
– विमल योगी
काठमाडौं, १० जेठ । प्रमुख विपक्षी दल एमालेको अडानका कारण संसदको बैठक निर्धातिर समयभित्र चल्न नसकेपछि प्रधानमन्त्री पुष्पकमल दाहाल संसद भवन नयाँबानेश्वरबाट बाहिरिएका छन् । प्रधानमन्त्री बाहिरिएसँग संसदको बैठक बिहीबार चार बजेसम्मका लागि सूचना टाँस गरेर स्थगित गरिएको छ ।
बिहान १० बजेतिर संसद भवन नयाँबानेश्वर आइपुगेका प्रधानमन्त्री दाहालले कांग्रेस र एमालेका नेताहरूसँग सम्वाद गरेका थिए । तर, एमालेले सदन अवरोध गर्ने आफ्नो अडान कायम राखेपछि प्रधानमन्त्री दाहाल संसद भवनबाट पौने एक बजे बाहिरिएका हुन् ।
शीर्ष बैठकमा एमालेका अध्यक्ष केपी ओलीलाई बोलाइएको थियो । ओली शीर्ष बैठकमा नआएको स्रोतको भनाइ छ । ओलीले वार्ताका लागि संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङ र वरिष्ठ नेता माधवकुमार नेपालाई पठाएका थिए ।
बिहान नौ बजे प्रधानमन्त्रीसहित कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी ओलीबीच बालुवाटारमा वार्ता हुने भनिएको थियो । तर, ओलीले आफू व्यस्त रहेको खबर पठाएपछि नौ बजेको वार्ता बिथोलिएको थियो ।
बैठकपछि पत्रकारसँग कुरा गर्दै एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले स्थानीय तहको संख्या बढाउने र महाभियोग प्रस्ताव फिर्ताका विषयमा सुनुवाई नभएपछि सहमति हुन नसकेको बताए । ‘सत्तारुढ दलहरूले एमालेका कुरा बेवास्ता गरेर निर्णय भएका छन् । स्थानीय तहको संख्या बढाउनु हुँदैन । एमालेलाई हराउने गरेर स्थानीय तहको संख्या बढाइएको छ । महाभियोग प्रस्ताव फिर्ता गर्नुपर्छ’, उनले भने ।
स्रोतका अनुसार संसदमा सम्बोधन गरेर राजीनामा घोषणा गर्न नपाएका प्रधानमन्त्री दाहालले सिंहदरबारबाट राष्ट्रका नाममा सम्बोधन गरेर राजीनामा घोषणाको तयारी गरेका छन् ।
यसैबीच, भोलि बिहीबार चार बजे राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारको नीति तथा कार्यक्रम संसदमा पेश गर्ने जनाइएको छ ।











प्रतिक्रिया