३१ आश्विन २०८३, शनिबार

बदनियतपूर्ण निर्णय गरेको भन्दै गगन थापाविरुद्ध सडक प्रदर्शन (तस्बिरसहित)

39.9k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ८ जेठ । औषधि व्यवसायीहरूले सीमित औषधि व्यवसायी र उद्योगहरूको दवावमा ३४ प्रकारका औषधिहरू मात्रै आयातमा रोक लगाउने स्वास्थ्यमन्त्री गगनकुमार थापाको निर्णयविरुद्ध सडकमा उत्रिएका छन् ।

काठमाडौंको बबरमहलमास्थित औषधि व्यवस्था विभागमा जम्मा भएका औषधि व्यवसायसँग सम्बन्धित आधा दर्जन संघ/संगठनका प्रतिनिधिहरूले सोमबारदेखि सडक प्रदर्शन समेत गरेका हुन् । उनीहरूले स्वास्थ्य मन्त्रालयको बदनियतपूर्ण निर्णय र मनपरितन्त्रको विरोधमा सडकमा उत्रिएका हुन् ।

नेपाल औषधि आयातकर्ता संघका महासचिव पवन आचायले स्वास्थ्य मन्त्रालयले सीमित स्वदेशी औषधि व्यवसायीहरूको स्वार्थमा निर्णय गर्दै ३४ प्रकारका औषधिमा प्रतिबन्ध लगाएर बिरामीहरूको स्वास्थ्यसँग खेलवाड गरेको आरोप लगाउनुभयो ।

‘हामी पनि स्वदेशी उत्पादनको पक्षमा छौ । गुणस्तरीय र सस्तो औषधिका पक्षमा छौँ’ उहाँले भन्नुभयो, ‘तर, सीमित औषधि व्यवसायीहरूको दवावमा परेर औषधि आयात रोक्नु भनेको गलत हो ।’

सडक प्रदर्शनमा उत्रिएका औषधि व्यवसायीहरूले स्वास्थ्य मन्त्रालयले आफ्नो निर्णयलाई नसच्चाए कडा संघर्ष गर्न बाध्य हुने चेतावनी समेत दिएका छन् ।

बबरमहालबाट रामशाहपथस्थित स्वास्थ्य मन्त्रालयसम्म प्रदर्शन गर्दै पुगेका औषधि व्यवसायीहरूले स्वास्थ्य राज्य मन्त्रीलाई ज्ञापनपत्र समेत बुझाएका थिए ।

व्यवसायीहरूले सकिन्छ भने सबै औषधिमा प्रतिवन्ध लगाएर स्वदेशमा सबै औषधि उत्पादन गर्नुपर्ने अन्यथा स्वार्थका लागि सीमित औषधिमा आयात बन्द गर्नुको कुनै औचित्य नरहेको बताएका छन् ।

मन्त्री थापाविरुद्ध सडक प्रदर्शन गर्नेमा नेपाल औषधि आयातकर्ता संघ, नेपाल औषधि तथा बीक्री प्रतिनिधी संघ, नेपाल औषधिगत प्रबन्धक संघ, नेपाल खाद्य, आयुर्वेदिक न्यूट्रस्युटिकल समाज, नेपाल भेटेरिनरी औषधि आयातकर्ता संघ, नेपाल पशु पंछी औषधि व्यवसायी संघ रहेका छन् ।