मुम्बई, ८ जेठ । मुम्बई इंडियन्सले राइजिंग पुणे सुपरजाइंटलाई एक रनले पराजित गर्दै आईपीएलको उपाधि जितेको छ ।
भारतको हैदराबादमा आइतबार राति भएको रोमाञ्चक क्रिकेट खेलमा मुम्बई इंडियन्सले राइजिंङसँग सनसनीपूर्ण जित निकालेको हो ।
मुम्बई इंडियन्सका ब्याट्सम्यानद्वय क्रुणाल पंड्याले जितका लागि ४७ रन, कप्तान रोहित शर्माले २४ रनको योगदान गरेका थिए । मुम्बईले पहिलो १७ ओभरमा ९२ रन बनाएको थियो ।
तर, अन्तिम तीन ओभरमा मुम्बई इंडियन्सले ३७ रन बनायो । जितका लागि त्यही ३७ रन निर्णायक बन्यो । अनि मुम्बई इंडियन्सले आईपीएलको उपाधि चुम्यो ।
पुणेका लागि अंजिक्य रहाणेले ४४ रन बनाए । स्मिथले ५१ रन बनाउन सफल भएका थिए । मुम्बईका लागि जोनसनले तीन र जसप्रीत बुमराहले दुई विकेट लिएका थिए ।
मुम्बईले जितसँगै ट्राफी र १५ करोड रुपियाँ पुरस्कार पाएको छ । दुई वर्ष अगाडि आईपीएलसँग जोडिएको पुणेको टीम उप–विजेता बनेर दस करोड रुपियाँ प्राप्त गरेको छ । – एजेन्सी















प्रतिक्रिया