
शिशिर सिंखडा
चितवन १६ जेठ । नेकपा एमालेका महासचिव र्इश्वर पोखरलेले भरतपुर महानगरमा सत्ता संरक्षित गुण्डागर्दीले मतपत्र च्यातेको बताएका छन् ।
प्रेस चौतारी चितवन शाखाले आज भरतपुर विमानस्थलमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै महासचिव पोखरेलले जनताको जनमतलाई स्वीकार नगरी मतपत्र च्यात्दै पुनः मतदान गर्दै जाने हो भने लोकतान्त्रिक मूल्य मान्यता हराउने बताए ।
मतपत्र च्यात्दै, पुनः मतदान गर्दै जाने हो भने दीर्घकालिन गलत नजिर बस्ने बताउँदै उनले यसको प्रभाव दोश्रो चरणको निर्वाचनमा समेत पर्न सक्ने बताए ।
मतपत्र च्यातिनु खेदजनक कार्य भएको बताउँदै महासचिव पोखरेलले सुरक्षा निकायले मतपत्र च्यात्नेहरुलाई किटानीका साथ नियन्त्रणमा लिइसकेको हुनाले अपराधकर्ममा सहभागीहरुलाई कानुनी कार्बाही गरिनुपर्ने बताए ।
भरतपुर महानगरपालिकाको मतगणना तत्काल सुरु नगरे निर्वाचन प्रकृया अगाडि बढ्न नसक्ने बताउँदै एमाले महासचिव पोखरेलले लोकतन्त्रको रक्षा र जनमतको कदरका लागि यथाशिघ्र मतगणना सुरु गर्नुपर्ने बताए ।
नेकपा एमाले चितवनको आह्वानमा मंगलबार विरोध जुलुससहित मतगणना क्षेत्रमा धर्ना दिइएको छ । सोही कार्यक्रमलाई सम्बोधन गर्न महासचिव पोखरेल चितवन पुगेका हुन् ।












प्रतिक्रिया