भरतपुर, १८ जेठ । भरतपुर महानगरपालिकाको मतगणनास्थलमा चार दिनपछि सिल खोलिएको छ ।
च्यातिएका मतपत्रको विस्तृत विवरण संकलन गर्न ४६ जनाको टोली बिहीबार मतगणनास्थल प्रवेश गरेको हो ।
भरतपुरका उम्मेदवार प्रतिनिधि, चितवनका प्रहरी प्रमुख दीपक थापा, प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्ट, भरतपुरका मुख्य निर्वाचन अधिकृत कविप्रसाद न्यौपानेको उपस्थितिमा सिल खोलिएको छ ।
च्यातिएका मतपत्रको गणना गरी त्यसको विवरण निर्वाचन आयोग केन्द्रीय कार्यालय काठमाडौंमा पठाइनेछ । च्यातिएका एवं गणना गर्न बाँकी मतपत्रहरू मतगणनास्थल कभर्ड हलमा राखिएको छ ।
मतगणना चलिरहँदा माओवादी केन्द्रका बुध प्रतिनिधिले आइतबार मध्यराति मतपत्र च्यातेका थिए । त्यसपछि मगणना स्थगित गरी अनुसन्धान थालिएको थियो ।
भरतपुर महानगरमा माओवादी केन्द्रकी मेयर प्रत्यासी प्रधानमन्त्री पुत्री रेणु दाहाल र एमालेका देवी ज्ञवालीबीच कडा प्रतिस्पर्धा छ ।
कुल २९ वटा वडाहरू रहेको भरतपुरमा २७ वटा वडाको मत गणना सकिएको छ । १९ नम्बर वडाको मत गणना सुरु भएपछि माओवादी केन्द्रकी रेणु दाहालको मतान्तर निकै घट्न सक्ने अनुमान थियो ।
मतपत्र च्यातिँदासम्म एमालेका ज्ञवाली ४१ हजार ६४१ मतसहित अगाडि थिए । माओवादीकी रेणुको ४० हजार ९०८ मत पुगेको थियो ।












प्रतिक्रिया