– नरेश केसी
भैरहवा, १० जेठ । मंगलबार उत्तर तर्फ मंगलापुर बुटवलमा मुसलधारे पानी नै पर्यो तर भैरहवामा हावाहुरी सहित छिटाबीटा आयो । तर पनि तापक्रम देशकै सबैभन्दा उच्च रहयो । जल तथा मौसम विज्ञान विभाग हावापानी फिल्ड कार्यलय भैरहवा विमानस्थलका सुपरभाइजर सुरेन्द्र चौहानका अनुसार मंगलबार भैरहवामा अधिकतम तापक्रम ४१ दशमलब ९ र न्यूनतम तापक्रम २७ दशमलब २ रहेको छ ।
चौहानका अनुसार मंगलबारको भैरहवाको तापक्रम बर्षकै उच्च तापक्रम हो । जबकी नेपालगन्ज र सिमराको तापक्रम ३९ दशमलब रहेको मौसम विभागको तथ्यांकले देखाएको छ । मौसम विभागको आधिकारीक वेभसाइटले पनि भैरहवामा पछिल्लो समय तापक्रम उच्च हुदैं गएको देखाएको छ । विभागले नेपालको दक्षिण भाग नजिक रहेको पूर्व पश्चिम फैलिएको न्यून चापिय रेखा , पूर्वि नेपाल नजिक रहेको उत्तर दक्षिण फैलिएको न्यून चापिय रेखाको प्रभाव देखिएको बताएकोछ । मंगलबार करिब ४२ डिग्री पुगेको तापक्रम भने बुधबार करिब २ डिग्री तल झरेको देखिएको छ । त्यसको कारण बंगालको खाडीबाट सतहि रुपमा आइरहेको जलवास्पयुक्त हावा र पश्चिमी वायुको प्रभावले मौसममा सामन्य बदली भई पहाडी भुभागहरुमा हल्का वर्षा भएकोले तापक्रम केही मथ्थर भएको बताइएको छ ।
मौसम विभागको तथ्यांक विश्लेषणको अतिरिक्त भैरहवामा भइरहेको अव्यवस्थीत मानब बस्ती विकास, प्रकृतिको दोहन र अत्याधिक कार्वनको उत्सर्जनले तापक्रमलाई उच्चता दिएको हो । अर्कोतर्फ सडक विस्तारका क्रममा सडक दायाबांया रहेका सयौं रुख विरुवाहरुको कटानीको कारण पनि तापक्रममा उतावचढाव आइरहकेो छ ।
यद्यपी रुख विरुवाको संरक्षण गर्ने समेत जिम्मेवार निकाय जिल्ला वन कार्यलय रुपन्देहीले द्रुततर गतिमा भइरहको सडक विस्तारले ठूलो नोक्सानी भएको बताएको छ । वन कार्यलयका सूचना अधिकृत गिरीराज पन्तका अनुसार विकास निर्माणको योजना र कार्यन्वय गर्ने गराउने निकायले बन कार्यलय नै जानकारी नगराई निर्माण कार्य शुरु गर्दा एकैचोटी रुख विरुवा कटानी भइरहेको बताए ।
जिल्लामा करिब ३२ हजार हेक्टर वन क्षेत्र भएता पनि ८ हजार ३ सय हेक्टर अतिक्रमीत भएको देखिएको छ । यद्यपी एउटा तथ्यांकले २६ हजार ५ सय २४ हेक्टर क्षेत्रफल रुपन्देहीमा हरियाली क्षेत्र भएको दाबी गरेको छ । जिल्लामा अहिले बेलहिया बुटवल व्यापारीक मार्ग विस्तार आयोजना चलिरहेको छ । त्यो क्रममा सो सडकखण्डका सबै रुख विरुवा कटान हुन पुगे । बेथरी बेलबास सडक विस्तार प्रक्रियामा छ । बौद्ध सर्किट निर्माण प्रक्रियामा छ । बेलबास नुवाकोट सडक विस्तार प्रक्रियामा छ । गौतमबुद्ध विमानस्थलको लागी आवश्यक २ सय ८२ विगाह अधिग्रहण शुरु भएको छ । बुद्धचौंक लुम्बिनी सडक चार लेनको हुदैं छ । यस्ता विकास निर्माणको क्रममा सो क्षेत्रमा रहेका रुख विरुवा हटाउदा वातवरणीय प्रतिकुलता सृजना भइरहेको भन्दै वातवरणवीदहरुले चिन्ता समेत व्यक्त गरेका छन् । जलवायुमा आएको द्रुततर परिवर्तन र स्थानिय स्तरमा हुने रुख विरुवाको फडानीले तापक्रममा उच्चता आएको विश्लेषक बताउंछन् ।













प्रतिक्रिया