३१ आश्विन २०८३, शनिबार

साझा बसलाई भक्तपुरमा भव्य स्वागत, एकाधिकार र सिण्डिकेट तोडियो

532
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

भक्तपुर, १० जेठ । भक्तपुर र काठमाडौँको सिमानामा पर्ने मनोहरा पुलमा भक्तपुरका बासिन्दाको विहानैदेखि निकै तामझाम थियो । उपभोक्ताका नाममा ब्यानर बोकेका भक्तपुरका बासिन्दाले हातमा अबिर, र फूलमाला लिएर बसेका थिए ।

जब प्रहरीको भ्यानको स्कटिङसहित छवटा साझा बस लाइनले भक्तपुरको नाकामा प्रवेश ग¥यो, तब भक्तपुरका बासिन्दाले गडगडाहट ताली बजाए । कसैले साझा बसमा अबिर र फूल छरेर पूजा गरे भने कसैले चालकलाई टिका र माला लगाईदिएर स्वागत गरे ।

भक्तपुरका बसहरूको वर्षौदेखिको एकाधिकार र सिन्डिकेट तोड्दै आजबाट भक्तपुरमा साझा बस सञ्चालनमा आएपछि भक्तपुरका बासिन्दाले हर्षित हँुदै भव्य स्वागत गरेका हुन् ।

भक्तपुरका बासिन्दाको माग बढ्दै गएपछि साझा यातायातले भक्तपुरमा बस सञ्चालन गर्ने गत चैतदेखि गरेको प्रयास यातायात व्यवस्था विभागबाट अनुमति पाएपछि सफल भइ बस सञ्चालनमा आएको हो ।

भक्तपुरको सूर्यविनायकमा साझा बस पुग्दा त्यहाँका बासिन्दाले पनि अबिर, फूलमालाले साझा बसको स्वागत गरेका थिए । लोकन्थली निवासी जिएस श्रेष्ठले साझाको स्वागत गर्दै भन्नुभयो–“भक्तपुरका बासिन्दा साझा बस भित्रिएकोमा निकै खुसी छौ, अब सधै साझा बसमा सरर गइन्छ ।”

भक्तपुरमा साझा बस सञ्चालनका लागि रुट परमिट नदिन यहाँका व्यवसायीले यातायात व्यबस्था विभागमा दबाब दिने र विरोध गर्दै आएपनि रुट पाएपछि साझाले बस सञ्चालन गरेको हो ।

भक्तपुर सूर्यविनायकका राजाराम प्रजापतिले अब काठमाडाँै साझा बसबाट सहज हुने बताउँदै यसले भक्तपुरका बासिन्दाको मन जित्ने बताउनुभयो ।

राति ९ बजेसम्म साझा बस चल्ने भएपछि सहज भएको बताउँदै उहाँले भन्नुभयो–“भक्तपुरका बसहरू मनलाग्दो चल्छन्, समयमा पाइँदैन, पाईए पनि प्रत्येक स्टेशनमा १० मिनेटभन्दा बढी रोक्छन्, राति ७ बजेपछि चल्दैनन्, यात्रुलाई सास्ती भएको बेलामा साझाले सेवा दिने भएपछि हामी खुसी भएका छौ ।”

साझा यातायातले काठमाडौको स्वयम्भूदेखि भक्तपुरको सूर्यविनायकसम्म बिहान ६ः३० बजेदेखि राति ९ बजेसम्म गुड्ने गरी २० वटा बस सञ्चालनमा ल्याएको साझा यातायातका कार्यकारी निर्देशक महेन्द्र पाण्डेले जानकारी दिनुभयो ।

साझा यातायातले काठमाडौँको स्वयम्भूबाट कलङ्की, रविभवन, सोल्टीमोड, कालीमाटी, टेकु, त्रिपुरेश्वर, रत्नपार्क, थापाथली, माइतीघर, बबरमहल, नयाँबानेश्वर, मीनभवन, कोटेश्वर, जडिबुटी, लोकन्थली, कौसल्टार, गठ्ठाघर, नयाँठिमी, राधेराधे, सृजनानगर, सल्लाघारी हुँदै सूर्यविनायकसम्म जाने र फर्कने रुट निर्धारण गरेर बस सञ्चालन गर्न लागेको उहाँले बताउनुभयो ।

सूर्यविनायकबाट फर्कनेक्रममा भने केही रुट परिवर्तन गरिएको छ । फर्कदा भक्तपुरबाट माईतिघर पुरानै रुटअनुसार आउने र त्यहाँबाट सिंहदरबार, पुतलीसडक, कमलादी, घण्टाघर, पुरानो बसपार्क, शहीदगेट, त्रिपुरेश्वर, कलङ्की हुँदै स्वयम्भू पुग्ने प्रमुख कार्यकारी निर्देशक पाण्डेले बताउनुभयो ।

स्वयम्भूबाट भक्तपुरसम्म पुगेको बस भाडा भने साझाले रु २५ मात्रै निर्धारण गरेको छ । साझाको उपत्यकामा सञ्चालनमा रहेका ४६ वटा बसलाई नै व्यवस्थापन गरी भक्तपुरमा सञ्चालनमा ल्याइएको हो । रासस