काठमाडौं, ७ जेठ । नेपाल औषधि आयातकर्ता संघसहित आधा दर्जन औषधि व्यवसायी संघ/संगठनहरूले स्वास्थ्य मन्त्रालयले ३५ प्रकारका औषधिमा मात्रै आयातमा लगाएको प्रतिबन्धको विरोधमा उत्रिएका छन् ।
काठमाडौंमा आइतबार बसेको आधा दर्जन संघ/संगठनहरूको बैठकपछि जारी संयुक्त विज्ञप्ति स्वास्थ्यमन्त्री गगनकुमार थापाका गैरजिम्मेवार अभिव्यक्तिहरूको विरोध गरेका हुन् ।
‘स्वास्थ्य मन्त्रालयले औषधि व्यवस्था विभागका महानिर्देशकको अध्यक्षतामा गठन गरेको कार्यदलले दिएको अवैज्ञानिक सुझाव बमोजिम नेपाली औषधि उद्योगलाई प्रोत्साहन गर्ने निहुँमा औषधिमा एकाधिकार लादेर गुणस्तरीय, सुपथ र सर्वसुलभ ३५ प्रकारका औषधिको आयात बन्द गर्ने गरी गरिएको निर्णय सीमित व्यवसायीहरूको मात्र स्वार्थपूर्तिका लागि गरिएको ठहर गरेको छ’, विज्ञप्तिमा भनिएको छ ।
‘औषधि व्यवसायीसँग सरोकार राख्ने देशभरिका सरोकारवाला व्यवसायीहरूलाई बद्नाम गर्ने गरी औषधिमा २२०० प्रतिशत मुनाफा छ भनी स्वास्थ्यमन्त्री गगनकुमार थापाको गैर जिम्मेवारीपूर्ण, भ्रामक अभिव्यक्ति र कलुसित निर्णयले हामी तमाम औषधि आयातकर्ता, औषधि प्रवर्धक र औषधि व्यवसायीहरूको गम्भीर असहमति रहेको छ’, संयुक्त विज्ञप्तिमा उल्लेख छ ।
उनीहरूले सो निर्णय नसच्चिएसम्म सबै सरोकारवाला संघ/संगठनहरू संयुक्त रुपमा जनचेतना र आन्दोलनको मोर्चामा एकसाथ अगाडि बढ्ने निर्णय गरेको उल्लेख गरेका छन् ।
स्वास्थ्यमन्त्री गगनकुमार थापाले सीमित स्वदेशी औषधि व्यवसायीहरूको स्वार्थका लागि विदेशबाट आयात हुने गुणस्तरीय र सस्तो ३५ प्रकारका औषधिहरू आयातमा प्रतिबन्ध लगाएपछि औषधि आयातकर्ताहरू चरणबद्ध आन्दोलनमा छन् ।
औषधि व्यवसायीहरू आन्दोलनमा उत्रिए पनि स्वास्थ्यमन्त्री गगनकुमार थापा र औषधि व्यवस्था विभागका महानिर्देशकले समस्या समाधानप्रति खासै चासो नदिएको आरोप छ ।
यसैबीच, औषधि व्यवसायीहरू सरकारको अन्यायपूर्ण निर्णयको विरोधमा सोमबार १ बजे स्वास्थ्य मन्त्रालयमा पुगेर ज्ञापन पत्र बुझाउने नेपाल औषधि आयातकर्ता संघका महासचिव पवन आचार्यले जानकारी दिए ।
















प्रतिक्रिया