काठमाडौं, २० जेठ । संसद् सचिवालयले आइतबार प्रधानमन्त्री निर्वाचन गर्ने तयारी गरेपछि कांग्रेस सभापति एवं संसदीय दलका नेता शेरबहादुर देउवाले आफूलाई प्रधानमन्त्रीमा समर्थन गर्न सबै दलसँग औपचारिक रूपमा आग्रह गर्नुहुने भएको छ ।
माओवादी केन्द्रको प्रस्ताव र फोरम लोकतान्त्रिकको समर्थनमा प्रधानमन्त्रीमा उम्मेदवारी दिने तयारीमा रहनुभएका देउवाले आफ्नो पक्षमा स्पष्ट बहुमत रहे पनि संसद्मा रहेका सबै दलको समर्थन जुटाउने प्रयास थाल्नुभएको हो । अन्नपूर्ण पोष्ट दैनिकले समाचार छापेको छ ।
‘सकभर भेटेर र त्यो सम्भव नभए फोनबाट भए पनि संसद्का सबै दलका नेतासँग आफूलाई प्रधानमन्त्रीमा समर्थन गर्न आग्रह गर्ने तयारी छ’, देउवानिकट स्रोतले भन्यो, ‘त्यो प्रक्रिया शनिबार उम्मेदवारी दर्ता गरेपछि हुनेछ ।’
स्रोतका अनुसार देउवाले आइतबार प्रधानमन्त्री निर्वाचित भए सोमबारै शपथ लिएर सानो आकारको मन्त्रिमण्डल गठन गर्ने तयारी गर्नुभएको छ । देउवाले पहिलो चरणमा सात सदस्यीय मन्त्रिमण्डल बनाउने स्रोतले दाबी गरेको छ । कांग्रेसबाट दुई, माओवादीबाट तीन र फोरम लोकतान्त्रिकबाट एक जना सहभागी मन्त्रिमण्डल बनाएर चुनावपछि मात्रै पूर्ण विस्तार गर्ने देउवाको तयारी छ ।
यसैबीच राष्ट्रिय जनता पार्टीलाई स्थानीय तह निर्वाचनको दोस्रो चरण निर्वाचनमा सहभागी हुन प्रोत्साहित गर्दै आएका भारतीय राजदूत मञ्जीवसिंह पुरीले देउवासँग गोप्य भेट गरेको बुझिएको छ ।कांग्रेस स्रोतका अनुसार मन्त्रालय भागबन्डाबारे भने छलफल टुंगिसकेको छैन । सरकारमा राष्ट्रिय प्रजातन्त्र पार्टी सहभागी नभए माओवादीले ८, कांग्रेसले १४ र फोरम लोकतान्त्रिकले तीन मन्त्रालय लिने अनौपचारिक छलफल भएको छ ।
तर, केही साना दल पनि सरकारमा सहभागी हुने र चुनावपछि मधेसी दल पनि सहभागी हुन सक्ने भन्दै मन्त्रालयको टुंगो पछि मात्रै लगाउने रणनीतिमा कांग्रेस र माओवादी छन् । मन्त्रालयको विषयमा भने गृह माओवादी, अर्थ कांग्रेस र स्थानीय विकास फोरम लोकतान्त्रिकले लिने लगभग सहमति भइसकेको स्रोतको दाबी छ ।
माओवादीले ऊर्जा, शिक्षा, श्रम, वन, खेलकुदलगायत मन्त्रालय र कांग्रेसले आवास तथा भौतिक योजना, सूचना तथा सञ्चार, पर्यटन, सामान्य प्रशासन, कानुन, स्वास्थ्य, सहरी विकासलगायत मन्त्रालय लिने सम्भावना छ ।
माओवादीबाट नयाँ मन्त्री
काठमाडौं : कांग्रेसका सभापति शेरबहादुर देउवा नेतृत्वको सरकारमा सहभागी हुने तयारीमा रहेको माओवादी केन्द्रले मन्त्रीमा नयाँ अनुहार पठाउने भएको छ । नयाँ सरकारमा कुन-कुन मन्त्रालय लिने भन्ने टुंग्याउन माओवादीले वर्षमान पुन र कृष्णबहादुर महरामार्फत कांग्रेससँग छलफल गरिरहेको छ ।
वर्तमान सरकारमा लिएकै मन्त्रालय लिने विषयमा कांग्रेससँग छलफल भएको तर अर्थ मन्त्रालय कांग्रेसले लिने सहमति भएको नेता वर्षमान पुनले अन्नपूर्णलाई बताउनुभयो । उहाँका अनुसार आइतबारसम्म माओवादीले कुन-कुन मन्त्रालय लिने भन्ने टुंगिनेछ । अहिलेभन्दा धेरै दललाई नयाँ सरकारमा सहभागिता गराउन छलफल चलेको उहाँले जानकारी दिनुभयो । निर्वाचन अगाडि पाँचदेखि सात जनासम्मको मन्त्रिमण्डल गठन गर्ने र त्यसपछि अन्य दललाई पनि सहभागी बनाउने विषयमा कांग्रेससँग मोटामोटी छलफल भएको उहाँले बताउनुभयो।
सरकारमा जानुअघि माओवादीले कांग्रेससँग एकखालको सम्झदारी पनि गर्ने भएको छ । समझदारी गर्ने विषयमा कांग्रेससँग छलफल भइरहेको माओवादीनिकट स्रोतले जनाएको छ । कुन-कुन नेता मन्त्रिमण्डलमा सहभागी हुने भन्ने विषय भने प्रधानमन्त्रीले शपथ लिएपछि पार्टी बैठकबाट टुंगो लगाउने माओवादी केन्द्रकी प्रवक्ता पम्पा भुसालले जानकारी दिनुभयो ।












प्रतिक्रिया