेला मैले बालकालमा संगत गरेदेखेका नेता शेरबहादुर देउवा राष्ट्रिय राजनीतिमा छाए । उनीसँगै अन्य नेताहरु प्नि राजनीतिमा आएपछि मलाई पनि सक्रिय राजनीति गर्ने अभिरुची जाग्यो । २०४९ सालमा डडेल्धुराको जोगबुडा गाविसमा गाविस अध्यक्ष बनेँ ।
अध्यक्ष हुँदा के गर्नुभयो ?
मैले त्यसबेला जोगबुडाको विकासको प्रारम्भिक खाका कोरें । शिक्षालय, सडक, खानोपानी, सिँचाइ र नदी यिन्त्रणलगायत मेरो प्राथमिता थियो । म तीन पटक नेपाली काँग्रेसका महाधिवेश प्रतिनिधि बनेँ । अहिले पनि छु ।
निर्माणका क्षेत्रमा के कस्ता काम गर्नुभयो ?
त्यसबेला सुदूरपश्चिमबाट ठूला निर्माणका काम गर्ने एक, दुई जना थियौँ । अहिले यो संख्या बढेको छ । मैले सुदूपश्चिमा मात्र होइन देशैभर निर्माणको काम गरेको छु । ठूला पुल, भवन, सिँचाइ, नदी नियन्त्रण, सडकलगायत क्षेत्रका दुई सयभन्दा बढी ठूला योजना सम्पन्न गरेको अनुभव छ ।
परशुराम नगरको मेयर बनेपछिको योजना के हो ?
मेरो सपना भित्रिमधेश (रंगुन भ्याली) क्षेत्रलाई सुव्यवस्थित नगर बनाउने हो । सानो गाउँ सुन्दर बनाउन पनि आधिकारिक पदको आवश्यकता हुने रहेछ । सामाजिक अभियन्ताका रुपमा समाजको आवश्यकता र माग मात्रै उठान गर्न सकिन्छ । त्यसलाई कार्यान्वयन गर्न राजनीतिक कार्यकारी पदको आवश्यकता हुँदो रहेछ । त्यसैले मैले मयर बनेर त्यो योजना पुरा गर्ने सोच बनाएको छु ।
तपाईंका मुल योजना के हुन् ?
यतिबेला म परशुराम क्षेत्रको मुहार बदल्नुपर्छ भन्ने खाका बोकेर हिँडेको छु । हाम्रो सभापति देउवाले सुरु गराउनुभएको रंगुन नदी नियन्त्रण, सादनी तातापानी नदी नियन्त्रण गुरुयोजनालाई मुर्त रुप दिने, बुडर–जोगबुडा सडक कालोपत्रे गर्ने, अपर परिगाउँ सिचाइ आयोजना, शीर्ष सिचाइ, पुन्तुरा सिचाईँ आयोजनालाईलगायत अन्य आवश्यक ठाउँमा मुर्त रुप दिने योजनामा छु । परशुरामधाम धार्मिक क्षेत्रलाई पर्यटकीय नगरीका रुपमा रुपान्तरण गर्ने, परशुरामधाम विशेष योजना, परशुरामधाम संस्कृत महाविद्यालय स्थापना, परशुराम दशरथ रंगशालालाई स्तरोन्नती, महाकालीमा पक्की पुल, महेन्द्रनगर–ब्रहदेउ–परशुराम–रुपाल–पञ्चेश्वर महाकाली करिडोर सडक, जोगबुडा–गोगन–चिर्किटे सडक, जोगबुडा –ग्वानी–बसौटी सडक, जोगबुडा–सिमलीखेत–तातापानी–कराली सडक, साडीघाँटी–ज्याम्र्यानी–सादनी सडक, सानीघाँटी–कुर्मुले–सलेता–पल्गडी सडक, जोगबुडा–सलौन–कटाल–परिगाउँ सडकलगायत हरेक वडामा व्यवस्थित सडकसञ्जाल निर्माण, वातावरणमैत्री सहर निर्माण, यसक्षेत्रका हरेक जनताको घरमा बिजुली, टेलिफोन, इन्टरनेट र रोजगारी तथा विद्यालयका दरबन्दी पूर्ति गर्ने पूर्ण खाका बनाएको छु ।
तपाईंको योजना कसरी सम्भव छ ?
व्यवसाय र राजनीतिसँगै मैले सामाजिक सेवा गर्ने क्रममा समाज बुझेको छु । एउटै जिल्लाबासी र विद्यार्थीकालमा राजनीतिमा सहभागी भएकाले पनि काँग्रेसका सभापति शेरबहादुर देउवासँग मेरो राम्रो सम्बन्ध छ । यो सम्बन्धलाई मैले यसअघि पनि सुदूरपश्चिमाञ्चल विश्वविद्यालय, मेडिकल कलेज र गेटा विमानस्थल निर्माणका क्रममा उपयोग गरेको थिएँ । अझ पनि यहाँका समस्या समाधानमा उहाँको चिन्ता छ । म त्यसलाई पुरा गर्न झकझक्याउन सक्छु ।
पत्याउने आधार ?
धेरै काम सुरु भएका छन् । विकासवादी नेता शेरबहादुर देउवाको सहयोगमा बाँकी योजनालाई म मुर्त रुप दिएरै छोड्छु, परशुराम क्षेत्रलाई देशकै हेर्नलायक नगर बनाउँछु । मसँग निर्माण क्षेत्रको २८ वर्ष लामो अनुभव छ, एउटा सुव्यवस्थित सहरको खाका तयार छ । परशुरामलाई स्मार्ट सिटीमा परिणत गरेरै छोड्छु ।













प्रतिक्रिया