– आकाश देबकोटा
बाँके, १० जेठ । चुनावी अभियानमा रहेका नेकपा एमालेका उम्मेदवारहरु टोल सभा, वडा भेला र घरदैलोमा जुटेका छन् । यस्ता भेलाहरुमा एमालेमा प्रवेश हुने क्रम बढेको छ ।
कोहलपुर नगरपालिकाको वडा नं. १२ र १५ मा बुधबार भएका टोल भेलामा केही व्यक्तिहरु एमालेमा प्रवेश गरेका छन् । वडा नं. १५ को भेलामा सांसदद्वय देवराज भार र दलबहादुर सुनार तथा एमाले बाँकेका उपाध्यक्ष निरक गुरुङले सम्बोधन गरेका थिए । राष्ट्रियतालाई बलियो बनाउने र विकासमा जोड दिने पार्टी एमाले भएकाले एमालेका उम्मेदवारलाई जिताउन सांसदद्वयले जोड दिएका थिए ।
कोहलपुर नगरका मेयर उम्मेदवार लुटबहादुर रावतले दुई भेला सकेपछि स्वास्थ्यकर्मीहरुसँग चुनावी रणनीति बनाएको बताउनुभयो । कोहलपुरले बुधबार वडा नं. १० मा पनि टोल भेला गरेको छ ।
बैजनाथ गाउँपालिकाको टिटिहिरियामा पनि वडा भेला गरिएको छ । गाउँपालिका प्रमुखका उम्मेदवार मानबहादुर रुचालसहित नेता तथा कार्यकर्ता उपस्थित भएको भेलामा सांसद दलबहादुर सुनारले मन्तब्य राख्नु भएको थियो ।
डुडुवा गाउँपालिकामा समाजका अगुवासँग भेटघाट गरिएको छ । गाउँपालिका प्रमुखका उम्मेदवार सकिल अहमद खाँले वडा नं. ३ बाबुपुरुवाका अग्रजहरुसँग भेटघाट गरेको बताउनुभयो । ‘स्थानीय अगुवासँग भेटघाट गरियो, हामीले भेला र घरदैलोलाई तिब्रता दिएका छौं, खाँले बताउनुभयो ।
खजुरा गाउँपालिकाको सीतापुर, नरैनापुरको कोटियागाउँ र कोदीपुरुवा, जानकीको बेलहरी र खजुराखुर्द, डुडुवाको हिरमिनियामा घरदैलो र वनकट्टीमा भेटघाट गरिएको छ । डुडुवा गाउँपालिका प्रमुखका उम्मेदवार सकिल अहमद खाँले बुधबार भेटघाटमात्रै गरेका छन् ।
खजुरा गाउँपालिकाका प्रमुख किस्मतकुमार कक्षपति, नरैनापुरका विक्रम यादव, जानकीका रामनिवास यादव घरदैलो र टोल सभामा पुग्दा स्थानीय जनता उत्साहित भएको बताए ।
चुनावको मिति नजिकिदै जादा उम्मेदवारहरुलाई जनताको घरघरमा पुग्न भ्याइनभ्याई भएको छ । पहिलो चरणको निर्वाचनमा एमाले सबैभन्दा ठूलो पार्टी भएकाले दोस्रो चरणको निर्वाचन हुने जिल्लाका नेता तथा उम्मेदवारहरु उत्साहित हुँदै चुनावी अभियानमा जुटेका छन् । एमालेका नेता तथा कार्यकर्ताहरु एकजुट भएर चुनावमा लागेका छन् । अरु सबै शक्तिहरु मिलेर एमालेलाई प्रहार हुँदै गर्दा एमाले नेता तथा कार्यकर्ताहरु त्यसलाई सामना गर्ने गरी अभियानमा निस्केको नेताहरु बताउँछन् ।












प्रतिक्रिया