काठमाडौं, २० जेठ । वर्तमान सत्ता गठबन्धनबाटै प्रधानमन्त्रीमा उम्मेदवारी दिन लागेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई सहजै बहुमत जुट्ने देखिएको छ ।
नेकपा माओवादी केन्द्रसहित वर्तमान सत्ता गठबन्धनमा सहभागी दलहरू नयाँ सरकारमा पनि सहभागी हुने भएकाले देउवालाई प्रधानमन्त्रीमा निर्वाचित हुन आवश्यक मत पुग्ने भएको हो । राजधानी दैनिकले समाचार छापेको छ ।
पूर्वनिर्धारित कार्यक्रमअनुसार भोलि (आइतबार) व्यवस्थापिका संसद्मा हुने निर्वाचनमा देउवा प्रधानमन्त्रीमा निर्वाचित हुने पक्कापक्की जस्तै भएको नेताहरूले बताएका छन् ।
पूर्वसहमतिअनुसार सभापति देउवालाई प्रधानमन्त्रीका लागि माओवादी केन्द्रको समर्थन रहेको छ भने वर्तमान सरकारमा सहभागी सबै दल अब बन्ने सरकारमा पनि सहभागी हुने भएका छन् ।
अहिले माओवादी केन्द्रका अध्यक्षसमेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल नेतृत्वको सरकारमा सहभागी दलका ३ सय ११ सांसद छन् । प्रधानमन्त्री चयनका लागि व्यवस्थापिका संसद्का सदस्यहरूको बहुमत आवश्यक पर्ने हुन्छ । संसद्मा ५ सय ९३ सांसद रहेका छन् ।
बहुमतीय सरकार गठनका लागि २ सय ९७ सांसद आवश्यक पर्नेमा देउवाको पक्षमा ३ सय ११ मत अहिले नै जुटिसकेको छ । वर्तमान गठबन्धनमा कांग्रेससँग २ सय सात, माओवादी केन्द्रसँग ८२, फोरम लोकतान्त्रिकसँग १७, नेकपा संयुक्तसँग तीन, अखण्ड नेपालसँग एक र समाजवादी जनता पार्टीसँग एक सांसद रहेका छन् । अब बन्ने गठबन्धनमा पनि यी सबै दलको सहभागिता रहने कांग्रेसले जनाएको छ ।
नेपाली कांग्रेस संसदीय दलका प्रमुख सचेतक चिनकाजी श्रेष्ठले सरकार गठनका लागि पार्टीले छलफल गरिरहेको र आज ९शनिबार० बस्ने कार्यसमिति बैठकबाट कुनकुन दल सहभागी हुने भन्ने विषयमा पनि निष्कर्ष निकाल्ने बताए ।
नेपाली कांग्रेसले अन्य दललाई पनि सरकारमा सहभागी गराउन प्रयास जारी राखेको छ । कांग्रेस सभापति देउवाले राष्ट्रिय प्रजातन्त्र पार्टीलाई पनि सरकारमा सहभागी गराउन तयारी थालिसकेका छन् । राप्रपासँग अहिले ३७ सांसद रहेका छन् । राप्रपा सहप्रवक्ता मोहन श्रेष्ठले कांग्रेसले पत्र पठाएपछि पार्टीले सरकारमा सहभागी हुने नहुनेबारे निष्कर्ष निकाल्ने बताए ।
देउवाले संघीय समाजवादी फोरम र राष्ट्रिय जनता पार्टी नेपाललाई पनि सरकारमा सहभागी गराउन प्रयास गरिरहेका छन् । सम्भव भए सरकारमै सहभागी गराउने नत्र समर्थन लिने पक्षमा देउवा लागेका छन् । राजपाले भने सरकारमा सहभागी नहुने स्पष्ट पारिसकेको छ ।
कांग्रेस र माओवादी केन्द्रले सरकारमा जाने मन्त्रीहरूको टुंगो र मन्त्रालयको भागबन्डाका लागि समेत गृहकार्य थालिसकेका छन् ।












प्रतिक्रिया