
पोखरा, ११ जेठ । पोखरा महानगरपालिकाको मेयर र उपमेयरमा एमालेको जित पक्का भएको छ ।
पछिल्लो मत परिणाम अनुसार एमालेका मानबहादुर जिसी काँग्रेसका कुँबर भन्दा करिब १३ हजार मतले अगाडि छन् । जिसीले ५२ हजार १० मत पाएका छन् भने कांग्रेसका कुँबरले ३९ हजार ८ सय ४९ मत पाएका छन्।
उपमेयरमा पनि नेकपा एमालेकै मन्जु गुरुङले जित पक्का परेकी छिन् । उनले ४८ हजार ९२३ मत पाएकी छन्। कांग्रेसकी सरस्वती गुरुङले ३७ हजार ८३७ मत पाएकी छन्।
महानगरमा १ लाख २५ हजार ७ सय मत खसेकोमा हालसम्म झण्डै एक लाख ९ हजार मत गणना भईसकेको छ । ३३ वटा वडा रहेको पोखरा महानगरमा हालसम्म २९ वटा वडाको अन्तिम परिणाम आइसकेको छ । जस अनुासर एमाले १९ वटा वडा र काँग्रेसले १० वटा वडा अध्यक्ष जितेको छ । मतगणना अब अन्तिम चरणमा रहेकाले शुक्रबार दिउँसोसम्म मतपरिणाम आइसक्ने बताइएको छ ।
प्रदेश नम्बर ४ कै राजधानी एवं प्रदेशको एकमात्र महानगरापालिकामा एमालेले जित हासिल गरेपछि एमालेका नेता कार्यकर्ता उत्साहित भएका छन् ।
जित पक्का भएपछि नेकपा एमालेले शनिबार पोखरामा विजय उत्सव मनाउने तयारी गरेको छ । विजय उत्सवमा भाग लिन नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली शनिबार बिहान पोखरा जाँदैछन् ।
शनिबार बिहान ११ बजे पोखराको अमरसिंह चोकमा विजय उत्सव मनाउने कार्यक्रम राखिएको नेकपा एमालेका स्थायी समिति सदस्य एवं प्रदेश नम्बर ४ का इन्चार्ज किरण गुरुङले जानकारी दिए ।
चार नम्बर ४ मा एमालेले उत्साहजनक नतिजा ल्याएकाले कार्यकर्ताहरु उत्साहित भएको गुरुङको भनाइ छ ।











प्रतिक्रिया