काठमाडौं, १५ जेठ । प्रधानमन्त्री पुष्पकमल दाहालले आफू नेतृत्वको सरकारले सफलताका साथ स्थानीय तहको निर्वाचन सम्पन्न गरेको भन्दै दलहरूबीचको तिक्तापूर्ण सम्बन्धमा सुधार भएको बताएका छन् ।
गणतन्त्र दिवसका अवसरमा टुँडीखेलमा सोमबार आयोजित विशेष कार्यक्रममा प्रधानमन्त्री दाहालले निर्वाचनले दलहरूबीचको तिक्ततापूर्ण सम्बन्ध राजनीतिक सहमति र सहकार्य बदलिएको बताए ।
‘मेरो नेतृत्वमा सरकार गठन भएदेखि आजको दिनसम्म आइपुग्दा स्थानीय तहको व्यवस्थासहित पहिलो चरणको निर्वाचन सम्पन्न भएको छ’, उनले भनेका छन्, ‘राजनीतिक दलहरूबीचको तिक्ततापूर्ण सम्बन्ध राजनीतिक सहमति र सहकार्यमा बदलिएको छ ।’
प्रधानमन्त्री दाहालले देशको राष्ट्रिय अर्थतन्त्र प्रगतिको दिशामा रहेको बताए । उनले भने, ‘७.५ प्रतिशत आर्थिक वृद्धि, मूल्य वृद्धि नियन्त्रण, विकास आयोजनाहरूमा हासिल गरिएको प्रगति, लोडसेडिङको अन्त्य र उज्यालो युगको प्रारम्भ, सन्तुलित विदेश नीति र छिमेकीहरूसँगको सम्बन्धमा आएको न्यानोपन, विदेशमा बस्ने नेपालीहरूको हितका निम्ति गरिएको राजनीतिक, कुटनीतिक र व्यवस्थापकीय सुधारजस्ता उपलब्धिहरूले देशमा आशाको नयाँ सन्देश प्रवाह गरेको छ ।
उनले उपलब्धिहरूलाई संस्थागत गर्दै राष्ट्रको समृद्धि र जनताको जीवनमा गुणात्मक परिवर्तन ल्याउनु सबैको राष्ट्रिय कार्यभार रहेको बताए ।
‘म यस अवसरमा ७ माघ २०७४ भित्र बाँकी रहेको स्थानीय तह, प्रदेश र संघीय संसदको निर्वाचन सम्पन्न गरी सक्नुपर्ने संवैधानिक कार्यभार नयाँ बन्ने सरकारले पूरा गर्ने नै छ’, दाहालले भनेका छन् ।











प्रतिक्रिया